मुख्यमन्त्री गुरुङले दिए बिष्णु पौडेललाई काउन्टर अट्र्याक,ब्रह्मा नै आए पनि कालीगण्डकी डाइभर्सन हुँदैन - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

मुख्यमन्त्री गुरुङले दिए बिष्णु पौडेललाई काउन्टर अट्र्याक,ब्रह्मा नै आए पनि कालीगण्डकी डाइभर्सन हुँदैन



पोखरा । कालीगण्डकी डाइभर्सन बनाउन सबैलाई मनाउने स्वघोषणा गरेका नेकपा महासचिव विष्णु पौडेललाई गण्डकी प्रदेशका मुख्यमन्त्रीले कडा जवाफ दिएका छन् । नेकपा प्रदेश इञ्चार्जसमेत रहेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भनेका छन्, उहाँले अर्को विष्णु वा ब्रहृमा, महेश्वर ल्याए पनि सम्भव छैन ।’

सोमबार बुटवलमा आयोजित एक कार्यक्रममा नेकपा महासचिव पौडेलले गण्डकी प्रदेशका मुख्यमन्त्रीका साथै पाल्पा, स्याङ्जा, तनहुँबासीलाई मनाउने जिम्मा आफ्नो भएको बताएका थिए । उनले भनेका थिए, ‘४ नम्बर प्रदेशका मुख्यमन्त्री र तल्लो तटीय क्षेत्रका बासिन्दाले डाइभर्सन हुन दिन्नौंं भनेको सुनेको छु । तर उहाँहरुलाई कसरी कन्भिन्स गर्ने भन्ने जिम्मा मेरो भयो ।’
तर गण्डकीका मुख्यमन्त्री गुरुङले कालीगण्डकी डाइभर्सनको रहर नगर्न पौडेललाई आग्रह गरेका छन् । ‘अर्को विष्णु, ब्रह्मा, महेश्वर ल्याएपनि सम्भव छैन,’ उनले भनेका छन् । उनको प्रश्न छ- कालीगण्डकी डाइभर्सन किन चाहियो ? ५०/६० मेगावाट बिजुली उत्पादन गर्ने यो परियोजना नबन्दा नेपाल अँध्यारो हुन्छ ?

महासचिव पौडेलले धेरै ठाउँमा कालीगण्डकी डाइभर्सनबारे बोलेको सुनेको तर अहिलेसम्म आफूलाई केही नभनेको उनले सुनाए । मुख्यमन्त्री गुरुङले भने, ‘मैले धेरै ठाउँमा उत्तर पनि दिएको छु, यो पृथ्वीसुब्बाको निजी मामिला होइन ।’

संघीय शासन प्रणालीमा साझा नदी, खानी जस्ता प्राकृतिक स्रोतको प्रयोग कसरी गर्छन् भन्ने सबैले बुझ्नुपर्ने उनले बताए । पौडेल अर्थमन्त्री भएको बेला ल्याएको कार्यक्रम भन्दैमा लागू नहुने भन्दै मुख्यमन्त्री गुरुङले अघि भने, ‘त्यस्तो हुने हो भने त ज्ञानेन्द्रको शासन मान्नुपर्‍यो किनकी उनी पनि कुनै दिन शासक थिए ।’

उनले हिजोका कुरा लागू गर्छु भन्ने प्रयास छाड्न पार्टी महासचिव पौडेललाई सुझाव दिए ।अनलाईन खबरको सहयोगमा