के देउवा गभर्नर अधिकारीको पक्षमा छन् ? - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

के देउवा गभर्नर अधिकारीको पक्षमा छन् ?



काठमाडौं- सत्ता गठबन्धनका शीर्ष नेताहरुको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामाका विषयमा पनि छलफल हुँदा प्रधानमन्त्री शेरबहादुर देउवाले यसबारे अनविज्ञता देखाएका छन्।

बैठकमा सहभागी कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतका अनुसार माओवादी केन्द्रका तर्फबाट नेता नारायणकाजी श्रेष्ठले गभर्नरलाई राजीनामा दिन लगाउनुपर्ने सुझाव प्रधानमन्त्री देउवालाई दिएका थिए तर देउवाले भने यो विषय गम्भीर नभएको संकेत गरेका थिए।

बैठकमा श्रेष्ठले भनेका थिए, ‘गभर्नर अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको कुरा आइरहेको छ। उहाँलाई सरकारले राजीनामा गराउनुपर्छ।’ माओवादी केन्द्रले विषय उठान गरेपछि प्रधानमन्त्री देउवाले विषयको गाम्भीर्यताका विषयमा कुरा गरेका थिए।

श्रेष्ठले विषय उठान गरेपछि प्रधानमन्त्री देउवाले प्रतिप्रश्न गरेका थिए, ‘विषय गम्भीर नै हो?’ प्रधानमन्त्री देउवाको प्रतिप्रश्नपछि भने यसमा थप छलफल नभएको प्रवक्ता महतले बताएका छन्।

एमालेको अर्थ तथा योजना विभागको सदस्यका रुपमा ‘एम अधिकारी– खोटाङ’को नाम उल्लेख छ। एम अधिकारी नै महाप्रसाद अधिकारी रहेको बताउँदै उनको आलोचना भइरहेको छ।

पार्टीको सदस्य गभर्नर हुन नपाउने भन्दै संसददेखि सडकसम्म अहिले राजीनामाको माग गरिएको छ।