माओवादीबाट निर्वाचित मेयरको गुण्डागर्दी: प्रश्न सोध्नेलाई तह लगाउने धम्की - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

माओवादीबाट निर्वाचित मेयरको गुण्डागर्दी: प्रश्न सोध्नेलाई तह लगाउने धम्की



काठमाडौं- सर्लाहीको बागमती नगरपालिका यतिबेला चर्चाको शिखरमा छ । यससँगै माओवादी केन्द्रका नेता तथा उक्त पालिकाका मेयर भरत कुमार थापा विवादित बनेका छन् ।

अख्तियार अनुसन्धान आयोग र सार्वजनिक लेखा समितिले उजुरीको आधारमा अहिले नगरपालिका र नगरप्रमुखले गरेको भनिएको अनियमितताका विषयमा छानबिन गरिरहेका छन् । सोहि विषयलाई लिएर मेयर थापा, उनका भाई राम कुमार थापाले गुण्डागर्दी शैलीमा पत्रकार तथा प्रश्न सोध्नेहरूलाई धम्की दिन थालेका छन् ।

समाचार प्रकाशनलगत्तै मेयर थापाले आफ्ना भाई लगायत एउटा टोलीलाई काठमाडौं पठाएर समाचार प्रकाशन गर्ने मिडिया र पत्रकारलाई लगातार फोन गर्दै अराजक शैलीमा धम्क्याउन लगाएका छन् । अनियमितताको आरोपबारे समाचार लेखेकै भरमा गुण्डागर्दी शैलीमा पत्रकारहरूलाई उनीहरूले धम्की दिइरहेका छन्। हिमालपोष्टमा २०७९, २६ श्रावणमा अनियमितताका बारेमा छापिएको समाचारलाई लिएर आफूलाई मेयर थापाका भाई बताउने व्यक्तिले धम्की जे पनि गर्नसक्ने भन्दै धम्क्याए ।

त्यतिमात्रै होइन मेयर थापाको अनियमितताको विषयमा लेख्ने पत्रकारहरूको खोजी खोजी ठेगान लगाउन आफूहरू काठमाडौं आएको भन्दै रामकुमारले अन्य मिडियाहरूको समेत नाम लिएर यिनीहरूलाई पनि ठिक पर्ने हो भन्दै अराजक शैलीमा प्रस्तुत भएका थिए ।

मेयरका भाई रामकुमारले लगातार फोन गरेर समाचार लेख्ने पत्रकारलाई मानसिक तनाव समेत दिएका छन् । उनले अपशब्द बोल्दै धम्क्याएका छन् भने आफ्ना दाजुको विरुद्ध समाचार लेख्ने कसैलाई नछोड्ने भन्दै धम्क्याएका छन् ।

बागमती नगरपालिकामा मेयर थापाले १२१ बिगाहा जमिनमा ताल निर्माण गर्दा त्यहाँको माटो, बालुवा र अन्य निर्माण सामाग्रीमा अनियमितता गरेको बारेमा अख्तियार अनुसन्धान आयोगमा परेको उजुरीको विषयमा हिमालपोस्टमा समाचार प्रकाशन भएको थियो । उक्त समाचारलाई लिएर आफूलाई मेयर थापाको भाई बताउने रामकुमार थापाले धम्क्याएका छन् ।

अख्तियार अनुसन्धान आयोगमा परेको उजुरी र सार्वजनिक लेखा समितिले गरिरहेको अनुसन्धानलाई प्रभावित पार्न मेयर थापा विभिन्न नेताहरूकोमा हारगुहार गरिरहेको मेयर थापा आफैले हामीसँगको कुराकानीमा स्वीकार गरिसकेका छन् ।

‘हाम्राविरुद्ध समाचार किन छापेको ? भन्दै मेयरका भाई बताउने ती व्यक्तिले समाचारको स्रोतबारे नबताए राम्रो नहुने भन्दै गुण्डागर्दी शैलीमा धम्क्याएका थिए । ‘अहिले नै समाचारको स्रोत चाहियो होइन भने जे पनि हुनसक्छ, नत्र समाचार सच्याउनुपर्छ’ उनले भने ।

९८५४०२५५९४ नम्बरको मोबाइलबाट फोन गरेर मेयरको बारेमा अन्य सूचना दिने भन्दै बोलाएका उनले कुराकानीको सुरुवातमै ‘म मेयर भरत थापाको भाई हो, हाम्रोविरुद्धमा समाचार छाप्ने तिमी होइन ?’ भन्दै अराजक शैलीमा प्रस्तुत भएका थिए । समाचारमा कुनै समस्या भए प्रेस काउन्सिल नेपालमा उजुरी गर्न आग्रह गर्दा उनले अपशब्द बोल्दै ‘त्यस्ता मु* प्रेस काउन्सिल मैले जानेको छैन’ भन्दै धम्क्याए ।

