११० अर्ब डलर कहाँ खर्च गर्ने ? यस्तो छ विल गेट्सको आइडिया - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

११० अर्ब डलर कहाँ खर्च गर्ने ? यस्तो छ विल गेट्सको आइडिया



एजेन्सी । संसारकै धनी मानिस हुनुको आफ्नै लक्जरी छ तर त्यतिका पैसा कहाँ कसरी खर्च गर्ने भन्ने चुनौति पनि उत्तिकै रहेको माइक्रोसफ्ट कम्पनीका मालिक बिल गेट्स बताउँछन् ।

६४ वर्षीय गेट्सको कूल सम्पति ११०.५ अर्ब डलर रहेको छ जसले उनलाई विश्वकै सर्वाधिक धनी मध्येको एक बनाउँछ ।

यसबीच एउटा स्कुलको १०० औँ वार्षिकोत्सवमा बोल्दै उनले सबैसँग प्रश्न गरे, “त्यति धेरै पैसा कहाँ राख्ने त ?”

यसको जवाफ पनि आफैँले दिँदै उनले भनेका छन् , “म यो पैसा आफैँमाथि खर्च गर्ने प्रयास गर्न सक्छु । जस्तै त्यति धेरै पैसाको कति ह्याम–बर्गर आउँछ, र मैले कति खान सक्छु होला ? (ह्याम–बर्गर गेट्सको सबैभन्दा मनपर्ने खानेकुरा हो ) त्यस्तै मैले राम्रो लुगा पनि खरिद गर्न सक्छु । त्यो पैसाको कतिवटा सुट बनाउन मिल्छ र मैले तीमध्ये मैले कतिवटा लगाउन सक्नेछु ?”

त्यसैगरी गेट्सले सारा सम्पति आफ्ना तीन छोराछोरीलाई दिन सकिने विकल्पको पनि चर्चा गरे । तर छोराछोरीलाई उनीहरुको कुनै योगदानबिना त्यति ठूलो रकम छाडिदिनु उचित नभएको उनले बताए ।

यसमा उनले १९८६ को फर्च्युन म्यागजिनमा अर्का अर्बपति वारेन बफेटको आत्मकथा लेख्ने कारोल लुमिसको लेख उल्लेख गर्दै बालबालिकालाई आवश्यक भन्दा बढी उपहार दिनुको इतिहास अनुत्पादक रहेको बताएका हुन् ।

१९८६ मा बफेट ५६ वर्षका थिए भने उनको कूल सम्पति १.५ अर्ब डलर थियो । यस्तोमा उनले आफ्ना बच्चाहरुलाई, ‘केही काम नै गर्नु नपर्नेगरी एकदमै धेरै सम्पति नभइ, केबल उनीहरुले आफ्नै हिसाबले केही गर्न सक्नेगरी पर्याप्त रकम’ छाडिदिने निर्णय गरेका थिए ।
यस विषयमा गेट्स भन्छन्, “म यिनै विकल्पहरुबारे धेरै सोचिरहेको छु र त्यो धारणा वास्तवमै व्यवहारिक र आकर्षक छ ।”

तर पनि आफूले यी सारा विचारहरुलाई किनारा लगाएर पत्नी मेलिन्डासँग मिली परोपकार संस्था खोल्ने निष्कर्षमा पुगेको बताए ।

उनी भन्छन्, “अरबौँ डलर खर्च गर्ने सम्बन्धी यो भन्दा तार्किक योजना अरु मैले भेटिनँ ।”

यसपछि उनले उक्त संस्था सञ्चालन गरिरहेकाबारे पनि विस्तृतमा कुराकानी गरेका हुन् ।

उनले भनेका छन्, “त्यही संस्थाका कारण हामीमा दैनिक काम गर्ने प्रेरणा जागिरहेको थियो भने यसक्रममा दिनहुँ कठिन समस्याहरुबारे सोच्नुपर्ने भयो । वास्तवमा मेलिन्डा र मलाई त्यही गर्दा आनन्द आउँछ । हामी चुनौतिबाट नै सन्तुष्ट हुन्छौँ । ”

सिएटलस्थित उक्त संस्थालाई गेट्सले सन् २००० मा स्थापित गराएका थिए र हालसम्म ५०.१ अर्ब डलर दान गरिसकेका छन् ।

गरिबी निवारण, स्वास्थ्य सेवामा सुधार, भोकमरी हटाउन लगायतका विभिन्न अभियानसहित उनले विश्वभरका विभिन्न गरिब देशहरुलाई आर्थिक सहयोग गरिसकेका छन् भने अमेरिकामै शिक्षा क्षेत्रमा सुधार ल्याउन पनि योगदान पुर्याएका हुन् ।

तर यसरी आफ्नो अधिकतम सम्पति दानमा दिने निर्णय गर्दैमा आफूले त्यतिका सम्पतिको कुनै मजा नउठाएको भन्नु चाहिँ गलत हुने उनले बताए ।

उनी आफैँले यसको उदाहरण दिँदै आफूले नीजि विमान खरिद गरेको बताएका हुन् जुन वास्तवमै लक्जरीको कुरा हो ।

उनी भन्छन्, “हो आफ्नो लागि पनि खर्च गर्न सकिन्छ । त्यसमा कुनै हानि छैन ।”

तर अर्कोतर्फ नीजि विमान लक्जरीका लागि मात्र नभएर प्रभावकारी र उत्पादक साबित भएको पनि उनी बताउँछन् ।

पैसाले दिलाउने यिनै विशेष अवसरहरले आफूलाई काममा गहन हुन प्रेरित गर्ने गरेको उनले अन्त्यमा बताएका हुन् र अवस्य पनि वातावरणमा यसले बढी कार्बन उत्सर्जन गर्ने स्वीकार गरे ।

गेट्सले वारेन बफेटसँग सार्वजानिक प्रतिज्ञा गरेका छन् जसमा उनले अधिकतम सम्पत्ति दानमा दिने घोषणा गरेका थिए ।