डार्लिङ ! - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

डार्लिङ !



दीपक घिमिरे
आजभोलि म खड्केनीको डार्लिङ भएको छु । त्यो पनि फोनमा । गएको हप्तासम्म च्याटमै सीमित हाम्रो लभ फोनमा आइपुगेको छ । हाम्रो मायापिरती फोनसम्म आइपुग्दा अनेक दुःख–कष्ट व्यहोरेको पक्कै छ । कहिले उनका घरमा शंका अनि कहिले मेरा घरमा शंका तर पनि शंकाको घेरा तोड्दै हाम्रो पिरतीले पहिलो वर्षगाँठ मनाउनै लाग्दा फोन नम्बर पाए अनि सुने, खडकेनीको सुरिलो स्वर ।
फोनको इतिहास त्यति थाहा छैन । दश कक्षा पास गरेर सहरमा पढ्ने भएपछि पहिलो पटक फोनको रिसिभर कानसम्म पुगेको इतिहास छ, मेरा लागि । थुर..थुर काप्दै बालाई हेल्लो भनेको दिन नै मेरो जीवनको पहिलो फोन अनुभव हो । मोबाइल त परार साल बल्ल हात परेको । त्यो पनि नोकिया –१२०० मोडेल । एफएम रेडियो भएको त्यो मोबाइल मेरा लागि अनौठो र मूल्यवान जिनिस थियो ।

कसले फोन गरोस् र मेरो मोबाइलमा टुन टुन रिङ बजोस् । अहँ कसैले फोन गर्थेनन्, बरु दिनभर सर्पवाला गेम खेलेरै मोबाइलको मजा लिन्थे । सुस्त–सुस्त खाडीका लाउरेले स्क्रिन टचवाला मोबाइल गिफ्टमा दिन थालेपछि फेसबुक बन्यो अनि फेसबुकमै भेटिइन खड्केनी ।
खड्केनीसँगको मेरो लभ स्टोरी मोबाइल नभएको भए शुरुवात नै हुन्थेन होला । दुनियाले एउटा कुरा हजारौं बार भनेको मैले सुनेको छु ।’ मोबाइलले गर्दा मान्छे बिग्रे !’

‘इस ! बिग्रेका छन् मान्छे’ तिनलाई ल्वाप्पा ख्वाउँदै यस्तै भन्न मन छ । गाउँभरिमा एउटा ल्याण्डलाइन फोन थियो, जिम्दार बाको घरमा । कसैले फोन गरेर बोलाइदिनुस् भनेको दुई घण्टापछि भेट हुने । न कसैको लभ पर्ला, न कसैले मायापिरती साट्न पाउला । जिम्दार बा छेउमै बसेर सबै सुन्थे । त्यस्तो अप्ठ्यारो अवस्थामा खड्केनीलाई कसरी पट्याउँथे होला र म । मोबाइल थियो र पो फेसबुक चल्यो, फेसबुक चल्यो र पो खड्केनी भेटिई । भेटिइ र पो आज उसको डार्लिङ हुन पाएको छु ।

सुरिलो स्वरकी धनी खड्केनीको हाँसो कति मीठो बाबै । हेल्लो भनेर हाँस्ने उसको बानी मलाई निक्कै राम्रो लाग्यो । च्याटमा डिप लभ परिसकेको थियो, गहिरो माया पिरती । फोनमा हल्का लजाएँ । तर आवाजले निक्कै प्रभावित । ‘किस यु मोटी, म्म्म्वा !’ यस्तै भनेर एक किस दिन मन थियो । तर सकिन । म हाँसिरहे, ऊ पनि उस्तै हाँसी । म्याम, सरबाट शुरु भएको हाम्रो मित्रता डियर र डार्लिङमा आएर अडिएको छ । प्रेम गर्ने जोडीका लागि यो भन्दा नजिक लाग्ने सम्बोधन छैनन् होला, सायद ।

