भट्टिवाली साहुनी « Himal Post | Online News Revolution
Logo

भट्टिवाली साहुनी



बिष्णुमणि अधिकारी

बिहानै ६ नबज्दै  चुरोटको तलतलले खासै अलार्म बजाउनै नपर्ने बनाइसकेछ लामै समय भैसकेछ, झन्डै ५:५०/५५ मा ठिक्क निन्द्रा खुल्ने त आदतनै बस्यो,।  त्यसमाथि पनि कोठाबाहिर निक्लेर चोकको चियापसलमा ब्ल्याक टि सँग सूर्य चुरोट तान्ने लतले त्यही चोकको पसलमा सूर्य चुरोट र ब्ल्याक टि खान थालेको ठ्याक्कै याद छैन, त्यही पनि ठिक छ बजे ।

कयौँ पटक म पुग्दा चिया पसलको भाइले “ला छ बजिसकेछ” आज ढिला भयो भन्थ्यो घडी नै नहेरी! तैपनि मेरो एउटै वाक्य निक्लन्थ्यो भाइ एउटा ब्ल्याक टि अनि एउटा चुरोट ।अनि फ्री को पत्रिका नपढ्ने को होस चिया पसलमा । म पनि त्यिनै कोही भन्दा किन फरक भैहाल्थेँ र?
कुनै दिनको चियामा यस्तो मसला पर्दिने रैछकी सायदै स्वाद कमैले भुल्दाहुन त्यो दिनको । त्यस्तै भयो,

खोइ यो मेरो पत्रिका हो दिनुस त मलाइ ढिला भैसक्यो, जवान एक केटीले हातैको पत्रिका समातेर म तिर रिसाहा झैँ हेर्दै गर्दा पत्रिका लिगेर उनी ५०० मिटर अगाडि पुग्दा पनि एकोहोरो भएँ खोइ आज किन यिनको पत्रिका पढेछु, सधैँ त यही समयमा यहीँ टुलमा बसेर मैले पढ्ने पत्रिका यिनको हुन्थेन आज कसरी यिनको भएछ तैपनि रिस भने कत्ती उठ्दै उठेन, बिचरिको अनुहारमा रिस पोख्नको लागि एक रति पनि ठाउँनै देखिन, सायद पहिलो पटक देखेर होला।
कालो चिया है दाइ भनेर भाइको बोली भुँइमा नखस्दै सोधिहाले, को हो त्यो केटी? यहाँको पत्रिका लगेर गइन त?
को हुनु त्यही “भट्टिवालि”! अस्तिबाट त्यस्को पसलको पत्रिका पनि हाम्रै पसलमा छोड्दिन्छ साइकलवालाले, हाम्रो दाइ सँगै भन्न लगाएर लिएकी हो पत्रिका पनि खुब मै हुँ भन्छे ।

भैगो छोड ! खोइ चुरोट लेउ।
कतिबेला चिया सकियो चुरोट सकियो तर त्यि मान्छे दिमागमा सकिदै सकिइनन्के । भट्टिवालि हुन्थी?, फुच्चेले रिसले भनेको होला,?आज ढिला भयो भन्थी,? भट्टिमा बिहान छ बजेनै के को ढिला होला,? झन्डै दर्जन सवाल मनमा उकुसमुकुस भएर आयो एकैपटक खोइ किन कुन्नि किन? सायदै कसैलाई एकैपटकमा यति राम्रो मेरो आखाले देखेकै नभएर होला।
प्रश्नको ठेलिले मनबाट यति ठेल्योकि उनलाई मैले पहिचान नगरी त्यहाँबाट उठ्न मनलेनै दिएन, फीइ सोधेँ भाइ के भन्छ भट्टि पसल पनि बिहानै छ बजे खुल्छ र लाटा?

