तपाईको भुँडी कत्रो छ ?ज्यान जाला ……….. « Himal Post | Online News Revolution
Logo

तपाईको भुँडी कत्रो छ ?ज्यान जाला ………..



कलाकार आरपी भट्टराई शुक्रवार अल्पायुमै दिवंगत भए । उनको निधनको कारण ठूलो भुँडी रहेको धेरैले अनुमान गरे । उनका निकटस्थका अनुसार सुगर, प्रेसर, कालेस्ट्रोल जस्ता रोगबाट पीडित थिए उनी । ठूलो भुँडी भएका उनी यसलाई सन्तुलनमा ल्याउन नसक्दा यी रोगबाट पीडित बनेका हुन् । चिकित्सकका अनुसार ठूलो भुँडी र यी रोगबिच अन्तरसम्बन्ध छ ।

कुनै समय थियो, डम्म परेको भुँडी सम्पन्नता या प्रगतिको प्रतीक हुने गर्थ्यो । तर, अहिले भुँडी सकस र तनावको भारी भएको छ । व्यस्त जीवनशैली, शारीरिक निष्क्रियता, असन्तुलित खानपान आदि कारणले थुप्रै मानिस मोटोपनको शिकार भएका छन् ।

वीर अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीका अनुसार मोटोपनको प्रकारमध्ये पेटको मोटोपनले सबैभन्दा धेरै रोग निम्त्याउने जोखिम हुन्छ । ‘नाइटोलाई आधार बनाएर नाप्दा सामान्यतः पुरुषको पेट ३८ इन्च र महिलाको ३२ इन्च हुनुपर्छ,’ उनी भन्छन्, ‘त्योभन्दा बढी भयो भने भुँडी लागेको ठान्नुपर्छ ।’

भुँडी बढ्नु भनेको बोसो थुप्रिनु भएको उनी बताउँछन् । यसका कारण कोलेस्टेरोल, रक्तचाप, हृदयाघात, मस्तिष्कघात, मधुमेह, पित्तथैलीमा पत्थरी, युरिक एसिडको समस्या र खुट्टाको बाथ हुने डाक्टरहरू बताउँछन् ।

विश्वमै मधुमेहको उच्च जोखिममा दक्षिण एसिया छ । दक्षिण एसियामा महामारीका रूपमा रहेको टाइप २ मधुमेहबाट नेपाली पनि ग्रस्त छन् । ‘यसको कारण पछिल्लो समय नेपालीमा बढिरहेको पेटको मोटोपन हो,’ नर्भिक इन्टरनेसनल हस्पिटलका वरिष्ठ मधुमेह रोग विशेषज्ञ डा प्रदीपकुमार श्रेष्ठ भन्छन् । उनी भन्छन्, ‘यो क्षेत्रमा रहनेले परिश्रम धेरै गर्ने भएकाले प्राकृतिक रूपमै शरीरमा ग्लुकोजको मात्रा बढी छ । तर, अहिले कम परिश्रम गर्ने र खानपान बदलिएका कारण मधुमेह नेपालमा बढिरहेको छ ।’

मधुमेह, रक्तचाप र मुटुरोगको उपचारका लागि अस्पताल धाउनेहरू अहिले पनि पेटको मोटोपन यसको कारण मानिरहेका छैनन् । वीर हस्पिटलमा डा रेग्मीकहाँ उपचारका लागि आउनेहरूलाई उक्त रोगका कारक भुँडी भएको बताउँदा चकित पर्ने गरेको बताउँछन् । ‘पेटमा मासु बढेको होइन, बोसो हो । यसले तपाईंको मुटुदेखि रक्तचापसम्म समस्या ल्याएको छ भनेर स्पष्ट पार्छौं । त्यसपछि मात्रै भुँडी कसरी घटाउने भनेर सोध्छन्,’ उनले भने ।

पछिल्लो तीन दशकमा धेरै नेपाली ‘भुँडे’ भएका छन् । यसको मुख्य कारण जीवनशैली परिवर्तन रहेको डा श्रेष्ठ बताउँछन् । ‘पहिले यो क्षेत्रका बासिन्दाको खानपानमा भातभन्दा बढी तरकारी र फलफूल हुन्थ्यो । त्यसैगरी चिल्लो पदार्थ उच्च भएका खाना पनि नियमित हुन्थेनन्,’ उनले भने । उनका अनुसार शिकारी युगदेखि नै यो क्षेत्रका बासिन्दाको जीवनशैली कडा शारीरिक श्रम हो । त्यसले नै शरीरलाई चाहिने सुगर शरीरले नै उत्पादन गथ्र्यो । धेरैले कृषि कार्य गर्ने भएकाले कडा शारीरिक श्रम गर्नुपथ्र्यो । ‘अहिले जीवनशैलीमा एकाएक परिवर्तन आयो,’ डा श्रेष्ठले भने, ‘भौतिक सुख सुविधाका कारण शारीरिक परिश्रम घट्यो र पश्चिमा देशको खानपान अपनाइयो । जुन प्रकृतिअनुसार ठीक उल्टो भयो । यसले गर्दा धेरैको भुँडी बढ्यो ।’

फिजियोथेरापिस्ट डा प्रतिष्ठा महर्जनका अनुसार फिट रहनका लागि शारीरिक सक्रियता मात्र पर्याप्त हुँदैन । यसका लागि खानपान, शारीरिक अभ्यासलगायत सबै कुराको सन्तुलित संयोजन हुनुपर्छ ।
उपचारका लागि अस्पताल पुग्ने धेरै नेपाली जीवनशैलीमा ल्याएको परिवर्तनका कारण बिरामी रहेको निष्कर्ष डाक्टरहरूको छ । ‘पहिले पेशा कृषि हुन्थ्यो, बिहानै टन्न खाएर काममा जान्थे । त्यसपछि दिउसो थोरै खाने र बेलुका ‘सुत्ने हो भोक लाग्दैन’ भनेर झन् थोरै खाने गर्थे,’ डा रेग्मी भन्छन् । उनका अनुसार त्यो जीवनशैली नजानेर भए पनि स्वास्थ्यमैत्री थियो । ‘बिहान खाएको खाना छातीमा लाग्छ, दिउसो बीचमा र बेलुकाको खाना पेटमा लाग्ने गर्छ,’ उनले भने । ‘हाम्रोमा बेलुका नै भोज हुने, रक्सीसँग स्न्याक्स धेरै खाने गर्नाले पेटको मोटोपन बढेको हो,’ उनी भन्छन् ।

तयारी खानाका कारण अहिले सानो उमेरदेखि नै मोटोपन बढिरहेको छ । परिवर्तित परिस्थितिमा आफूलाई स्वस्थ राख्ने हो भने जीवनशैली र खानपानमा एकदमै परिवर्तन गर्न जरुरी भएको डा श्रेष्ठले बताए ।

डा रेग्मीका अनुसार पछिल्लो समय शहरी क्षेत्रका २० प्रतिशत बालबालिका मोटोपनका शिकार छन् । बढ्दो जंक फुडको प्रयोग यसको कारक हो । यसका साथै रमाइलोको लागि खेलकुद भन्दा कम्प्युटरजस्ता प्रविधिको प्रयोग गर्न थालेकाले पनि यस्तो अवस्था आएको डा। रेग्मीले बताए । ‘उनीहरू आफू मोटोपनबाट गुज्रिरहेको ढिलो जानकारी पाउने भएकाले अभिभावकले नै उनीहरूको जीवनशैलीलाई परिवर्तन गरिदिनुपर्छ,’ उनले भने ।

स्वास्थ्य खबर