डा.पाण्डेका २० टिप्स: जसले हटाउनेछ कोरोना सङ्क्रमणको चिन्ता « Himal Post | Online News Revolution
Logo

डा.पाण्डेका २० टिप्स: जसले हटाउनेछ कोरोना सङ्क्रमणको चिन्ता



डा. रवीन्द्र पाण्डे (जनस्वास्थ्य विज्ञ एवं साइकोलोजिस्ट)

आजको शक्तिशाली विश्व आँखाले देख्न नसकिने कोरोना भाइरसको कारण त्रसित छ। हरेक वर्ग, समुदाय र देशका व्यक्तिले आफुलाई असुरक्षित ठानिरहेका छन्। यस्तो लाग्दैछ, कोरोना संक्रमणले भन्दा कोरोना चिन्ताले मान्छेहरु पीडित भइरहेका छन्।

समयमै कोरोना चिन्ताको ख्याल नगर्ने हो भने ठूलो संख्यामा मनोरोगी बढ्ने खतरा छ। आत्मबल, आत्मविश्वास, सकारात्मक तथा आशावादी सोच एवं पूर्वतयारीले कोरोना चिन्तालाई पराजित गर्न सकिन्छ।

यसका लागि निम्‍न लिखित केही बुँदाहरूलाई अनुसरण गर्न सकिन्छ:

-आफूलाई सक्रिय राख्ने, पहिलेभन्दा धेरै काम गर्ने, संकट टार्नका लागि आर्थिक क्षमता बढाउने।

-प्रात भ्रमण, व्यायाम, योग, ध्यान, चिन्तन तथा आफ्नो आस्थाअनुसारका धार्मिक र सांस्कृतिक अनुष्ठान गर्ने।

-अत्यन्त विश्वासिला सञ्चारमाध्यम, चिकित्सक, जनस्वास्थ्यकर्मी तथा स्वास्थ्यकर्मीका आधिकारिक कुराको मात्र विश्वास गर्ने। मिडियाका अपत्यारिला ब्रेकिङ न्युज, अवैज्ञानिक टिप्सको विश्वास नगर्ने ।

-सामाजिक सञ्जाल प्रयोग जति सकिन्छ, घटाउने।

-सहयोगी, आशावादी तथा सकारात्मक व्यक्तिहरूसँग समय बिताउने।

-बालबालिका तथा जेष्ठ नागरिकलाई भरोसा, विश्वास तथा परामर्श दिने।

-नियमित औषधि सेवन गर्ने व्यक्तिको मनोबल बढाउनका लागि ३/४ महिनाको औषधि किनेर स्टक राख्ने।

-कारणवश कोरोना प्रकोप फैलिएमा वा नाकाबन्दी भएर आपूर्ति समस्या भएमा भोग्नुपर्ने प्रतिकूल अवस्थाको योजना बनाउने, जस्तैः चामल, दाल, ग्यास, तेल, नुन, पानीजस्ता अत्यावश्यक सामग्री २/३ महिनाका लागि सुगम बनाउने।

-सरकार, सरकार मातहतका अंग, स्वास्थ्यकर्मी, अस्पताल, निजीक्षेत्र, आफन्त तथा छिमेकीहरू एवं अन्तर्राष्ट्रिय समुदायको विश्वास गर्ने।

-संक्रमित भएमा कहाँ बस्ने, कहाँ उपचार गर्नेलगायत विषयको पूर्वयोजना बनाउने।

-आफूलाई अप्ठ्यारो परेमा सहयोग गर्नसक्ने व्यक्ति तथा समुदायसँग सम्बन्ध थप बलियो बनाउने।

-पोषिलो खाना खाने, पर्याप्त सुत्ने, सफा रहने, जोक गर्ने, रमाइला कार्यक्रम हेर्ने, समाजले हौसला दिने खालका काम आदि गरेर शारीरिक तथा मानसिक रूपमा तन्दुरुस्त रहने।

-मनमा कोरोनासम्बन्धी कुरा खेलिरहेमा आत्मविश्वास बढाउने खालका प्रवचन सुन्ने (जस्तैः ओशो, रविशंकर, धार्मिक गुरुहरू, मोटिभेसन स्पिकर आदि)। अन्य सिर्जनशील काम गर्ने।

-सहरमा कोरोना संक्रमण तीव्र भएमा गाउँ जाने विकल्प तयार गर्ने।

-वैदेशिक भ्रमण स्थगित गर्ने, आन्तरिक भ्रमणमा निस्किने बानीले तरोताजा बनाउँछ। मिल्ने समुहसँग हाइकिङ जाँदा तनावरहित हुन सकिन्छ।

-चिन्ता तथा तनावलाई लेख्ने, दैनिक डायरी लेख्ने बानी बसाल्ने।

-आफ्ना प्रियजनलाई प्रेमिल पत्र, मेल, म्यासेज लेख्ने।

-आफ्नो व्यवसायमा घाटा भएमा यसलाई अल्पकालीन ठानेर अनुकूल दिनको लागि तयारी गर्ने, नयाँ व्यवसाय, सेयरमा लगानीजस्ता काम केही समयलाई स्थगित गर्ने।

-धेरै तनाव र चिन्ता भएमा मनोरोग विशेषज्ञ, मनोपरामर्शदातासँग सम्पर्क गर्ने, आवश्यक परे थेरापी तथा उपचार सुरु गर्ने।

-अरुको जे ताल आफ्नो पनि त्यही ताल भन्ने सोचेर चिन्तालाई न्युनीकरण गर्ने। जन्म, वृद्धि, क्षय र मरणको प्रक्रियालाई आत्मसात गर्ने ।

(डा. पाण्डे जनस्वास्थ्य विज्ञ एवं साइकोलोजिस्ट हुन्)