हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै दिनभर विरोध प्रदर्शन - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै दिनभर विरोध प्रदर्शन



हिमाल पोष्ट / पाल्पा, १३ मङ्सिर । बिनु पुलामीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आज यहाँ विद्यार्थीले दिनभर विरोध प्रदर्शन गरेका छन् ।

जिल्लामा क्रियाशील विभिन्न विद्यार्थी सङ्गठनले हत्यामा संलग्नमाथि कारबाही नभए थप आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

तानसेनस्थित जनता बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत बिनुको शव गत कात्तिक ४ गते हुँगी–२ अस्दीमा फेला परेको थियो । चार वर्षअघि ताहुँ–७ का दीपेन्द्र बस्यालसँग उनको अन्तरजातीय विवाह भएको थियो । बिनुको हत्या गरिएको भन्दै बुबा नरेन्द्र पुलामीले प्रहरीमा जाहेरी दिनुभएको छ ।

यसैबीच, जिल्ला प्रहरी कार्यालयले मृतकका बुबा नरेन्द्रको जाहेरीका आधारमा श्रीमान् दीपेन्द्र, दीपेन्द्रका बुबा र आमालाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडी बढाएको प्रहरी उपरीक्षक हरिराज वाग्लेले बताउनुभयो ।

उहाँका अनुसार दीपेन्द्रलाई आइतबार काठमाडौँको सिनामङ्गलबाट, बुबा लक्ष्मणलाई सिद्धबाबा र आमा पार्वतीलाई तानसेन–८ भगवतीटोलस्थित घरबाटै पक्राउ गरिएको हो । जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी घटनाको अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक वाग्लेले बताउनुभयो ।