दैनिक घण्टौ गफिन मन लाग्छ फोनमै, तर न उसलाई फुर्सद न मलाई फुर्सद । मात्र मनमा माया संगालेर बसेको छु ।
माथिको मेरो वास्तविकता पढेपछि हजुरहरु अचम्म पर्नु भएको होला ।’ हैन यसकी स्वास्नीले यी कथा पढ्दैने ? स्वास्नी सोझी हो कि लाटी ?’ यस्तै कुरा मनमा खेल्दै होला ।
अस्ति मैले दिएको बयान पढेर तीन जना तरुनीहरु मसँग रिसाए । एउटीले ‘को हो खड्केनी ?’ भनेर निक्कै रिस पोख्दै थिई । कथा हो केटी !’ भनेर उसलाई फकाएँ ।
अर्की छे एउटी ‘दुनियासँग रहेछ नि अफेयर त !’ भनेर नाक खुम्च्याउँदै थिई । झनक्क रिस उठ्यो अनि भन्दिए’ तिमीसँग त छैन नि अफेयर । किन डराको ?’
यी र यस्तै प्रतिक्रिया आउँछन् मेरा कथा पढेर । अस्ति खड्केनीसँगको च्याट पढेर जिब्रो टोक्नेहरु मेरो र खड्केनीको मायापिरतीमा आएको प्रगति देखेर कति ठहरै पर्ने हुन् । मैले फोनमा गफ गर्छु भनेर लेखिसकेपछि मेरो मोबाईल मागेर खड्केनीको नम्बर सर्च गर्नेको कमी आउँदैन ।
यी कुराबाट केही बुझ्नु भयो ? ठेला न टुप्पाका कुराबाट के बुझ्नु है ! यस्तै भनेर रिसाउँदै हुनुहुन्छ होला । तर यत्ति बुझ्नुस् कि यहाँ हरेकलाई गर्लफ्रेन चाहिएको छ । घरमा स्वास्नी भएकालाई पनि चाहिएको छ, नभएकालाई त झन नचाहिने कुरै भएन ।
‘मलाई पनि खड्केनी जस्तै गोप्य अनि इज्जतिली केटी मिलाइ दे न यार, टाइम पासको लागि !’ यस्तै भनेर दिनरात धाउने दूधवाले खेमराज घिमिरेको पोल नखोली भाको छैन । उसलाई अप्ठ्यारो पर्ला भनेर धेरै पटक सहें । तर जहिले आउँछ, नाम र नम्बर दे, म आफै पट्याउँछु भनेर जान्छ । म के दलाल हुँ र ?
अस्तिकै पात्र मिनराज भाटले पनि’ कहाँ भेटिन्छन् यार राजा खड्केनीहरु’ भनेर कुरा फुत्काउन खोज्दैथे । यसको मतलव पनि उही हो । भेटाइन्छ कि भन्ने ।

अपरिचित केटीलाई फेसबुकको च्याटबाट पट्याएर डार्लिङ भन्नेसम्म बनाउनु चानचुने कुरा होइन । केटाहरु त के सोच्छन् भने आज साथी बनायो, भोलिदेखि अफेयर । त्यति सजिलो छैन ।

लभ गर्न अनि गोप्य सम्बन्ध बनाउन चाहनेहरु वास्तविकता लुकाउन खोज्छन् । अस्तिको अर्को पात्र तारा भाइ मसँग निक्कै रिसायो । ‘तिम्ले त्यो कुरा लेखेर मेरो झण्डै डिभोर्स भएन यार !’ भेट्ने बित्तिकै यस्तै भन्यो । म गलल्ल हाँसे अनि भने ‘कथा हो भन्न सकेनस् ? दुनियामा म मात्र छु र तारा भाइ भन्न सकिनस् ?’
सामाजिक सञ्जालमा यस्तासम्म मान्छे छन् जो दशौं जनासँग सम्बन्ध बनाउन चाहन्छन् । तर आफू निक्कै सोझो बन्दै मलाई भन्छन्’ के हो यार, लास्टै मोज गरेको छस् ।’

घरवाली घरमै छे, बाहारवाली खड्केनी आफ्नै घरमा । बल्ल–बल्ल उसको मुखबाट डार्लिङ शब्द फुत्काउन पाएको छु, तर साथीहरु सोच्छन्’ यसले सारा भ्यायो !’
चौबीस घण्टा मोबाइलमा झुण्डिने अनि दुःख अनि पीडा र वेदनाका कथा छाडेर रोमान्सका कथा लेख्न थालेपछि मान्छेहरु मलाई धेरैको दिवाना सोच्न थालेका छन् ।’ कति चौबीसै घण्टा मोबाइलमा हो के तपाई ?’
अरुले जस्तै प्रश्न गर्न थालेकी छे जीवन संगिनीले पनि । उसलाई पनि शंका लाग्न थालेको छ ।
दुनियालाई ठग्न सजिलो छ तर घरवालीलाई ठग्न निक्कै गाह्रो । बाहिर भएको बेला फोनमै मस्ती गर्ने म घरभित्र छिरेपछि च्याटमा मस्ती गर्छु । त्यो पनि आजभोलि शंकाको घेराभित्र परिसकेको छ । सुख–दुःखका गफबाट शुरू भएको च्याट चुम्मा–चुम्मीमा पुगेको छ । सरबाट डार्लिङमा पुगेको छु ।

