११ जेठमा मृत्यु भएका व्यक्तिको बल्ल आयो रिपोर्ट: कोरोनाबाट मृत्यु हुने ६ पुगे - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

११ जेठमा मृत्यु भएका व्यक्तिको बल्ल आयो रिपोर्ट: कोरोनाबाट मृत्यु हुने ६ पुगे



काठमाडौं- कपिलवस्तुको कृष्णनगर सीमा नजिकै ११ जेठमा मृत्यु भएका अर्घाखाँचीका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ।

रुपन्देहीस्थित प्रदेश जनस्वास्थ्य कार्यालयमा गरिएको परीक्षणमा ती युवकमा कोरोना संक्रमण पुष्टि भएको हो।

प्रदेश ५ सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. उमाशंकर चौधरीले मृत्यु भएका ३५ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।

“सीमा क्षेत्रमै मृत्यु भइसकेको थियो। कृष्णनगर नाकामै थ्रोट स्वाबको नमूना संकलन गरिएको थियो”, उनले भने, “परीक्षणका क्रममा मृतक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ।”

महाशाखा प्रमुख डा. चौधरीले कन्ट्याक्ट ट्रेसिङ गरेर उनीसँगै आएका व्यक्तिहरूको नमूना परीक्षण गरिने जानकारी दिए।

भारतबाट नेपाल आउने क्रममा कृष्णपुर नाकामा मृत्यु भएपछि शव अर्चाखाँची नै लगिएको थियो। अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-९ का स्थायी वासिन्दा ती युवकको मृत्यु भएपछि सोही दिन सन्धिखर्क लगेर दाहसंस्कार गरिएको थियो।

यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसको औपचारिक पुष्टि गरिसकेको छैन ।