पहिला त त्यो पसल सुक्नै लाको थ्यो यो नक्कली आएपछि त रक्सी भन्दा बढी चिया बेच्छे दाइ! अहिले पसल नखुल्दै उ त्यो गल्लितिरका ट्यापेहरु चिया खाने लाइन लाइसके होला त्यसैले उफ्रीदै गाकी भन्दै गिलास टिप्दै फेरि भन्यो छम्मा चाहिँ च्वाक छे है दाइ, फेरि भोलिबाट दाइ पनि उतै जानुहोलानी चिया खान् ।

फुटेको गाला चाहुरी पर्ने गरी पहेँलो दात देखाएर मैलाइ जिस्काएझैँ गरेर हास्यो, म निशब्द भए पैसा दिएँ अनि बाटो लागेँ!
कोठा गएँ, खाना बनाएर खाएर अफिस पुग्दा पनि उनलाई जहाँ त्यही देखेझैँ भान हुन छाडेन, दिनभरि अफिसमा पनि सायदै उनी नजरबाट ओझेल परिन।

दिनभरिको नजरको प्यास र कहिलेकाही लगाउने बोत्तलको प्यास आज बेलुकी त्यही भट्टिमा पोख्ने निधो गरेर, अफिसबाट फर्किँदा लजाइ लजाइ प्रवेश भयो भट्टी पसलमा ।भरिभराउ जडियाको भिडमा अर्को मनको जडिया पस्यो भलाद्मी बनेर र भन्यो साहुनी एक क्वाटर भोड्का दिनुस न,।

क्वाटर त छैन दाइ यहाँ त कोदोको पियोर लोकल, छ्याँङ अनि निगार मात्र पाउँछ, क्वाटर खाने भए त चोकतिर जानुपर्छ, उनको आँखा र हात ग्यासको चुलोमाथी के पकाउदै थियो तर मन र कान अनि ध्यान सबै ग्राहकले के माग्छ के भन्छ त्यता मात्रै प्रस्ट देखिन्थ्यो!
हुन्छ कोदोको एक गिलास र भुटन एक प्लेट दिनुस न है,

हस बस्दै गर्नुस! ल्याहिहाल्छु है,।
भट्टिमा बसेर खान सुरु त्यही दिनबाट भएकोले केही लाज भन्ने चिजले यहाँ बस्न हुन्न कसैले देखेभने के भन्लान भन्त्यो अनि उनको अनुहारले यो भन्दा अर्को कुनै ठाउँ छ डब्बल नशा लाग्ने ठाउँ भनेर भनिरको भान हुन्थ्यो ।

मनमा बिहान मेरै हातबाट पत्रिका खोसेको थाहा होला, अहिले यहीँ आएछ भन्ने होली भन्ने अर्को त्रास थियो तर उनको ब्यस्तता देख्दा लाग्थ्यो को आउँछ को जान्छ उसलाई कुनै प्रबाहनै छैन।

अलिकति कोदोको नशा र अलिकति उनको नशा सँगै बाहिर कसैले देख्लाझैँ निहुरिएर रूम लाग्दाको क्षण सायद कमैले याद राख्लान, तर त्यो बिर्सन नसक्ने पलको याद चाहेर पनि भुल्न नसक्नेगरी मानसपटलमा रहँदो रैछ ।

उनी एक दिन ढिलो हुनाले अब एउटा रेगुलर ग्राहक उनको भैसकेको थ्यो लाग्थ्यो खाना त बिहानै खाइयो, बेलुका त डब्बल ट्रीप लगाउने हो! मन मस्तिष्कले बोल्ने यही शब्दलाई पछ्याउँदै दैनिकी बन्यो भट्टी पसल ।हरेक दिन अब मनमा एउटै कुरा त्यही भट्टि पसल त्यही साहुनी अरू कुरा जिन्दगीमा गौंण बन्दा सम्म उनीप्रतिको चाहनाले हरेक साँझ त्यतै तान्थ्यो सायद उनी चुम्बक नै हुन जसरि ।

