राज किशोरसँग छुट्टै 'डिल': जसपामा ओलीको डबल गेम, रुष्ट भए महतो - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

राज किशोरसँग छुट्टै ‘डिल’: जसपामा ओलीको डबल गेम, रुष्ट भए महतो



काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर समुहका नेता राज किशोर यादवले शक्तिशाली मन्त्रालय पाएपछि ठाकुर पक्षभित्र विवाद चर्किएको छ । पहिले उपप्रधान तथा शहरी विकास मन्त्री राजेन्द्र महतोले प्रधानमन्त्री ओलीसंग मागेको मन्त्रालय जसपा नेता यादवलाई दिएपछि राजेन्द्र महतो नै ‘सरप्राइज’ भएका छन् ।

प्रधानमन्त्री ओलीले एक तिरले दुई निसाना लगाएका छन् । यादव सरकारमा सहभागी भएपछि जसपाभित्र विवाद उत्कर्षमा पुगेको छ भने प्रधानमन्त्री ओली र राजेन्द्र महतोबीच पनि सम्बन्ध चिसिएको बताइएको छ । महतोले राजकिशोरलाई मन्त्री बनाएको भन्दै ओलीसंग असन्तुष्टी जनाएको स्रोतको दावी छ ।

अध्यक्ष ठाकुरले यसअघि नै राजकिशोरलाई मन्त्री बनाउन खोज्दा ओली र महतोले बन्न दिएका थिएनन् तर अहिले भने प्रधानमन्त्री ओलीले छुट्टै डिल गरेर शक्तिशाली मन्त्रालय दिएर ल्याएको भन्दै असन्तुष्टी बढेको बताइएको छ । त्यतिबेला अध्यक्ष ठाकुरको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यादवलाई मन्त्री बनाउन खोजेपनि महतोको विरोधका कारण रोकिएको थियो ।

तर पछिल्लो समय प्रधानमन्त्री ओलीले नेता यादवलाई भेटेर छुट्टै डिल गरेको खुलेको छ । मन्त्री नबनाएको भन्दै ठाकुर समूहसँग रुष्ट बनेका यादवलाई आवस्यक परे एमाले प्रवेश गर्ने वातावरण मिलाउने सहमति ओलीले गरेको खुलेको छ । स्रोतका अनुसार पछिल्ला दिनमा यादवको बालुवाटारमा बाक्लो उपस्थिति हुने गरेको थियो ।

लामो कुराकानीपछि राजकिशोरले आफूलार्ई सञ्चार मन्त्रालयको जिम्मेवारी दिन आग्रह गरेपनि प्रधानमन्त्री ओलीले उद्योग मन्त्रालयको जिम्मेवारी दिएका हुन् । यादवले आफूले पहिले पनि सञ्चार मन्त्रालय चलाएकाले अनुभवका हिसाबले उपयुक्त हुने भन्दै उक्त मन्त्रालय मागेको बताइएको छ ।

आफूले रोजेको मन्त्रालय नपाएका महतो राजकिशोरको इन्ट्रीले झनै रुष्ट बनेका छन् । उनले आजको शपथग्रहण कार्यक्रम समेत बहिस्कार गरेका थिए । यसअघि महतोले उद्योग मन्त्रालयमा दाबी गरे पनि प्रधानमन्त्री ओलीले शहरी विकास मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

यसअघि उनी दुई नम्बर प्रदेशमा उपेन्द्र यादव समूहमा जाने चर्चा चलेको थियो । त्यसका लागी उनले उपेन्द्र र बावुराम भट्टराईलगायतका नेतासंग भेटवार्ता गरेका थिए ।