चुनाव सार्ने कल्पना पनि गर्न सकिन्न :देउवा « Himal Post | Online News Revolution
Logo

चुनाव सार्ने कल्पना पनि गर्न सकिन्न :देउवा



काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको मिति सार्ने कुरा कल्पनाबाहिरको भएको बताएका छन् ।

६२ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले मंसिर १० र २१ गतेका लागि तय भएको संघ र प्रदेश निर्वाचन तोकिएको मितिमो हुने भएकोले सुरक्षा तयारीमा जुट्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री देउबाले स्थानीय तहको निर्वाचनमा नेपाल प्रहरीको भूमिकाको उच्च प्रशंसा गर्दै अबका निर्वाचनलाई समेत शान्तिपूर्णरुपमा भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक तयारीका लागि निर्देशन दिए ।

देशभित्र मात्रै होइन संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा खटिएर प्रहरीले अन्तर्राष्ट्रिय क्षेत्रमा शान्ति स्थापनामा समेत महत्वपूर्ण भूमिका खेलेको प्रधानमन्त्री देउवाले उल्लेख गरे।

गृहमन्त्री जनार्दन शर्माले कर्तव्यपालनको क्रममा वीरगति प्राप्त गरेका प्रहरीका परिवार र घाइते प्रहरीका लागि थप कल्याणकारी कार्यक्रम ल्याउने तयारीमा सरकार रहेको तथा त्यसलाई संघीय प्रहरी ऐनमै समावेश गर्न लागिएको जानकारी दिए ।

प्रहरीको कामको मूल्याँकन गर्ने निकाय जनता भएको बताउँदै उनले रचनात्मक, व्यावसायिक र जनताप्रति समर्पित प्रहरी आजको आवश्यकता भएको विचार व्यक्त गरे।

प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राखेर व्यावसायिक प्रहरीका रुपमा विकास गर्न आफूले ८४ बुँदे गृह प्रशासन सुधार मार्गचित्र ल्याएको र सोअनुरुप काम भइरहेको पनि उनले जानकारी दिए । राष्ट्रप्रति सेवाको प्रतिबद्धतासहितको एकता र प्रतिस्पर्धाको विकास प्रहरीमा हुनुपर्नेमा उनको जोड थियो ।

प्रहरी महानिरीक्षक प्रकाश अर्यालले प्रहरीले कानूनी मान्यता पाएको दिनको सम्झनामा मनाइने प्रहरी दिवसले सबै प्रहरीलाई देश र जनताप्रति थप कर्तव्यनिष्ट भएर सेवा प्रदान गर्न झक्झक्याउने बताए ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले यसवर्ष कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका २५ जना प्रहरी कर्मचारीको सम्मानमा उनिहरुका परिवारजनलाई कदरपत्र प्रदान गरेका थिए । प्रधानमन्त्री देउवा, गृहमन्त्री शर्मा, गृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठलगायतले प्रहरी प्रधान कार्यालयमा रहेको ‘अमर प्रहरी स्मारक’मा पुष्पहार अर्पण गरेका थिए ।

कार्यक्रममा पूर्व प्रहरी महानिरीक्षक कुवेरसिंह रानालाई ‘लाइफटाइम अचिभमेन्ट एवार्ड’बाट सम्मानित गरिएको थियो ।