कांग्रेस र माअोवादीमा मन्त्री छान्दा भद्रगोल शैली - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

कांग्रेस र माअोवादीमा मन्त्री छान्दा भद्रगोल शैली



काठमाडौं ,साउन १४ ।

कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठ बुधबार मन्त्री पदको शपथका लागि राष्ट्रपति भवन जान आफ्नो निवासमा हतार-हतार दौरा-सुरुवाल लगाउँदै थिए । त्यहीबेला उनको मोबाइलको घन्टी बज्यो । श्रेष्ठले फोन उठाएका मात्र थिए, उताबाट खबर आयो, ‘यसपटक सकिएन, तपाईंलाई अर्कोपटक ।’

प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिवले फोनमा ‘अर्कोपटक मात्र’ भनेपछि उनी ‘छाँगाबाट खसेझैं’ भए । प्रधानमन्त्री देउवाले बुधबार दिउँसो साढे २ बजे शपथग्रहणका लागि दौरा-सुरुवाल लगाउन पठाएका उनी आफ्नो नाम मन्त्रीको सूचीबाट एकाएक हटेपछि तीनछक परे । त्यति मात्र होइन, उनी चौथोपटक मुलुकको बागडोर सम्हालेका देउवाको ‘भद्रगोल शैली’बाट पनि चकित भए।

देउवाले उनलाई मात्र नभई शपथको तयारी गर्न भनेका अन्य सांसदलाई पनि मन्त्री बन्ने सूचीबाट हटाइएको भन्दै सचिवालयबाट जानकारी गराउन लगाएका थिए । त्यसपछि ‘पञ्चायतकालको यातनाभन्दा चरम दण्ड पाएको’ गुनासो देउवाको कार्यशैलीबाट रुष्ट सांसदले गर्न थालेका छन् । पार्टी सभापति एवं प्रधानमन्त्री देउवाले नै बालुवाटारमा रहेका सांसदलाई दौरा-सुरुवाल लगाउन पठाएका थिए । तर, उनीहरूलाई राष्ट्रपति भवन शीतलनिवास नपुग्दै मन्त्री बनाउन सकिएन भन्दै ‘बेइज्जत’ गर्ने काम भयो । आफूले बचन दिएकाहरूलाई मन्त्री बनाउन नसकेको खबर देउवाले स्वकीय सचिव केशव जोशीमार्फत प्रवाह गरेको पीडित सांसद बताउँछन् ।

श्रेष्ठ मात्र होइन, केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी, भीष्मराज आङ्देम्बेलगायत पनि देउवाको भद्रगोल शैलीबाट पीडित बनेका छन् । ‘मन्त्री भयाैं भन्दै पार्टीका नेता, कार्यकर्ता, परिवारजन र शुभेच्छुकबाट शुभकामनासमेत आदानप्रदान गरिसकेका थियौं’, एक सांसदले भने, ‘यतिसाह्रो पीडित भइएला भन्ने कल्पना पनि थिएन ।’

देउवाले प्रधानमन्त्री पदको शपथ लिएदेखि मन्त्रीको चर्चामा रहेका श्रेष्ठले देउवाबाटै रक्षामन्त्रीका लागि आश्वासन पाएका थिए । ‘पटक-पटक प्रतिनिधिसभा÷संविधानसभा सदस्यका साथै कांग्रेस जिल्ला कार्यसमिति गोरखाको निरन्तर १३ वर्ष सभापति भएका कारण’ प्रधानमन्त्री देउवाबाट रक्षामन्त्री भन्दै शपथका लागि दौरा-सुरुवाल लगाउन पठाएको तर एकाएक सवा ३ बजे छापामार शैलीमा ‘तपाईंको पालो
अर्कोपटक’ भन्दै स्वकीय सचिवमार्फत फोन गराउँदा आफूले ठूलै दण्ड पाएको गुनासो श्रेष्ठले पोख्न थालेका छन् ।

देउवाका स्वकीय सचिवको फोनलगत्तै श्रेष्ठले घरमा उपस्थित आफन्तसँग ‘पञ्चायत जिउँदो हुन्थ्यो भने पनि मलाई यति ठूलो दण्ड दिइँदैनथ्यो होला’ भनी पीडा पोखेको आफन्तले दाबी गरेका छन् । संविधानसभा दोस्रो निर्वाचनपछि कांग्रेस संसदीय दलको प्रमुख सचेतक रहँदै आएका श्रेष्ठ आफ्ना समकक्षी एमालेका अग्नि खरेल, माओवादी केन्द्रका गिरिराजमणि पोखरेल र हितराज पाण्डे पटक-पटक मन्त्री भइसकेकाले यसपटक आफ्नो पनि पालो आउनेमा ढुक्क थिए । एक महिनायता उनको नाम बालुवाटारबाटै कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीका रूपमा चर्चामा ल्याएको थियो।

