अधुरै रह्यो दिल्लीको सपना - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

अधुरै रह्यो दिल्लीको सपना



एजेन्सी –दिल्ली क्यापिटल्सको आइपिएल जित्ने सपना अधुरै रहेको छ । मंगलबार राती सम्पन्न फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले पाँचौ पटक आइपिएल उपाधि जितेको हो । मुम्बईले यसअघि सन् २०१३, २०१५, २०१७ र २०१९ मा उपाधि जितेको थियो ।

दिल्लीले प्रस्तुत गरेको १ सय ५७ रनको विजयी लक्ष्य मुम्बईले १९ औं ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्दै आइपिएलको पाँचौ उपाधि जित्न सफल भएको हो । पाँचै उपाधि मुम्बईले रोहित शर्माको कप्तानीमा जितेको हो । मुम्बई उपाधि रक्षा गर्ने चेन्नईपछि पहिलो टोली बन्यो ।

मुम्बईलाई सहज जित दिलाउन कप्तान रोहित शर्मा ५१ बलमा ५ चौका र ४ छक्का सहित ६८ रनको योगदान दिए । उनी १७ औं ओभरमा नोर्कियाको बलमा ललित यादवको उत्कृष्ट क्याचसँगै पेभेलियन फर्केका थिए । युवा ब्याट्सम्यान ईशान किशन १९ बलमा ३ चौका र १ छक्का सहित ३३ रनमा अविजित रहे । हार्दिक पान्ड्या ५ बलमा ३ रन जोड्दै जितका लागि १ रन बाँकी रहँदा क्याच आउट भए ।

मुम्बईलाई ओपनर रोहित र क्विन्टन डी ककले ४.१ ओभरमा ४५ रन जोड्दै राम्रो सुरुवात दिलाए । स्टोइनिसले आफ्नो पहिलो बलमै डी ककलाई ऋषभ पन्तबाट २० रनमा क्याच आउट गराउँदै पहिलो सफलता दिलाए । डी ककले १२ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

दोस्रो विकेटका लागि रोहित र सूर्यकुमार यादवले ४५ रनको साझेदारी गरेका थिए । ११ औं ओभरको पाँचौ बलमा कप्तान रोहितले तालमेल गर्न नक्दा सूर्य १९ रनमा रन आउट हुन पुगे । सूर्यले २० बलमा १ चौका र १ छक्का प्रहार गरे । काइरान पोलार्ड ४ बलमा २ चौकासहित ९ रन जोड्दै कागीसो रबाडाको बलमा बोल्ड भए । दिल्लीका एन्रीच नोर्कियाले २ तथा मार्कस स्टोइनिस र कागीसो राबाडा १-१ विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो । कप्तान श्रेयस ऐरले ५० बलमा ६ चौका र २ छक्का सहित ६५ रनमा अविजित रहेपनि उपाधिको लागि पर्याप्त रहेन।

विकेटकिपर ऋषभ पन्त ३८ बलमा ४ चौका र २ छक्का सहित ५६ रनको महत्वपूर्ण योगदान दिएका थिए । एक समय ३.३ ओभरमा २२(३ को अवस्थामा रहेको दिल्लीलाई चौथो विकेटका लागि पन्त र ऐरले ६९ बलमा ९६ रनको साझेदारी गरेका थिए ।

दिल्लीको सुरुवात भने खराब रह्यो । पहिलो बलमै ओपनर मार्कस स्टोइनिसलाई गुमाएको थियो । तीव्र गतिका बलर ट्रेन्ट बोल्टको बलमा स्टोइनिस इनसाइड एज लाग्दै विकेटकिपर क्विन्टन डी ककबाट समातिन पुगेपछि गोल्डेन डग आउट पेभिलिएन फर्किनु परेको थियो । बोल्टलेनै मुम्बईलाई दोस्रो सफलता दिलाए । तेस्रो ओभरको चौथो बलमा अजिक्या रहाने लेग साइडमा सट खेल्नेक्रममा एज लाग्दै २ रनमा डी ककबाट समातिन पुगेका थिए । जुन समय दिल्लीले १६ रन बनाएको थियो ।

चौथो ओभरको तेस्रो बलमा स्पिनर जयन्त यादवले अर्का ओनपर शिखर धवनलाई १५ रनमा बोल्ड आउट गरे । धवनले १३ बलमा ३ चौका प्रहार गरे । धवन आउट हुँदा दिल्ली २२–३ को कमजोर अवस्थामा पुगेको थियो । तर चौथो विकेटका लागि पन्त र ऐरले उत्कृष्ट साझेदारी गर्दै इनिङ अघि बढाएका थिए ।

१५ औं ओभरको अन्तिम बलमा नाथन कुल्टर नाइलले पन्तलाई हार्दिक पान्ड्याबाट क्याच गराउँदै उक्त साझेदारी तोडेका थिए । बोल्टको १८ औं ओभरको दोस्रो बलमा हेटमायर नाथन कुल्टर नाइलबाट ५ रनमा क्याच आउट हुन पुगे । अक्षर पटेल ९ रनमा क्याच आउट भए ।

मुम्बईका ट्रेन्ट बोल्टले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । जयन्त यादवले ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । जस्प्रित बुमराहले ४ ओभरमा २८ रन खर्चिदा विकेट भने लिन सकेनन् । नाथन कुल्टर नाइलले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए ।