छलकपट प्रचण्डले गर्छन, चुनाव मैले जित्छु : विक्रम पाण्डे - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

छलकपट प्रचण्डले गर्छन, चुनाव मैले जित्छु : विक्रम पाण्डे



काठमाडौं-

चितवनमा चुनावी माहोल कम रमाईलो छैन, कहिले बिक्रम पाण्डेका दाहिने हातलाई प्रचण्डले पार्टी प्रवेश गराउँछन त कहिले बिक्रम पाण्डेले माओवादीलाई पत्तासाफ गर्ने भाषण गर्छन ।

यसैक्रममा विक्रम पाण्डेले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सहजै पराजित गर्ने दाबी गरेका छन्। प्रचण्डले जस्तो छलकपट आफूमा नभएको र जनताप्रति सधैँ उत्तरदायी भएकाले उनलाई सहजै चुनाव हराउने पाण्डेको दाबी छ।

२० वर्षदेखि आफू निरन्तर चितवनका जनताको सेवामा रहेकाले क्षेत्र नम्बर ३ का मतदाताले आफूलाई पुन: जिताउने पाण्डेले बताए। ‘प्रचण्डले जस्तो जित सुनिश्चित हुने अवसर खोजेर मैले निर्वाचन क्षेत्र छोडिनँ। २० वर्षदेखि निरन्तर चितवनका जनताको सेवामा छु। मलाई जनताले जिताउनुहुनेछ,’ उनले भने।

राप्रपा (प्रजातान्त्रिक) चितवनका अध्यक्ष बद्री तिमल्सिना माओवादी केन्द्रमा प्रवेश गरे पनि आफूलाई कुनै असर नपर्ने उनको भनाइ छ। ‘जनताले मलाई माया गर्नुहुन्छ। मैले गरेको विकास निर्माणका कामबाट उहाँहरु सन्तुष्ट हुनुहुन्छ,’ उनले भने, ‘जनता साथमा भएपछि को कहाँ गए त्यसले मलाई केही फरक पर्दैन।’ तिमल्सिना केही दिनअघि माओवादी केन्द्र प्रवेश गरेका थिए।

चितवनका जनतालाई समृद्धशाली बनाउने र युवाहरुलाई विदेश जानुपर्ने अवस्था आउन नदिन स्वरोजगारको व्यवस्था मिलाउने आफ्नो एजेन्डा रहेको पाण्डेले सुनाए। ‘विकास र समृद्धिको लागि विक्रम पाण्डे भन्ने एजेन्डा मेरो छ, म विगतको झैँ आफ्ना एजेन्डा कार्यन्वयन गर्नेछु,’ उनले भने।

२०७० को संविधानसभा निर्वाचनमा नवलपरासी-१ र चितवन-५ बाट प्रतिस्पर्धा गरेका पाण्डे चितवनबाट निर्वाचित भएका थिए। उनलाई अहिले कांग्रेसको समर्थन छ। पाण्डे प्रतिस्पर्धा गर्ने चितवन-५ मा भरतपुर महानगरपालिकाका ६, ८, ९ तथा १३ देखि २८ सम्मका वडा पर्छन्। त्यस्तै, माडी नगरपालिका पनि यही निर्वाचन क्षेत्रमा पर्छ।

स्थानीय तहमा भरतपुर महानगरपालिकाका १९ वटा वडामध्ये कांग्रेसले १०, एमालेले ६ र माओवादीले प्रमुखसहित ३ वटा वडामा जितेको छ। माडी नगरपालिकामा भने माओवादीकै प्रमुख छन्। स्थानीय तहको नतिजामा कांग्रेसले २७ हजार ३ सय १६, एमालेले २४ हजार ८२ र राप्रपाले ७ हजार ७ सय ९३ मत पाएको थियो।

पाण्डेको क्षेत्रमा लोकतान्त्रिक गठबन्धनको पक्षमा ३५ हजार १ सय ९ मत देखिन्छ। वाम गठबन्धनका पक्षमा ४२ हजार २ सय ९३ मत देखिन्छ।

‘संसदीय निर्वाचन स्थानीय जस्तो होइन। चितवनका मतदाताले टुरिस्ट उम्मेदवारभन्दा विकासप्रेमीलाई चयन गर्छन्,’ उनले दाबी गरे, ‘जनताले प्रचण्डलाई हराउनेछन्।’