तैपनि उनीसँग एकैछिन भए पनि दोहोरो गफ गर्ने र उनको नाम मात्र सोध्ने रहर पूरा हुन नसक्दापनी परैबाट मत्ताउथिन उनी, लाग्थ्यो उनीलाई एक छिन हेरेरै मात्र जाँदा पनि एक गिलासको नशा उनको रागमै पाइन्छ ।

तैपनि उनको बोली त परैको कुरा, देशप्रेम, राजा, मन्त्री देखि देशका बारेमा सोच्ने नौजवान सबै यहीँ छन्, न्यायाधीश, प्रहरी आर्मी देखि धन दौलतका कुरा सुन्न पनि अन्त जानै पर्दैन। बाउको सम्पती देखि आमाका गहना मामाका घडी सम्मका मूल्य त्यिनै गिलास सँगै सबैको महानता र बरिस्ठता त्यही देखिन्थ्यो।तर म एक्लो सिर्फ उनलाई हेर्न र बोतलको नशा पिउन अझै कहिलेकाही झगडा परिहाले सरिफ बनेर न्यायधिस बनिदिन सक्ने बनेको थिएँ ।

संयोग मिल्यो एक दिन झरी परेको अनि पसलमा उनी एक्लै बसिरहेको, आज चाहिँ चिनजान हुने नै भयो! तर उन्को नजरमा म एउटा मामोली जड्याहा न हुँ के नै कुरा होला र ? साँच्चै मैले सोचेझैँ उन्ले मलाइ सोच्लिन?
कोही नभएकोले होला उनी पनि मैले सधैँ खाने गिलासको रक्सी बोकेर र नजिकैको पल्लो टेबलमा बस्दै आज त कस्तो सुनसान भयो! त्यति भन्न नपाउदै जवाफ दिहाले म आएँ त ।

अनि साहुनिले भनिन्, तपाईँ आँउदा मलाइ सुरक्षित महसुस हुन्छ । फोनमा पनि सबै सँग कति नम्र भएर बोल्नुहुन्छ तपाईँ ! तपाईँ किन बाहुन भएर पनि बाहुन जस्तो हुनुहुन्न? जात र धर्मको पनि कुरा गर्नुहुन्न, जति खाएपनी मातेको झैँ देख्दिन!
कि मातेर पनि नमातेझैं गर्नुहुन्छ र तपाईँ ?मेरो मन जित्नलाइ?

म खान् आएको हुँ कसैको नजरमा गिर्न होइन, रक्सी त सधैँ खान्छु तर कन्ट्रोलमा हुनैपर्छ झैँ लाग्छ, मलाइ तपाईँ राम्रो मान्छे लाग्नुहुन्छ, अन्यथा नलिनुहोला कुनै दिन तपाइको नजरमा म खराब जड्याहा भएँ भने कहिल्यै फर्किने छैन तपाइकोमा ।
हैन हैन तपाईँलाई मैले धेरै पहिला देखि वाच गरिरहेको छु तपाईँ साँच्चै कति असल हउनुहुन्छ है, मलाइ साँच्चै तपाईँ मन पर्नुहुन्छ। अझै भनौं म तपाईँको एकोहोरो प्रेममा छु, तपाईँले बिहे गर्छु मात्र भन्नुभयो भने भोलिनै फूपू आउने बित्तिकै पसल छोडेर तपाईँ सँग जान तयार छु।
फटाफट नम्बर दिएँ, भोलि पक्का कल गर्नुस है, आज त स्न्याक्सनै केही चाहिएन तपाईँ छेउमा बस्दिनाले, सधैँ यसै गरी खान पाए त हुने नि रक्सी सँग तपाईँ सितन ।

टोक्नुहुन्छ त मेरो मासु? उसले आँखा मा अँखा नै झुधाएर त्यसो भन्दा सायदै मैले यति सुन्दर मआन्छे आज सम्म देखेकै छैन भन्नेमा दुई मत रहेन र भने, तपाईँको मासु हैन यदि मईले मेरो बनाउन सकेँ भने अङ्ग छानिछानी टोक्नेछु, उ लजाएझै झनै सुन्दर र रातो पिरो भैन, त्य्त्तिकैमा एक हुल ग्राहक आए उ आफ्नो काममा अनि म आफ्नो दैनिकी उहीँ गिलासमा उनका अघिका कुरा सँगै
रुमल्लिरहेँ ।

