कांग्रेसमा झगडा सधै हुन्छ, यो ठुलो कुरा होइन: सभापति देउवा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

कांग्रेसमा झगडा सधै हुन्छ, यो ठुलो कुरा होइन: सभापति देउवा



काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा विवाद अहिले मात्र नभएर पहिलेदेखि नै हुँदै आएकाले यसलाई सामान्य रुपमा लिनुपर्ने बताएका छन्।

संस्थापक नेता वीपी कोइरालाको १०७औ जन्म जयन्तीका अवसरमा मंगलबार पार्टीले आयोजना गरेको जुम कार्यक्रममा देउवाले झगडा हुनु स्वभाविक भएको उल्लेख गरे।

उनले विवादकै कारण कृष्णप्रसाद भट्टराईले पार्टी छाडेको स्मरण गर्दै अहिले कसैले पनि त्यस्तो अवस्था भोग्नु नपरेको बताए। देउवाले भने, ‘हाम्रो पार्टी पहिल्यैदेखि झगडा थियो। किसनजीले झगडाकै कारणले पार्टी छाड्नुभएको हो। अहिले म कसैले पनि पार्टी छाड्न नपरोस् भन्नेमा गम्भीर छु, देउवाले भने।

उनले आफूले समयमै पार्टीको १४औं महाधिवेशन गर्नुपर्छ भन्ने पक्षमा रहेको जानकारी दिए। वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाले महाधिवेशनको तयारी नपुगेकाले तोकिएको समयमा हुने आशंका गरेपछि देउवाले आफू निर्धारित समयमै गर्ने पक्षमा रहेको बताए।

उनले भने, ‘महाअधिवेशन तोकिएकै समयमा हुनुपर्छ। म हुँदैन भन्दिन्। म त समयमै गर्ने पक्षमा छु। तर कोरोनाका कारण काम गर्न सकिएको छैन।’ सभापति देउवाले कांग्रेसले वीपीले देखाएको बाटो कहिल्यै नछाडेको दाबी गर्दै उनी जीवित भएका भए पनि समयअनुसार चल्ने दाबी गरे।

‘अहिले वीपी भएको भए पनि समयअनुसार बदलिनुहुन्थ्यो। हामीले जस्तै गर्नुहुन्थ्यो। हामीले उहाँको बाटो छाडेका छैनौं, सभापति देउवाले भने, ‘उहाँ समयअनुसार आफूलाई फेर्न सक्ने व्यक्ति हुनुहुन्थ्यो। प्रजातन्त्र र राष्ट्रियताबारे उहाँले कोहीसँग सम्झौता गर्नुभएन।’

देउवाले वीपी सानो देशको ठूलो नेता भएको उल्लेख गरे। उनले अहिलेको सरकारले कोरोनाको नाउमा भ्रष्टाचार बाहेक केही गर्न नसकेको आरोप लगाए। सभापति देउवाले भने, ‘कोरोनाको नाउमा भ्रष्टाचार गर्ने बाहेक यो सरकारले केही गरेन। जता पनि भ्रष्टाचार गरेको छ।

पिसिआर बढेको छैन, जनताले मल पाएका छैनन्, जतातत्यै समस्यै समस्या छन्।’ उनले अब एकपटक कम्युनष्टिसँग लड्नुपर्ने अवस्था आएको चेतावनी दिए।