कोरोना रोकथामका लागि हालसम्म १० अर्ब खर्च भएको सरकारको दाबी - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

कोरोना रोकथामका लागि हालसम्म १० अर्ब खर्च भएको सरकारको दाबी



काठमाडौं- कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि सरकारले झन्डै १० अर्ब खर्च भएको जनाएको छ । लकडाउनको समयमा सरकारले राहतका लागि कुनै सहयोग नगरको नागरिक तथा व्यवसायीहरूबाट गुनासो आइरहेका बेला सरकारले भने कोरोना रोकथाम र नियन्त्रणका लागि हालसम्म १० अर्ब रुपैंयाँ खर्च भइसकेको जनाएको हो ।

कोरोना भाइरस नियन्त्रण, उपचार, क्वारेन्टिन निर्माण र राहत वितरणमा सरकारले ९ अर्ब ८७ करोड रुपैयाँ खर्च भइसकेको जानकारी सरकारले दिएको छ । कोरोना महामारी नियन्त्रण कोष, सरकारबाट विनियोजित रकम र प्रदेश तथा स्थानीय सरकारले गरी ९ अर्ब ८७ करोड रुपैयाँ खर्च भइसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले जानकारी दिएका छन् ।

अझै स्थानीय तहबाट भएको खर्चको विवरण आइनसकेको उनले बताएका छन् । कोरोना कोष र संघीय सरकारबाट ६ अर्ब ३ करोड, प्रदेशहरुबाट एक अर्ब ८ करोड र स्थानीय तहहरुबाट २ अर्ब ७६ करोड रुपैयाँ खर्च भएको उनले जानकारी दिएका छन् । अझै स्थानीय तहहरुले गरेको खर्चको पूर्ण विवरण नआएको उनले बताए ।

बुधबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समिति बैठकमा खर्चको विवरण सार्वजनिक गरिएको हो । समिति बैठकमा लक डाउनलाई सहज बनाउँदै कसरी लैजान सकिन्छ भन्ने विषयमा पनि छलफल भएको छ ।