विद्यालयको भाडा बक्यौता एक करोड - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

विद्यालयको भाडा बक्यौता एक करोड



सुखड ,कैलाली । घोडाघोडी नगरपालिका- १ सुखडमा रहेको राष्ट्रिय माध्यामीक विद्यालयको भाडा बक्यौता रकम एक करोड भन्दा बढी रहेको पाइएको छ ।

करिव २ बिघा जग्गामा बसोबास गरी ब्यवसाय चलाइरहेका ब्यवसायिहरुले ७ वर्ष अघि देखीको भाडा रकम विद्यालयलाई नतिरेपछि एक करोड भन्दा बढी रकम उठाउन बाकी रहेको पाईएको हो ।

ब्यवसायिहरुले लामो समय देखी जग्गाको भाडा नतिरी बसेको तथा विद्यालयको जग्गामा मनोमानी गर्न थालेको भन्दै विद्यालयले केही साता अघि ब्यवसायिहरुले ओगटेको जग्गाको क्षेत्रफल समेत छुट्याएको थियो ।

विद्यालयको जग्गामा अस्थायी घर टहरा निर्माण गरी २०६९ सालबाट भाडामा बस्दै आएका व्यापारीहरुसंगबाट करिव एक करोड भन्दा बढी रकम उठ्न बाकी देखिएको ब्यवस्थापन समिती अध्यक्ष. गगन अर्यालले जानकारी दिए । भाडा नतिर्नेहरुको सुचि समेत निकालेको जानकारी दिदै अध्यक्ष अर्यालले एक ब्यवसायिले ८ हजार देखी ४ लाख सम्म भाडा रकम तिर्न बाकी देखिएको बताए ।

शुक्रबार विद्यालयले उपलब्ध गराएको सुचि अनुसार १ सय ६८ जना ब्यापारीबाट ९७ लाख ५९ हजार ६ सय २२ रुपैयाँ उठ्न बाकी देखिएको छ भने अझै केही क्षेत्रमा सुचि निकाल्न बाकी रहेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।

रकम नतिरेका ब्यवसायिहरुलाई चाडै पत्रचार गरी १५ दिनको म्याद दिने र तोकिएको समय भित्र भाडा रकम भुक्तानी नगरे कानुनी प्रक्रियामा जाने ब्यवस्थापन समितीका सदस्य होम प्रसाद आचार्यले जानकारी दिए । विद्यालयको अनुमती बिना उक्त जग्गामा कसैले पक्की भवन निर्माण गरे वा गरेको पाईए विद्यालयलाई आवश्यक पर्दा स्वामित्व लिने र क्षतीपुर्ती स्वम ब्यवसायिले बेहोर्नु पर्ने भन्दै विद्यालयले सबैलाई सचेत समेत गराएको व्यवस्थापन समितिले जनाएको छ ।