सधैंभन्दा आजको मात अर्कै थियो भट्टिको, तर खास मात थियो, उनैले बोलेको शब्दहरू कानमा गुन्जयमान थिए अनि उन्को हेराइ म रूमको हरेक सामानमा देख्थे, तर तपाईँ मान्नुहुन्छ भने भोलिनै फूपू आउनुभएपछि म तपाईँ सँग जान तयार छु शब्द खोइ कता कता रगतनै तताएर उकुसमुकुस गरी चल्दै थियो, तर पनि मायाको रापले कतिबेला उनैलाइ सपनाको आगमन प्रति निम्तो दिँदै भुसुक्क निदाएछु।
खोइ उठ्ने मन नै थिएन, आज बाट उनी सँग फोनमा पनि कुरा हुन्छ भेट्न र हेर्नैको लागि अब म बेलुका सम्म कुर्नु त पर्दैन नि अर्को खुसीको बिहानीले त्यसो भन्दै थियो! उनको फोनको प्रतीक्षाको यति आबेग थियो कि मानौ आज अफिसमा सबै फोनको रिंग उनकै नाममा बज्नेछ, र हरेको रिङको टोन उनकै सुमधुर बोलीझैँ सुनिएर अफिसनै गुन्जयमान हुनेछ ।

साँच्चै भयो पनि नयाँ नम्बरबाट फोन आआयो!
हेल्लो….
हजुर नमस्ते।
म भट्टिवालि क्या चिन्नुभयो?
लौ किन नचिन्नु नि, बरु तपाईँको नामपो हिजो मैले सोध्नै बिर्सेछु,
सबैले यहाँ भट्टिवालि नै भन्छन्, कसैकसैले चाहिँ भट्टिवाली साहुनी , त्यही नै नाम बनिसक्यो मेरो त! तर मेरो घरमा बोलाउने नाम चाहिँ सिमाना हो थर लिम्बु, तपाईँ त बाहुन केटा म चल्छु त तपाईँको घरमा?

उनको त्यो प्रश्नले केही बेर मौन बनायो र भने लाटी तिम्रो माया चलेको छ मलाइ तिमी भयो भने घर चल्छ मेरो, घरमा तिमी चल्ने र नचल्ने कुरा कहाबाट निक्लियो?हैन बाहुनहरु त जातधर्म भन्छन् नि तर म पनि बाहुन गाउँमै हुर्किएको हुँ सबै थाहा छ मलाइ, ल फूपू पनि आउनुभो बल्ल अब आराम हुनेभो मलाइ, बेलुका आउँदा कोही भएनन पसलमा भनेपनी मलाइ नबोलाउनु है, फूपू कडा हुनुहुन्छ । मार्नुहुन्छ मलाइ, अहिले राखेँ पछि फुर्सद भयो भने मिसकल गर्छु म तपाईँलाई मेरोमा त ब्यालेन्सपनी सकिन लाको छ बाइ !

फोन राखेर उनीसँग बोल्दाको खुसी मनाउन नपाउदै सँगै अफिसमा काम गर्ने सिन्धुपाल्चोक को साथीले भन्यो मेरो श्रीमतीलाई सुत्केरी बेथाले च्यापेर चौतारा हस्पिटल ल्याउदै छन् गाउँ बाट म पनि तत्कालै चौतारा जानुपर्ने भयो, साह्रै आपतमा परेँ हिड्नुस न तपाईँ र म जाँउ उसको डेलिभरी हुने बित्तिकै तुरुन्तै फर्कौंला ।

ल भैहाल्छनी, अफिसमा पनि खासै काम छैन एक दुई दिन बाहिर जाँदा मूड पनि फ्रेस हुने ठिक छ नि, बरु बाइकमा तेल पो कति छ कुन्नि हेर्नुपर्‍यो ।

