बीमाले मरेको प्रमाण खोजेपछि लास बोकेरै कम्पनीमा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

बीमाले मरेको प्रमाण खोजेपछि लास बोकेरै कम्पनीमा



एजेन्सी- च्याउसरी खुलेका बीमा कम्पनीहरूले ग्राहकबाट प्रिमियम लिइरहने तर बीमा दाबी भुक्तानी गर्नुपर्दाचाहिँ अनेक निहुँ खोज्दछन् । मान्छेले जीवन बीमा गर्नुको प्रमुख उद्देश्य भनेकै अकालमा मृत्यु हुँदा परिवारजनलाई आर्थिक रूपमा केही भरथेग होस् भन्नु नै हो ।

बीमा कम्पनीहरूको यस्तो बदमासी नेपालमा मात्र होइन विश्वभर नै छ । दक्षिण अफ्रिकामा हालै एउटा अनौठो घटना भएको छ । एउटा बीमा कम्पनीले बिमितको मृत्युपछि बीमा दाबी भुक्तानी गर्न प्रमाण खोज्यो र अत्यन्त दुख दियो । तर, आफन्तहरू आजिद भएर मृतकको लास नै बोकेर बीमा कम्पनीको कार्यालयमा पुगेका छन् ।

४६ वर्षका सिफिसो जस्टिस म्हेल्गो नामका पुरुषको गत नोभेम्बर ७ का दिन मृत्यु भएको थियो । उनले ओल्ड म्युचुअल नामक बीमा कम्पनीमा आफ्नो जीवन बीमा गराएका रहेछन् । सिफिसोको मृत्युपछि उनको लासको अन्त्येष्टि गरी परिवारजन जीवन बीमाको दाबी भुक्तानी लिनका लागि बीमा कम्पनीको कार्यालय पुगे । तर बीमा कम्पनीले सिफिसो मरेका भन्ने परिवारको भनाइलाई पत्याएन । उनी मरेको भए के प्रमाण छ ? भनेर मृत्युको सबुत मागियो ।

बीमा कम्पनीको त्यस्तो व्यवहारपश्चात् दुःखी भएका परिवारजन घर फर्किए र अन्त्येष्टि गरेर गाडिएको ठाउँबाट मृतकको लास बाहिर निकाले । अनि त्यही लास लिएर बीमा कम्पनीको कार्यालयमा पुगे ।

यो घटनाको भिडियो सोसल मिडियामा भाइरल बनेपछि बीमा कम्पनीको चर्को आलोचना भयो । अन्ततः बीमा कम्पनीले उक्त घटनाप्रति माफी माग्दै परिवारजनको साथमा आफू रहेको बताएको छ । मृतकका परिवारलाई बीमा दाबी भुक्तानी गरिसकिएको पनि उसले जनाएको छ ।