गठबन्धनको विकल्पमा ‘प्लान बी’ पनि तयार गर्दै कांग्रेस - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

गठबन्धनको विकल्पमा ‘प्लान बी’ पनि तयार गर्दै कांग्रेस



काठमाडौं- नेपाली कांग्रेसभित्र गठबन्धनको विकल्प तयार गरेर बस्नुपर्ने प्रस्ताव गरिएको छ। कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा नेताहरूले यस्तो प्रस्ताव गरेका हुन् ।

बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्यहरूले यस्तो प्रस्ताव गरेपछि गठबन्धनमा समस्या देखिएको आंकलन गरिएको छ ।

नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै बैठकमा गठबन्धनको विकल्पमा पनि ध्यान केन्द्रित गर्नुपर्ने कुरा उठेको जानकारी दिए । केन्द्रीय सदस्यहरूले गठबन्धनलाई सकेसम्म अघि बढाउनुपर्ने र भएन भने यसको विकल्पका रूपमा प्लान बीमा पनि प्रवेश गर्नुपर्ने माग राखेको पाण्डेको भनाइ छ ।

‘गठबन्धनलाई निरन्तरता दिनुपर्छ भन्ने कुराहरू गर्नुभएको छ । भ्रातृ संस्था र पार्टीका निकायलाई पूर्णता दिनुपर्ने कुरा छ । गठबन्धन तोड्नुहुँदैन तोडिए प्लान बीमा पनि जानुपर्ने कुरा छ,’ पाण्डेले बैठकमा उठेका विषयबारे जानकारी दिँदै भने ।

सहमहामन्त्री पाण्डेले पार्टीको बारेमा केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नको जवाफ पदाधिकारीहरूले दिने र सबैको जवाफ दिन नसके सभापति शेरबहादुर देउवाले नै जवाफ दिने जानकारी दिए । आगामी दिनमा कांग्रेसले समात्ने बाटोको बारेमा पनि केन्द्रीय सदस्यहरूले कुरा राखेको उनको भनाइ छ ।

‘सरकारसँग सम्बन्धित प्रश्नहरू पनि उठेका छन् । हामी पदाधिकारीले दिनसक्ने जवाफ हामीले दिन्छौँ, सरकारको तर्फबाट दिनुपर्ने जवाफ पार्टीका मन्त्री र प्रधानमन्त्रीले दिनुहुन्छ,’ पाण्डेले भने, ‘लोकतन्त्रमा प्रश्न उठ्छन्, उठाउनुपर्छ । प्रश्नको जवाफ पनि खोज्नुपर्छ । केही समीक्षात्मक प्रश्नहरू उठेका छन् । आगामी दिनमा कुन बाटो जाने भन्ने प्रश्नहरू छन्, त्यसैले यसको उत्तर पार्टीले दिन्छ ।’

सहमहामन्त्री पाण्डेले पार्टी कामकाजी बन्न नसकेकोले सबै पदाधिकारीले जिममेवार भएर आफ्नो दायित्व पूरा गर्नुपर्ने बताए ।