दिल्लीको लय कायमै - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

दिल्लीको लय कायमै



एजेन्सी- दिल्ली क्यापिटल्स बुधबार राजस्थान रोयल्सलाई १३ रनले पराजित गरी पुनः इन्डियन प्रिमियर लिग (आईपीएल) को शीर्षस्थानमा उक्लेको छ ।

टस जितेको दिल्लीले दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा १६१/७ को स्कोरमात्र बनाउन सक्यो । जवाफमा आएको राजस्थानलाई १४८/८ मा रोक्दै दिल्लीले पुनः जितको लय समातेको हो । दिल्लीले आठौं खेलमा छैटौं विजय पाएको हो । मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेंग्लोर समान १० तथा कोलकाता नाइट राइडर्स ८ अंकसहित शीर्ष चार स्थानमा छन् ।

राजस्थानलाई अन्तिम दुई ओभरमा विजयनिम्ति २५ रन चाहिन्थ्यो । सर्वाधिक विकेटकर्ताको सूचीमा अगाडि रहेका दक्षिण अफ्रिकी बलर कागिसो राबाडाले १९औं ओभरमा ३ रनमात्र दिई जोफ्रा आर्चर (१) को विकेट लिए । प्रतियोगितामा पहिलो खेल खेलिरहेका तुसार देशपाण्डेले अन्तिम ओभरमा ८ रनमात्र दिई श्रेयस गोपाललाई ६ रनमा आउट गरे ।

राजस्थानले ३ ओभरमा ३७ रन जोडेर राम्रो सुरुआत गरेको फाइदा उठाउन सकेन । जोस बटलरले ३ चौका र १ छक्का प्रहार गरी ९ बलमा २२ रन बनाए । उनलाई बोल्ड गरेका म्यान अफ द म्याच एनरिच नोर्टजेले रोबिन उथप्पाको स्टम्प पनि उडाइदिए । उथप्पाले २७ बलमा ३ चौका र १ छक्कासहित ३२ रन बनाए । ओपनर बेन स्टोक्सले ३५ बलमा ६ चौकासहित ४२ र सन्जु सामसनले १८ बलमा २ चौकासहित २५ रन जोडे ।

राजस्थानलाई तीनमध्ये दुई खेलमा विजय दिलाएका राहुल टेवाटिया १८ बलमा १४ रन बनाई अविजित रहे । नोर्टजेले ४ ओभरमा ३३ रन खर्चेका थिए । तुसारले ४ ओभरमा ३७ रन खर्चे । रविचन्द्रन अश्विन र अक्षर पटेलले १–१ विकेट लिए ।

यसअघि आर्चरले इनिङ्सको पहिलो बलमै पृथ्वी शलाई बोल्ड गरेका थिए । शिखर धवनले ३३ बलमा ५७ र कप्तान श्रेयस ऐरले ४३ बलमा ५३ रन बनाउँदै दिल्लीको स्थिति सुदृढ बनाए । धवनले ६ चौका र २ छक्का तथा ऐरले ३ चौका र २ छक्का प्रहार गरे । मार्कस स्टोइनिस १८ र एलेक्स केरी १४ रनमा आउट भए । आर्चरले ४ ओभरमा १९ रन खर्चेर ३ र जयदेव उनडकटले ३ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए ।