डा. शेखरको 'यु टर्न'- देउवाले राजीनामा पनि दिनु पर्दैन, कारबाही पनि हुन्न - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

डा. शेखरको ‘यु टर्न’- देउवाले राजीनामा पनि दिनु पर्दैन, कारबाही पनि हुन्न



विराटनगर- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले राजीनामा दिनु नपर्ने बताएका छन् । गठबन्धन जोगाउन नसकेकै कारण पार्टी सभापतिको राजीनामा माग्न नहुने शेखरले बताए ।

विराटनगर विमानस्थलमा बुधबार अपराह्न पत्रकारसँग कुरा गर्दै नेता कोइरालाले पार्टीभित्र आवश्यक छलफल गर्ने र पदाधिकारीको सहयोग लिन सकेको भए गठबन्धन जोगाउने सम्भावना रहेकोबारे बताए । उनले गठबन्धन जोगाउन नसकेका कारण आफू पनि दुखि भएको समेत बताए ।

‘कारबाही गर्ने कुरा कसले भनेको छ ? केमा कसरी कारबाही गर्ने ? मलाई पनि मुखमा आएको सत्ता गयो भन्ने चिन्ता छ, तर कारबाही भन्ने कुरा हुँदैन’ कोइरालाले भने । पछिल्लो राजनीतिक घटनाक्रम र त्यसले पार्टीभित्र उत्पन्न गरेको असन्तुष्टि सम्बोधन गर्न तत्कालै नीति अधिवेशन गर्नु उपयुक्त हुने उनले बताए ।

पार्टीभित्र कतिपय नेताहरूले विशेष अधिवेशन बोलाउन माग गरिरहेको बेला नेता कोइरालाले भने आफ्नै समूहका नेताहरूको अभिव्यक्तिविरुद्ध नीति अधिवेशन बोलाउनुपर्ने बताएका छन्, “विशेष अधिवेशन झन्झटिलो हुने भएकाले विधि अधिवेशन बोलाउनु उपयुक्त हुन्छ ।”

नेता कोइरालाले नीति अधिवेशन हुन जरुरी रहेको बताए । उनले भने, ‘विशेष अधिवेशनबारे कांग्रेसको विधानमा आफ्नै प्रक्रिया छ । त्यो प्रक्रिया पार गर्न गाह्रो छ । बोलेर हुने कुरा होइन, नीति अधिवेशनमा हामी जोड दिन्छौँ ।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको मर्म बुझ्न नसक्दा एमालेको सहयोगमा प्रधानमन्त्री बन्नु कमजोरी भएको समेत उनले बताए ।

पार्टीको नेतृत्वले पनि सही निर्णय लिन नसक्दा कमजोरी भएको उनको भनाइ छ । ‘प्रधानमन्त्री या राष्ट्रपति के चाहिन्छ भन्ने कुरामा सभापतिलगायत वार्तामा हुनेहरूले फाइनल गर्नुपर्थ्यो, उहाँहरू चुक्नु भएको छ’ कोइरालाले भने, ‘राष्ट्रपति लिएर सहमति गरेको भए पनि हुन्थ्यो ।’ कांग्रेसले माओवादी र एमालेको चाल बुझ्न नसक्दा दुर्घटना भएको उनले बताए ।