‘साच्ची ! खड्केनीको फेसबुकमा नाम के छ ? भन न यार प्लिज ?’ मभन्दा दस वर्ष जेठा गोविन्द बाजेले पनि खड्केनीप्रती चासो देखाए । उमेरले दाइ भए पनि हामी उनलाई बाजे भन्छांै । पैला–पैला पुरेत बाजे भन्थ्यांै, आजभोलि गोविन्द बाजे । उनका पनि छन् चार–पाँच वटी छम्मा ।

अस्ति मलाई एउटीको फोटो देखाउँदै भन्थे’ यसलाई साथी बना, लास्टै च्वाँक छे अनि सजिलै पट्याउँछस् ।’
छोरी उमेरका केटीलाई च्याटबाटै पट्याएका गोविन्द बाजेलाई जिस्काउँदै भने ‘बाजेको अन्वार देखी भने भाग्छे ! भो पाप नगर बुढा अब बूढो भयौ !’च्यालेञ्ज गर्दै भने’ भर्खर जवानी चढेको छ । कसले भन्छ मलाई बूढो ?’ उनलाई पनि डार्लिङ भन्ने आइमाई अनि केटीको कमी छैन, तर पनि नयाँ केटी साथी बनाउने अभियानमा निक्कै खटेका छन् गोबिन्द बाजे । यो भन्दा धेरै नबोलौं बाजेको बारेमा, फेरि बुढाको डिभोर्स होला । यो पढे भने बुढा झगडा गर्न आउनेछन् पक्कै ।
यति धेरै अरुका कुरा मैले किन काटे ? समाज मैले लेख्ने सामाजिक कथालाई लिएर मलाई औंला ठड्याउँछ । तर हरेक यहाँ त्यस्तै छन् भन्ने विर्सन्छ । मेरै घरको कुरा गरांै ।

खड्केनीले मलाई डार्लिङ र मैले उसलाई डियर भन्ने सम्बन्ध बनिसक्दा पनि मेरी बुढीलाई सुइकोसम्म छैन । विचरीलाई के थाहा, हिजो बेलुका भन्दै थिई’ पल्लो घरे ठुल्दाइको फेसबुकमा लभ परेर उधुम । भाउजुले था पाइचिन । ठुलै झगडा छ जोई–पोईको’
यस्तै फेसबुके कहानी दुई–चार जनाको सुनाइसकी । घर बिग्रेकाको कहानी र घर बसेकाको कहानी त कति छन् कति, तर उसलाई मप्रति पूरै विश्वास छ । त्यही विश्वासमा टेकेर मैले खड्केनीलाई आफ्नो बनाएको छु ।

प्रविधिको विकासलाई बिनाससँग जोडेर जिब्रो टोक्ने समुदाय पनि छन्, समाजमा । हिजो केटी पट्याउन रोधीघर या पानी–पँधेरा धाउनेहरु आज मोबाइल आएर छोरी–चेली बिग्रे भन्दै कराउँछन् । बिग्रने मान्छे गोठालो गाको बेला पनि बिग्रन्छ ।हातमा मोबाइल नहुने जमानामै जिम्दार बाले चार वटी जोइ खेरेका मेरै घर अगाडि छन् । लाउर पसेको किस्नेलाई छाडेर सुटुक्क वीरेसँग पोइ ल हिडेकी सुन्तलीको जमानामा मोबाइल त के हुलाकको पहुँचसम्म थिएन । बेकारमा प्रविधिलाई दोष । सम्बन्ध इज्जतिलो हुनु पर्छ, खड्केनी र मेरो जस्तो । घरवाली बाहेक दुई–चार वटा बाहारवाली नराख्ने एक जना छैनन् । ठोकुवा गरेरै भन्छु, सबैका छन् छम्माहरु ।

मोबाइलको विकासले फेसबुक अनि फेसबुकको करामतले घरबार जोड्नेदेखि मिडियामा सर्वसाधारणको पहुँच भएको छ । मैले डियर भेटाएको छु, मेरो डियरले म जस्तो डार्लिङ । यही नै प्रविधिको विकासको फाइदा हो ।

https://himalpost.com/deepakstoru/