देउवाका विश्वासपात्र कांग्रेस नेता विमलेन्द्र निधि, बालकृष्ण खाँणलगायतले दसैंपछि सरकार विस्तार हुने भन्दै त्यतिबेला मन्त्री बन्न श्रेष्ठलाई सुझाव दिएका थिए । श्रेष्ठले भने अहिले नपाए कहिल्यै नपाउने भन्दै अडान लिएपछि देउवाले रक्षामन्त्री बनाउने आश्वासन दिएको बालुवाटार स्रोतले जनाएको छ ।

प्रदेश नम्बर २ को स्थानीय निर्वाचनका लागि महेन्द्र यादवले कुनै हालतमा मन्त्री हुनुपर्ने अडान देउवासमक्ष राखेको स्रोतको दाबी छ । ‘महेन्द्र कि चीनकाजी’ भन्ने विवाद चलिरहेका बेला देउवाले चीनकाजीलाई मन्त्री पदको शपथका लागि दौरा-सुरुवाल लगाएर दिउँसो ४ बजे राष्ट्रपति भवन आउन निर्देशन दिएका थिए । प्रधानमन्त्रीको ‘आशीर्वाद’ लिएर आफ्नो निवास पुगेका श्रेष्ठ दौरा-सुरुवालमा चिटिक्क सजिएर शपथका लागि तयार भएका थिए । आफन्तजनले उनले बधाई दिँदै सगुनसमेत खुवाएका थिए ।

कांग्रेसबाट मन्त्रीमा चर्चा पाएका अर्का नेता जोशीको पीडा पनि कम छैन । जोशीको नाम बालुवाटारबाटै मन्त्रीका रूपमा सार्वजनिक गरिएको थियो । मन्त्री हुने भन्दै ढुक्क भएका जोशीको नाम पनि अन्तिम समयमा काटिएको थियो । प्रतिनिधिसभा र संविधानसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित जोशीको नाम सञ्चारमाध्यममा पनि छ्यापछ्याप्ती भएपछि बधाईको ओइरो लागेको थियो ।

तर, अन्तिम समयमा मन्त्री नै बन्ने विश्वासमा रहेका जोशीको सट्टामा निधिले महेन्द्र यादवको नाम लिस्टमा पारेका थिए । ‘जोशीलाई मन्त्री बनाउन देउवापत्नी आरजुका भाइहरू प्रमोद र प्रदीपले पनि दह्रो लबिङ गरेका थिए’, स्रोतले भन्यो, ‘तर, ठकुरी हाँगोले समेत थेग्न सकेन ।’ ‘कोइराला क्याम्प’ बाट पार्टीको १३औं महाधिवेशनमा देउवातिर लागेका जोशीलाई देउवाले त्यतिबेला नै मन्त्री बनाउने आश्वासन दिएको देउवानिकट नेताले बताउन थालेका छन् ।

माअोवादीको चाल पनि उस्तै

कांग्रेसमा मात्र होइन, माओवादी केन्द्रमा पनि मन्त्री बन्न नपाएपछि पीडा सुनाउने नेताको कमी छैन । ‘विडम्बना नै भन्नुपर्छ, यो देशमा नेपाली पोसाक लगाउनेलाई फाल्ने र चप्पल लाउनेलाई शपथ खुवाउने परम्पराको सुरुवात भयो’, माओवादी केन्द्रकी सचेतक सीता नेपालीले भनिन्, ‘यसपटक तपाईं मन्त्री भन्दै पार्टी अध्यक्षलगायत सबैले बधाई दिनुभयो तर अन्तिममा सकिएन भन्दै नाम काटियो ।’ एक महिनासम्म उनलाई महिला, बालबालिका तथा समाजकल्याणमन्त्रीका रूपमा उचाल्ने काम मात्र भएको उनीनिकट नेता बताउँछन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अघिल्लो सरकारमै पनि मन्त्री बन्ने भन्दै चर्चामा रहेकी नेपाली यसपटक भने ढुक्क थिइन् । ‘मन्त्री भन्दै पार्टीले मलाई प्रचारमा ल्यायो’, उनले भनिन्, ‘बुधबार बिहान मात्रै पनि महिला सांसद समितिको बैठकमा अधिकांशले बधाई तथा शुभकामना दिनुभयो । म पनि होला त भन्दै ढुक्कै थिएँ तर अन्तिम समयमा पार्टी अध्यक्षको भनाइ भन्दै सचिवालय सदस्य हितराज पाण्डेले तपार्इंलाई मन्त्री बनाउन सकिएन भन्दै फोन गर्नुभयो ।’

प्रचण्डले देउवालाई मन्त्रीको सूची बुझाउने बेलासम्म पनि उनी आफू मन्त्री बन्नेमा ढुक्क थिइन् । ‘सञ्चारमाध्यम, पार्टी अध्यक्षसहित जिम्मेवार कमरेडहरूले तपाईं मन्त्री पक्का भनेपछि त्यसका लागि तयारी नगर्ने त कुरै भएन’, उनले भनिन्, ‘मैले पार्टीसमक्ष प्रश्न गरिसकेकी छु- दलित भएका कारण मैले मन्त्री नपाएको हो ? माओवादीको समावेशी र समानुपातिक सिद्धान्त यही हो ? ’,अन्नपूर्ण पोस्टमा खबर छ ।