विवाह गर्दै, ६० हजारमा दुलही बेच्दै - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

विवाह गर्दै, ६० हजारमा दुलही बेच्दै



काठमाडौं । हाम्रो नेपाली समाजमा विवाहलाई पवित्र बन्धनको रुपमा लिइन्छ । सँगै जीवने मर्ने कसम खादै लगन गाठो कसिन्छ । तर, यतिवेला यस्तै पवित्र सम्बन्ध चेलिवेटी तस्करीमा प्रयोग हुने गरेको रहस्य खुलेको छ ।

विवाहको बहानामा बाधिँदै नेपाली चेलीहरू चीनियाँ दलालको फन्दामा पर्ने गरेका छन् । यस्तो खबर सुनेर नेपाल प्रहरी समेत चकित परेको छ । यस्ता घटना घटिरहेको खबर पाएको प्रहरीले चनाखी र सक्रियता अपनाएसँगै केही दिन यता विभिन्न स्थानबाट चार जनालाई पक्राउ गरेको छ । विवाहको बहानामा मानव तस्करी हुन लागेको भन्ने सूचना आधारमा मानव बेचबिखन नियन्त्रण ब्युरोबाट खटिएको टोलीले ४ जना पीडित युवतीको उद्धारसमेत गरेको छ ।

योसँगै मानव तस्कारमा संलग्न गिरोका ६ नेपाली र ४ चिनियाँ नागरिक गरी १० जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको हेलम्बु–२ की रिना तामाङ भनिने बिबिरानी तामाङ, नुवाकोटको ककनी गाउँपालिका–४ घर भई टोखा बस्ने रोज तामाङ, लमजुङको बेँसीसहर–३ की पार्वती गुरुङ, सोही ठाउँकी अमृता गुरुङ, बेँसीसहरकै भरत तामाङ, लमजुङकै उषाकुमारी घिमिरे छन् ।

त्यसैगरी पक्राउ परेका चिनियाँ नागरिकमा जेङ छिङ डाङ, झाङ डोङ हुई, क्वानहाङ पिङ, क्वीन लियाङ छन् ।

पक्राउ पर्ने मध्य रिनाले नेपाली दलाल र भाषा अनुवादको भूमिका निभाउँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । यस्तै रोज तामाङ रिना तामाङलाई कागजपत्र बनाउन तथा अन्य काममा सहयोग गर्नेगर्थे । पार्वती गुरुङले गाउँबाट काठमाडौं ल्याइएका युवतीहरुलाई राख्ने तथा एजैन्टसँग भेट गर्ने व्यवस्था मिलाउने, अमृता गाउँबाट युवतीलाई फकाएर काठमाडौंसम्म पुर्‍याउने गर्थीन् ।

भरतले गाउँबाट युवतीहरू फकाएपछि अमृताको जिम्मा लगाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उषा भने चीनियाँ नागरिकसँग युवतीहरूको भेट गराउथिन् ।

चिनियाँ नागरिक जेङ छिङ डाङ र झाङ डोङ चिनियाँ दलाल भएको पाइएको प्रहरीले जनाएको छ । क्वान हाङ र क्वीन लियोङ भने नेपाली युवतीसँग विवाह गर्न भनेर काठमाडौंसम्म आएको पाइएको हो ।

काठमाडौंका नेपाली दलालले १ देखि २ लाख, युवतीहरू राख्ने नेपाली दलालले ८० हजार, युवतीका अभिभावकले ५० देखि ६० हजार र नयाँ फोन वा जिन्सी सामान प्राप्त गरेको अनुसन्धानले देखाएको छ ।

उनीहरू आर्थिक अवस्था कमजोर भएका युवतीहरूलाई लक्षीत गरि ललाईफकाई गर्ने गरेको प्रहरीको मानव बेचबिखनविरुद्धको ब्युरोले जनाएको छ ।

ब्युरोका अनुसार साथबाट १२ वटा मोबाइल, करिब २२ लाख नेपाली रुपैयाँ, चिनियाँ यूआन २ हजार ३ सय र अमेरिकी डलर १ सय ९० बरामद भएको छ ।

प्रहरीका अनुसार यसअघि पहिलो पटक ०७१ सालमा नेपाली युवतीलाई यही शैलीबाट विवाह गरेर चीन र दक्षिण कोरिया पठाउने समूहलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले समातेको थियो ।