देशभर १ सय बढी गोली चल्यो, एकको मृत्यु - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

देशभर १ सय बढी गोली चल्यो, एकको मृत्यु



छिटपुट घटनाबाहेक देशभर प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव शान्तिपूर्ण रूपमा सकिएको छ । प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईका अनुसार ७७ जिल्लामध्ये ३१ जिल्लाका मतदानस्थलमा झडप भएको थियो ।

झडप भएका मध्ये ११ जिल्लामा ठूलो झडप भएको प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले जानकारी दिए । जसमध्ये केही ठाउँको मदान नै स्थगित भएको छ ।

मतदान सञ्चालन गर्न प्रहरीले देशभर १ सयभन्दा बढी हवाई फायर भएको डीआईजी राईको भनाइ छ ।

बिहान ७ बजेदेखि सुरु भएको मतदान ५ बजेसम्म तोकिएको थियो । देशभर १० हजार ८ सय ९२ मतदानस्थल र २२ हजार २ सय २७ मतदान केन्द्र रहेका थिए । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार अझै केही जिल्लाको घटनाबारे अपडेट हुन बाँकी रहेको छ ।

प्रहरीका अनुसार बाजुराको केही स्थनामा ठूलो झडप भएको छ । जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ स्थित मतदान केन्द्रमा सुरक्षाकर्मीले चलाएको गोलीले एक जनाको मृत्यु भएको हो ।

सोही ठाउँका सुरेन्द्र ऐडीको गोली लागेर मृत्यु भएको त्यहाँका वडाध्यक्ष जुद्धबहादुर ऐडीले पुष्टि गरे । उनले भने, ‘सुरेन्द्र बितिसक्यो, अरु स्थानीयहरू घाइते छन् ।’

यस्तै, उनका अनुसार गोली चलेपछि केही स्थानीय घाइते भएका छन् । घाइतेको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर बाजुरा गएको छ । मतदान सकिने बेला विवाद भएपछि प्रहरीले गोली चलाएको थियो ।