आफ्नो नाम रामकुमार थापा बताउने ती व्यक्तिले अन्य तीनजना व्यक्ति समेत राखेर गुण्डागर्दी शैलीमा धम्क्याएका थिए । यसरी धम्कीको भाषा प्रयोग गर्नु राम्रो नभएको भन्दै सम्बन्धित निकायमा जान आग्रह गर्दा उनले आफूलाई कोही माइकालालले केहि गर्न नसक्ने भन्दै टेबल ठटाउँदै थर्काएका थिए ।

उनलाई सम्बन्धित निकायमा जान र चित्त नबुझेको कुरा राख्न बारम्बार आग्रह गर्दा उनले थप धम्क्याउँदै आफूहरू उजुरी गर्ने खालको मान्छे नभएको सिधै एक्सन लिने मान्छे भएको बताए । उनले भने, ‘हामी उजुरी सुजुरी गर्ने मान्छे होइन, सिधै एक्सन लिने मान्छे हो, मैले पहिलै भन्दिएको छु नि फेरि ।’

यस विषयमा प्रतिक्रिया लिन मेयर थापालाई फोन गर्दा उनको फोन उठेन । त्यसअघि मेयर थापासँग भएको फोन सम्पर्कमा हामीले समाचारमा बिमति भए खण्डन लेख्न वा सम्बन्धित निकायमा गएर उजुरी गर्न आग्रह गरिएको थियो ।

मेयरका भाई बताउने थापा स्रोत व्यक्तिको बारेमा नबताए जे पनि गर्न सक्ने भन्दै अराजक शैलीमा प्रस्तुत भएका थिए । जबकी हिमालपोस्टले मेयर थापाको भनाई समेत राखेर समाचार प्रकाशन गरेको थियो ।

यससँग सम्बन्धित सामाग्री र धम्कयाउने क्रममा गरिएको रेकर्ड हिमालपोस्टसँग सुरक्षित छ ।

यता समाचारका बारेमा पत्रकार धम्की आएपछि जीवन सुरक्षाको माग गर्दै पत्रकारको हकहितमा क्रियाशिल विभिन्न संघ संस्थाहरूले जीवन सुरक्षाको माग गरेका छन् । पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघले बेथितिविरुद्ध समाचार लेख्दा जनप्रतिनिधिबाटै धम्की आउनु दुखद भएको जनाएको छ ।

महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ:

हिमालपोष्ट डटकममा प्रकाशित समाचारको विषयलाई लिएर उक्त पत्रिकाका सम्पादक मोति खनाललाई धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

उक्त अनलाइनमा २०७९ साउन २६ गते सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाको बारेमा प्रकाशित समाचारलाई लिएर सम्पादक खनाललाई आफूलाई मेयरका भाइ बताउने रामकुमार थापासहित अन्य तीन जना व्यक्तिले थप सूचना दिने भनी बोलाएर समाचारको स्रोतबारे जानकारी नदिए या समाचार नसच्याए ‘जे पनि गर्नसक्ने’ भन्दै धम्क्याएको महासंघमा जानकारी प्राप्त भएको छ ।

प्रकाशित समाचारप्रति चित्त नबुझे या गुनासो रहे त्यसउपर कानुनी उपचारमा जान सकिने मार्गप्रशस्त हुँदाहुँदै पत्रकारलाई यस किसिमले धम्याउने काम हुनु प्रेस स्वतन्त्रताविरोधी काम हो ।

महासंघ प्रेसविरोधी यो घटनाको कडा शब्दमा भर्त्सना गर्दै घटनामा संलग्न व्यक्तिहरूमाथि तत्काल कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउन र पत्रकारलाई निर्वाध र स्वतन्त्र रूपमा काम गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।

समाचारविरुद्ध कुनै असन्तुष्टि भए कानुनी बाटो हुँदाहुँदै ज्यान लिने समेतको धम्की दिनु प्रेस स्वतन्त्रतामाथिको प्रहार भएको महासंघको ठहर छ ।

त्यस्तै नेपाल प्रेस युनियनले पनि पत्रकारलाई धम्की दिएकोप्रति कडा आपत्ति जनाएको छ । पत्रकारमाथि धम्की दिनेलाई तत्काल कडा कारबाही गर्न सरोकारवाला निकायलाई युनियनको आग्रह गरेको छ ।

लोकतन्त्रमा प्रेस स्वतन्त्रतामाथि प्रहार हुनु दुखद भएको युनियनका महासचिव दिलिप पौडेलले बताए ।