विनोद चौधरी भन्छन: नेपालका ८० प्रतिशत बैंक तथा वित्तीय संस्था बन्द हुन सक्छन - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

विनोद चौधरी भन्छन: नेपालका ८० प्रतिशत बैंक तथा वित्तीय संस्था बन्द हुन सक्छन



काठमाडौँ– फोर्ब्सको सूचीमा रहेका नेपालका एकमात्र अर्बपति विनोद चौधरीले नेपालका ८० प्रतिशत बैंक तथा वित्तीय संस्था बन्द हुन सक्ने बताएका छन्। चौधरीले सरकारले बैंकहरुलाई छुट दिएको ब्याज बराबरको अनुदान नदिएमा यस्तो अवस्था आउने बताएका हुन् ।

नेपाल परिसंघले सामाजिक संजालमा आयोजना गरेकाे कार्यक्रममा बोल्दै सरकारले वित्तीय संस्थाहरुका लागि अनुदानको व्यवस्था नगरेमा ८० प्रतिशत वित्तीय संस्था बन्द हुने चेतावनी दिएका हुन्।

उनले भने, ‘सरकारले ऋणीहरुका लागि छुटको व्यवस्था गरको छ। ऋण, ब्याज र किस्ता तिर्ने समय पनि थपेको छ। ऋणीहरुसँगै बैंकहरुले पनि ठूलो समस्या भोग्नु पर्ने देखिन्छ। वित्तीय क्षेत्रका ग्राहकहरु आर्थिक संकटमा परेका छन्।’

उनले अहिलेको अवस्थामा बैंकिङ तथा वित्तीय क्षेत्र गम्भीर अवस्थामा पुगिसकेको बताए। ‘बैंकहरुले केही समय अगाडि नाफा देखाएका थिए’ उनले भने ‘तर उक्त नाफा नगद प्रवाहमा आधारित नभएकाले कागजी नाफा देखाउनेहरु नै पहिले समस्यामा पर्न सक्छन्।’

वित्तिय क्षेत्रसँगै कोरोना भाइरसले अन्य क्षेत्र पनि प्रभावित भएको छ। यस्तो अवस्थामा निर्माण क्षेत्र पुरै बन्द छन् । समस्याका आधारमा उनीहरुलाई वर्गिकरण गर्नुपर्ने र राहत दिनुपर्ने उनको भनाइ छ।

यस्तै चौधरीले कृषि क्षेत्रमा सरकारले ध्यान दिनु पर्ने बेला आएको बताए। ‘यो बाली लगाउने बेला हो’ उनले भने ‘बाली लगाउने बेलामा बिउ र मल नपाउने समस्या छ । उत्पादन लागत ३० प्रतिशत बढी छ र बजारीकरणको ठूलो समस्या छ । देशभर उत्पादित तरकारीहरु गार्भेजमा परिणत भएका छन्।

यस्तै कोभिड–१९ का कारण ५ प्रतिशत उद्योगहरुमा धेरै समस्या आएको उनले बताए। ‘उद्योगसँगै अन्य क्षेत्रमा पनि समस्या आएको छ’ उनले भने ‘अति आवश्यक बस्तुका बाहेक अन्य उद्योगहरु सञ्चालनमा छैनन्।’

उनका अनुसार यस परिस्थितिले बेरोजगारी समस्या निकै बढाएको छ। विदेशमा भएका नेपालीहरु स्वदेश फर्कन चाहिरहेका छन् र स्वदेश फर्कन पाउनु उनीहरुको अधिकार पनि भएको चौधरीले बताए।