राणा फाल्यौं, पञ्चायत फाल्यौं, अब कम्युनिष्ट फाल्छौं : देउवा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

राणा फाल्यौं, पञ्चायत फाल्यौं, अब कम्युनिष्ट फाल्छौं : देउवा



कम्युनिष्टहरु लोकतन्त्रको घोडा चढेर अधिनायकवाद लाद्न चाहन्छन्- पौडेल

पोखरा-

पोखरामा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका कम्युनिष्टहरुले तिव्र ध्रुवीकरण गरेर राष्ट्रियता कमजोर पार्ने प्रयास गरिरहेको आरोप लगाएका छन् ।

 

अखण्ड पार्टीका अध्यक्षसहितका नेता तथा कार्यकर्ता एवम् पूर्व सांसद तथा उद्योगपति सूर्यबहादुर केसीलगायतलाई पार्टी प्रवेश गराउन पोखराको प्रदर्शनी केन्द्रमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले कम्युनिष्टहरुले अधिनायकवाद ल्याउनका लागि तीव्र ध्रुवीकरण गरेको बताए । तीव्र ध्रुवीकरणले राष्ट्रियता कमजोर हुने उनको तर्क थियो ।

देउवाले डर त्रासबाट मुक्त समाज कांग्रेसले मात्रै निर्माण गर्न सक्ने जिकिर गरे । कम्युनिष्टहरुले साम्यवादसम्म पुग्ने उद्देश्य राखेर ध्रुवीकरण गरिरहेको र त्यसले अधिनायकवाद भित्र्याउने भन्दै उनले डर त्रासमुक्त समाज निर्माणका लागि अबको निर्वाचनमा कांग्रेसलाई जिताउन आग्रह गरे ।

उनले मंसीर १० र २१ गते हुने चुनाव सामान्य पार्टी पार्टीवीचको लडाईं मात्र नभएको बताउँदै भने, ‘यो चुनाव लोकतन्त्रको लडाईं हो, प्रजातन्त्रको लडाईं हो र जनताको शासन स्थापना गर्ने लडाईं हो ।’

रामचन्द्र पौडेल 

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टहरु लोकतन्त्रको घोडा चढेर अधिनायकवाद लाद्न उद्यत्त रहेको आरोप लगाए । उनले भने, ‘विश्वमै कम्युनिष्टहरु लोकतन्त्रको घोडा चढेर अधिनायकवाद लाद्न चाहन्छन्, अहिले विश्वबाटै कम्युनिष्टहरु हराउँदै गएका बेला नेपालमा पनि लोकतन्त्रको घोडा चढेर बाम गठबन्धनका नाममा अधिनायकवाद लाद्ने प्रयास भइरहेको छ, यसलाई पराजित गर्नुपर्छ ।’

बरिष्ठ नेता पौडेलले बाम गठबन्धनले संविधान संशोधन गरेर मौलिक हक कुण्ठित पार्ने उद्घोष गरेकोप्रति आपत्ति जनाए । उनले बाम गठबन्धनले मौलिक हक संशोधन गर्छु भनेर देशलाई राजनीतिक अस्थिरतातर्फ धकेल्ने कुचेष्टा गरेको टिप्पणी गरे ।

पौडेलले आगामी मंसीर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन पार्टी/पार्टीबीचको लडाइँ नभएर स्वतन्त्रता र अधिनायकवादीवीचको लडाई भएको बताए । उनले भने- ‘यो चुनाव पार्टी/पार्टीबीचको लडाईं मात्र हैन, यो चुनाव साम्यवादी र प्रजातन्त्रवादीवीचको लडाई हो, सिद्धान्तको लडाईं हो, ब्यबस्थाको लडाईं हो, स्वतन्त्रता र अधिनायकवादीवीचको लडाईं हो, अग्रगमन र अधिनायकवाद पश्चगमन फर्काउने लडाईं पनि हो ।’