बाम गठबन्धन होइन, दाम गठबन्धन हो: विप्लव - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

बाम गठबन्धन होइन, दाम गठबन्धन हो: विप्लव



काठमाडौं–

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले एमाले र माओवादी केन्द्रको एकतालाई दाम गठबन्धनको संज्ञा दिएका छन् । विप्लवले गर्जिंदै भने “यो बाम गठबन्धन होइन दाम गठबन्धन हो” ।

रुसमा भएको अक्टोबर क्रान्तिको शत वार्षिकीको अवसरमा बुधबार राजधानीको खुलामञ्चमा नेकपाले आयोजना गरेको कार्यक्रममा विप्लवले अहिले भएको माओवादी–एमाले गठबन्धनमाथि प्रहार गर्दै पैसा खानेहरुको गठबन्धन भएको आरोप लगाए ।
तीन ठुला पार्टीलाई के भने ? 
नेकपा महासचिव विप्लवले मुख्य तीन राजनीतिक दल कुनै पनि लोकतन्त्रवादी हुन नसक्ने दाबी गरे । उनले नेपाली कांग्रेसलाई विचारविनाको पार्टी भन्दै म्यूजियममा राख्नुपर्ने बेला भएको टिप्पणी गरे । विप्लवले नेकपा एमालेलाई काँतर र मुटु नै नभएको पार्टी भन्ने लान्छना लगाए । एक लठ्ठी लगाएमा एमाले थुचुक्कै बस्ने पार्टी भएको दाबी गरे भने माओवादी केन्द्र ‘नरकट्टो’ को संगीन आरोप लगाए ।

नेता विप्लवले मुलुक भ्रष्टाचारले आक्रान्त भएको भन्दै भन्दै भ्रष्टाचारविरुद्ध कालोमोसो लगाउने अभियानले अभियानले मात्र नपुगेको बताए । उनले भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिए । ‘भ्रष्टाचारीको सम्पत्ति हामीले पार्टीमा ल्याउँदैनौं,’ विप्लवले भने, ‘भ्रष्टाचारीको सम्पति अब राष्ट्रियकरण गर्नुपर्छ ।’ उनले भ्रष्टाचारीलाई कारबाही गर्न मिडियाले पनि सघाउनुपर्नेमा जोड दिए । ‘भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ भन्ने, कारबाही गर्न खोज्दा कानून हातमा लियो भन्ने ?’, उनको पत्रकारमाथि प्रश्न थियो, ‘भ्रष्टाचारीलाई कारबाही गर्नुपर्यो पनि भन्ने कारबाही गर्न खोज्दा कानून हातमा पनि लियो भन्ने, अनि के गर्ने त ?’

बाबुराम र प्रचण्डबाट भ्रमको खेति भयो 
नेकपा महासचिव विप्लवले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र बाबुरामले नेता कार्यकर्ता र जनतालाई भ्रम दिएको कुरा अहिले खुल्दै गएको बताए । ‘बाबुरामले मैले डाक्टर पढेर के भयो, यो काम यो शिक्षा भने, होला साँच्चै भन्ठान्यौं,’ विप्लवले भने, ‘प्रचण्डले मदन भण्डारीको बहुदलीय जनवादलाई प्रतिक्रियावादी भनेर चर्को चर्को रुपमा उफ्रिएका थिए ।’
रुसमा १९१७ मा भएको अवस्था र नेपालको अहिलेको अवस्था उस्तै रहेको विप्लवको भनाई थियो । अक्टोबर क्रान्तिबाट विश्वले पाठ सिक्नुपर्ने र नेपालले त्यो सपना बोक्नुपर्ने भन्दै संघर्षमा उत्रिन उनले सबैलाई अपिल गरे । उनले अब देशको रक्षा गर्न आफूहरुले लाठी उठाउने र आवश्यक परेमा बन्दुक उठाउन तयार रहेको पनि चेतावनी दिए । पूँजीवाद टाउको उठाएको कारण र प्रचण्ड र बाबुरामे धोका दिएकै कारण युवा, महिला सबैमा अहिले निराशा छाएको उनको भनाई थियो ।