उपेन्द्रलाई देउवाको फोन: दल विभाजनको अध्यादेश ल्याइदिने हो र ? - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

उपेन्द्रलाई देउवाको फोन: दल विभाजनको अध्यादेश ल्याइदिने हो र ?



जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई प्रधानमन्त्री शेरबहादुर देउवाले एकाबिहानै फोन गरे । देउवाले उपेन्द्रलाई फोन गरेर लामो कुराकानी गरेको पाईएको छ । पार्टीका केही नेताहरूसँग छलफल गरिरहेका उपेन्द्रले एकै छिन है प्रधानमन्त्री ज्युको फोन आयो भन्दै साइड लागे । फोनमा लामो गफगाफ भएपछि छलफल गरिरहेका नेताहरू खासखुस गर्न थाले ।

यति लामो गफगाफ त्यो पनि प्रधानमन्त्री आफैले फोन गरेका छन्, के हुन लागेको यो भन्दै केही नेताहरूले कौतुहलता व्यक्त गरे । खासमा प्रधानमन्त्री देउवाले जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईको बारेमा कुरा गर्न फोन गरेका रहेछन् । हाल उपेन्द्र यादव र बाबुराम भट्टराईको करिब करिब बोलचाल नै बन्दको अवस्था छ ।

सबै नेताहरूसँग हुँदा भेद नखोलेका उपेन्द्रले केहि नेताहरू बैठकबाट निस्केपछि प्रधानमन्त्रीले फोन गरेको विषयमा बताएपछि नेताहरूले जिल खाए । बाबुराम भट्टराईले पार्टी बिभाजनको गृहकार्य तीब्र पारेको चर्चा बजारमा चलिरहेको बेला प्रधानमन्त्रीको फोनले यो पुष्टि गरेको उपेन्द्रले उपस्थित केहीलाई बताएका थिए ।

भट्टराईले हालै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर पार्टी विभाजनका लागि सजिलो हुनेगरी अध्यादेश ल्याइदिन आग्रह गरेको भन्दै देउवाले अध्यादेश ल्याइदिने हो र भन्दै प्रश्न गरेका थिए । भट्टराईले दल विभाजनका लागि मौजुदा ऐन बाधक हुने भन्दै माधव नेपालको हकमा झैं गरिदिन आग्रह गरेको बुझिएको छ । स्रोतले गरेको दाबी अनुसार बिहान भएको प्रधानमन्त्री देउवा र जसपा अध्यक्ष यादवबीच भएको कुराकानी यसैसँग सम्बन्धित थियो ।

हाल दलसम्बन्धी ऐनमा पार्टी विभाजन गर्न संसदीय दल र केन्द्रीय समितिमा ४० प्रतिशत संख्या आवश्यक हुन्छ । भट्तराईले भने सकेसम्म आफूले ४० प्रतिशत पुर्‍याउने कोसिस गरेको तर नपुगेको खण्डमा आफूलाई सहयोग गर्नुपर्ने बताएका थिए । जसपा स्रोतका अनुसार बाबुरामले अहिले हस्ताक्षर संकलन गरिरहेका छन् ।

देउवाले यादवलाई फोनमार्फत यसबारे जानकारी गराएपछि उपेन्द्र अहिले विभजन रोक्ने कसरतमा लागेका छन् ।