दसैँ किन आउँछ ? « Himal Post | Online News Revolution
Logo

दसैँ किन आउँछ ?



ईश्वर अर्याल 

आमाले फोनै पिच्छे सोध्नुहुन्छ, “बाबु दसैँमा घर आउने भनेको हैनस र ?” त्यति बेला म चुप रहन्छु, बोल्न वाक्य फुट्दैन । बुबाले त्यतिकै मात्रामा दसैँको कुरा नदोहोर्‍याएपनी वहाँको मनको कुरा स्पष्ट बुझ्छु । न आत्तिइ, यताको चिन्ता नगर, भन्ने शब्दहरुमा ‘जतिसक्दो छिटो आइज’ भन्ने भाव लुकेको हुन्छ ।

छोराको बर्थडे आउँछ, ड्याडी खोज्छ । ‘ड्याडी अहिले नआएर के भो त, दसैँमा धेरै खेलौनाहरु बोकेर आउनुहुन्छ’ भनेर श्रीमतीले थुमथुम्याएर राख्छिन । छोरीले दसैँ गनेर बस्छे, ‘ड्याडी, चार वटा दसैँ हजुर बिना गैसक्यो, यो पाली त आउनै पर्छ, नत्र म फोनमा बोल्दिन ।’ ‘नाइँ छोरी, अब अर्को दसैँमा म पक्का आउँछु, तिमी, म, भाइ, ममी भएर हातमा सेलरोटी झुन्ड्याउँदै टीका थाप्ने है !’ बदलामा छोरीको भारी टाउको हल्लिन्छ । यो सबै देखेर लाग्छ एक पटक बेस्सरी रोइदिउँ, चिच्याउँ । पीडाहरु एकसेएक गरेर बाहिर निकाल्दिउँ ।

खासमा म चाहिँ दसैँमा भन्दा अन्य समयमा छुट्टी जान रुचाउँछु । दसैँमा सबै परिवारका सदस्यहरूलाई चाडको रौनकले फुर्सद दिँदैन । आनन्दसंग दिमाग फ्री बनाएर कुरा गर्न पाइँदैन । भेटघाट धेरैसंग हुने भए पनि सबैको व्यस्त समय तालिका हुन्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा त दसैँमा परिवारका सदस्यहरूले गर्ने आशा धेरै हुन्छ । विदेश बसेर गरिएको सानो कमाइले सबैको आशा र आकाङ्क्षालाई एकैपल्ट पूरा गर्न नसक्ने भएकाले घरको दसैँ लटर पटर जाओस भन्ने लाग्छ ।

भाइले फोन भनेर सँधैको कचकच, टाढा टाढाका नातेदारहरुले पनि ‘टन्न कमाको छस, के ल्याईदिन्छस ?’ भनेर सोधेको सोध्यै । छोराछोरीले साइकल, आइप्याड भन्दा साना कुरा गर्दै गर्दैनन । यो र उ ल्याईदे भनेर प्रत्यक्ष नभन्ने त बा आमा मात्र हुन् तर उनैको चिन्ता लाग्छ । महिनै पिच्छे केही पैसा घर पठाईदिए घर खर्च राम्रोसँग चल्थ्यो भन्ने आशा त कसको आमाबुबाको हुन्न र ?

यो सबै कुराहरू दसैँको बेलामा मात्र किन आउँछ ? प्रश्न अनुत्तरित छ । दसैँ हाम्रो सभ्यताको मानक बनिसकेको छ । दसैँ आउन छोड्यो भने मानौं युगको अन्त्य होला जस्तो, कुनै वर्षमा कात्तिकको अन्तिमतिर दसैँ पर्‍यो भने अहिले दसैँ ढिलो आयो भनेर हामी आफैँ भन्छौं । दसैँ आएर पनि पिरलो, नआएर पनि पिर ।

हर्ष, उल्लास, र रमाइलोलाई तीलान्जली दिएर भए पनि परदेशमा दसैँ मानिन्छ । रातीको काम गर्नेले बिहान एकछाक आफ्नै हातले बनाएको मासु र पिउने भए एक दुई पेग लगाएर घरपरिवारको मायालाई सिरानी बनाएर सुत्छ । दिउँसो काम गर्नेले बेलुका फर्केर एकाध घण्टा घर कुरा गर्दै दसैँ मनाउँछ । छुट्टी पाउनेहरु एकाध घण्टा जमघट गर्छन् र शुभकामना आदानप्रदान गर्छन् ।

दसैँ हिन्दुहरूको मात्र रहेन । सम्पूर्ण नेपालीहरूको समयको मानक बन्यो । पैसा कहिले दिन्छस भनेर सोध्दा दसैँमा दिन्छु भन्दियो । यता घुम्न कहिले आउँछस भन्दा दसैँतिर आउँला भन्दियो । मेरो एक जना मुस्लिम साथी छ, उ दसैँमा म भएको ठाउँमा नआए पनि म उसको इदको कुर्वानी खान हमेसा पुगेको हुन्छु । त्यसको कारण छ, इदमा खाडीमा राष्ट्रिय बिदा हुन्छ, म फुर्सदमा हुन्छु र जान्छु । दसैँमा एकदिनको छुट्टी पाउन पनि गाह्रो हुन्छ । बदलामा उसले दसैँको शुभकामना दिन्छ, मैले त्यसैलाई मेरो मनको अन्तस्करणबाट स्विकार्छु । दसैँको पार्टी अर्को कुनै दिन दिने मेरो कुराले उ दङ्ग पर्छ ।

भावनात्मक रूपमा बग्ने हो भने त परदेशमा रहनेहरुको लागि दसैँ भन्ने चाड एउटा अभिसाप नै हो । तर त्यसरी लिएर मान्छेले आफ्नो मानसिकतालाई किन कमजोर पार्ने भन्ने अर्को प्रश्न पनि छ । जो जहाँ जसरी छ, उसले आफ्नो चाड त्यसै गरेर मनाउनु पर्दछ । जति समय छ त्यति समयमा मनाउन सक्नुपर्दछ । दसैँको बेलामा पीडाका कथाहरू धेरै सुनिन्छन हुन त बजारमा बिक्ने पीडा नै हो । कसैको सस्तो बिक्छ कसैको महँगो बिक्छ ।

मेरो बिचारमा दसैँ पीडा आदानप्रदान गर्ने चाड होइन, खुसी आदानप्रदान गर्ने चाड हो । हरेक कुरामा दुईथरी गुण लुकेको हुन्छ । हामीले सानो भन्दा सानो चिजमा खुसी खोज्ने हो । दसैँ पनि खुसीको परिवर्तित रूप नै हो । यो त सधैँ आउँछ, तर हामीले यसबाट कति खुसी बटुल्न सक्छौँ भन्ने महत्त्वपूर्ण कुरा हो ।
twitter – @ishuaryal