भ्रष्टाचारविरुद्ध भूपेन्द्रजंग शाहीको नेतृत्व - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

भ्रष्टाचारविरुद्ध भूपेन्द्रजंग शाहीको नेतृत्व



काठमाडौं। नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले मुलुकमा बढ्दो भ्रष्टाचारविरुद्ध खबरदारी गर्दै बृहत् प्रदर्शन गरेको छ । तरुण दलले आइतबार माइतीघर मण्डलामा ‘तरुण युवाको खबरदारी’ कार्यक्रम आयोजना गरेर मुलुकमा बढ्दो गतिमा रहेको भ्रष्टाचारविरुद्ध खबरदारी गरेको हो । दलका महासचिव भूपेन्द्रजंग शाहीको नेतृत्वमा भएको प्रदर्शन माइतीघरबाट बानेश्वरसम्म नाराबाजीसहित पुगेको थियो । विरोध कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव शाहीले भ्रष्टाचार, बढ्दो महँगी, तस्करी र कालोबजारीविरुद्ध खबरदारी गर्न विरोध प्रदर्शनको आयोजना गरिएको बताए ।

उनले मुलुकमा भ्रष्टाचार व्याप्त हुँदा, चाडबाड नजिकिँदै गर्दा जनता कालोबजारीको मारमा पर्दा र तस्करहरूको हालीमुहाली चल्दासमेत सरकार नदेखेझैं गरेर बसेका कारण आफूहरू खबरदारी गर्न सडकमा आएको बताए ।

महासचिव शाहीले संविधान दिवसको अवसरमा ३ असोजमा राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाको मानमर्दन हुनेगरी अभिव्यक्ति दिएको विषयमा समेत प्रदर्शनमार्फत राष्ट्रपतिलाई पदीय मर्यादा ख्याल गर्न आग्रह गरेको जनाए ।

संविधान दिवसका दिन राष्ट्रपति भण्डारीले कांग्रेस सभापति शेरबहादुुर देउवाले राखेको मन्तव्य आफूले केही पनि नबुझेको र सञ्चारमाध्यममा आएपछि थाहा पाउने भन्दै अभिव्यक्ति दिएकी थिइन् । सो क्रममा उनले कार्यक्रम आयोजकलाई ‘साउन्ड सिस्टम’मा सुधार गर्न सुझाएकी थिइन् । उनको सो अभिव्यक्तिलाई लिएर चौतर्फी विरोध हुँदै आइरहेको छ । खबरदारी कार्यक्रमअन्तर्गत तरुण दलले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म सरकारविरुद्ध चर्का नाराबाजी गर्दै प्रदर्शन गरेको थियो ।