दुई महिनामै उल्टियो दृष्य : भोकको डरले फेरि भारत « Himal Post | Online News Revolution
Logo

दुई महिनामै उल्टियो दृष्य : भोकको डरले फेरि भारत



कैलाली – कैलालीको गोदावरी नगरपालिका- ७ हरैयाका भीम बहादुर वोहरा मद्रासमा एउटा घरमा काम गर्थे। भारतमा कोराना संक्रमण फैलिन थालेपछि त्रासले उनी चैत महिनामा घर फर्के। कमाएर ल्याएको सीमित पैसाले केही दिन उनको चुलो बल्यो।

तर लगातारको लकडाउनले यहाँ कुनै काम पनि नपाइने, भोकभोकै हुदाँ पनि बाँच्ने कुनै उपाय नदेखेपछि उनी मजदुरीको खोजीमा भारततर्फ जान बाध्य भएका छन्। ‘केटाकेटी कसरीे पाल्ने, भोकभोकै छन्। एक छाक खाउ भनेर कसैले दिँदैन।’ उनले पीडा सुनाए, ‘भोकभोकै मर्ने अवस्था भएकाले भारत जानुपर्ने बाध्यता छ।’ पहिलेको ठाउँमा जान नसकिने भएपछि सिमला जान लागेको उनी बताउछन्।

कैलाली लम्की चुहा नगरपालिका-८ कि सुनिता बस्नेत पनि ५ बर्ष र ७ बर्षका दुई छोरासहित भारततर्फ जान नाकामा लाइनमा थिइन्। मुम्मईमा होटलमा मजदुरी गर्ने श्रीमानसँगै उनी बस्थिन। कोरोना संक्रमण फैलिएपछि दुई महिना पहिले श्रीमानसहित उनी नेपाल फर्केकी थिइन्।‘कोरोनाको त्रासले अब नेपालमै केही काम गरेर बस्ने भनेर बालबच्चासहित घर आएका थियौं’उनले भनिन्,‘यहाँ कुनै रोजगार पाइदैन, लकडाउन मात्र छ, परिवार पाल्न नै समस्या भएर भोकभोकै हुनुपर्ने अवस्था आएपछि सबैैजना उतै जानु परेको छ।’

भारतमा मजदुरी गरेर परिवार पाल्नेहरु दुई तीन महिनामै खान पनि नपाएर भोकभोकै हुने अवस्थाले कत्ती अत्तालिएका छन् भन्ने कुरा दुई छोरा र श्रीमतीलाई समेत केही दिन नकुरेर उनका श्रीमान एक साताअघि भारत पुगिसकेकोले पनि झल्काउन्छ।

माईतीमा आफन्तको मृत्यु भएकाले उनी केही दिनअघि मात्र भारतको मुम्मई गएका श्रीमानसँगै जान पाइनन्। ‘काम गर्ने गरेको होटल बन्द भएर केही दिनअघि मात्र खुलेको हो, ढिलो गएमा काम पाइन्छ कि पाइदैन भनेर हामीलाई पछि आउनु भनेर एक साता अघि जानु भएको हो’उनले भनिन्। गाउँका आफन्तसँग उनी गैरहेकी थिइन्।

कैलाली गोदावरी गोदावरी नगरपालिका वडा नं १२ का महेन्द्र राई मुम्मईमा मजदुरी गर्थे। कोरोना संक्रमण फैलिएसँगै उनी घर आए। एकातिर रोजगारी गुम्यो, अर्कोतिर लकडाउनले यहाँ केही गर्न पनि नमिल्ने भएपछि उनलाई पेट पाल्न नै समस्या भयो।‘पहिले रोजागरी गर्ने ठाउँमा बन्द भयो,पेट पाल्न नै समस्या भएर भोकै मर्ने अवस्था भएकोले श्रीमती र म मजदुरी गर्न सिमला जाँदै छुँ’उनले भने।

माथिका केही त प्रतिनिधि मात्र हुन। यहाँ बसेर जिविकोपार्जन गर्ने कुनै आयश्रोत नभएको र आर्थिक अवस्था अत्यन्त कमजोर भएका कारण भारतका बिभिन्न ठाउँमा मजदुरी गर्नेहरु कोरोनाको संक्रमण फैलिएसँगै गत फागुन महिनादेखि घर फर्कन थाले। त्येतीवेला कोरोनाको डरले ज्यान जोगाउन घर फर्केका हजारौ मजदुरहरुलाई यहाँ कुनै पनि आम्दानीको श्रोत नभएको र कुनैबाट राहत समेत उपलब्ध नभएकाले चुल्हो बल्न हुने स्थितिमा पुगेको छ। बालबच्चा र परिवार कसरी पाल्ने भन्ने पिरलोमा उनीहरु छन्। आजको नागरिक दैनिकका लागि धनगढीबाट दिलबहादुर छत्यालले यो समाचार लेखेका हुन् ।