केही छैन भक्तपुर तिर गएर फुल ट्यांक गरौंला पुगिहाल्छ बरु निक्लिहालुम न यार मैले सर सँग कुरा गरिसकेको छु! ओके तैपनि म एक कल गर्छु अनि निक्लिहाल्ने, हतारमा फोन गरियो अँ जाऊ जाऊ बिचरा हरिकृष्ण समस्यामा रैछ भनेर जनरल म्यानेजरले सहजै छुट्टी दिनुभएपछी सुरुक्कै लागियो सिन्धुपाल्चोक तिर।

भक्तपुर कटिसकेर बाइकमा पेट्रोल हाल्न पम्प छिर्दा, लेखिएको थियो । “कृपया मोबाइलको प्रयोग नगर्नुहोला” त्यति बेला याद आयो मोबाइल त अफिसमै छुटेछ! ला यार मेरो मोबाइल अफिसमै छुटेछ के गर्ने होला?

होस छाड्दिनुस सर, अब यति वर आइसकियो, भोलि या पर्सि त फर्किइहालिन्छ के इमरजेन्सी छ र? कसैले काम परे अफिसमा फोन गर्छन् अनि अफिसबाट यता जानुभको छ मोबाइल यही छुटेछ भन्न लगाइदिउला ।

अब सिमाना सँग कसरी कुरा हुनु आज, उसले फोन गर्ली नराम्रो सोच्ली मनमा अनेक घुम्यो फेरि उता सुत्केरी बेथाले च्यापेकी एक महिलाको सहयोगमा हिडेको मान्छे भोलि त फर्किहालिन्छ नि अनि भनौंला सोचेर मन मुटु अनि दिमागभरी भट्टिवालिलाइ राखेर हुइकिइयो सिन्धुपाल्चोक ।

मन र दिमागमा उनै भट्टिवालि सिमाना लाई राख्दै भोलि पल्ट्नै फर्किने भैयो काठमाडौँ दायाँबायाँ नलागी सिधै अफिस आएँ र मोबाइल निकाले मोबाइलमा उसैको मिसकल थियो ११३ पटक, लोकल फोन बाट मिसकल थियो ४३ पटक र एउटा म्यासेज थियो उनैको नम्बरबाट, म्यासेज नहेरी तुरुन्त कल गरेँ, फोन उपलब्ध हुन सकेन, रिडाएल गरेँ, उपलब्ध हुन सकेन, अनि खोलेँ म्यासेज ।

मलाइ पहिल्यै तपाईँ माथि भरोसा थिएन त्यसैले, धेरै पहिला देखिनै मैले चाहेर पनि भन्न सकेको थिइन र नभनी गाउँ फर्किने सोचेको थिएँ, तर अस्ति तपाईँ एक्लै हुँदा मन थाम्नै सकिन, मनको कुरा भनेर मलाइ कुनै पछुतो छैन तर मैले मेरो वेट घटाँए एक जना जँडियालाइ यति धेरै विश्वास गरेको छु भनेर, सायद भट्टिवालिहरु तपाईँको ओछ्यानमा चल्थे होला मैले घर सम्मै पुग्ने कुरा गर्दा तपाईँ यसरी भाग्नु पर्दैनथ्यो, सरक्क भन्दिनु भएको भए पनि म कुनै गुनासो गर्ने थिइन, तैपनि जे गर्नुभयो तपाईँको आफ्नो लागि सही गर्नुभयो, अब हाम्रो भेट यो जुनीमा कहिल्यै हुने छैन । र यो फोन पनि आजैको दिनबाट चेन्ज गर्दैछु, नागढुंगा पुग्दा सम्म तपाईँको आशा बाँकी थियो अब बस ओरालो लाग्यो र मेरो जिन्दगी पनि! धन्यवाद तपाईँको जीवन सुखमय बनोस शुभकामना ।