देवेन्द्र पौडेलको पिडा: दुई वर्षसम्म लाल सलाम भन्न नि पाइएन « Himal Post | Online News Revolution
Logo

देवेन्द्र पौडेलको पिडा: दुई वर्षसम्म लाल सलाम भन्न नि पाइएन



काठमाडौँ, भदौ ७ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय आवश्यकता र नेपाली जनताको चाहनालाई आत्मसात् गर्दै पार्टी छाडेका सबै समूह वा घटक एकतामा आउनुको बिकल्प नभएको बताएका छन्।

नयाँ शक्ति पार्टी नेपाल बृहद् ध्रवीकरण समितिलाई मंगलबार स्वागत गर्दै दाहालले जनताले माओवादी क्रान्तिकारीबीच एकता गर्न दिएको जनादेशलाई सम्मान गरी एकता प्रक्रिया अगाडि बढ्ने विश्वास व्यक्त गरे।

अध्यक्ष दाहालले ‘सिद्धान्त बचाउने नाममा सहिद, बेपत्ता तथा घाइते योद्धाको सपना र त्यागलाई लत्याएर पार्टी छाडेर हिंडेका मोहन वैद्य, क्रान्ति गर्छु भन्दै पार्टी छाडेका नेत्रविक्रम चन्द र माक्र्सवाद असफल भएको भन्दै पार्टी छाडेका डा. बाबुराम भट्टराई एकतामा आउने र एकीकृत तुल्याएरै छाड्ने’ दृढता व्यक्त गरे।

माओवादी कमजोर भए क्रान्तिकारी आन्दोलन र परिवर्तनका एजेण्डा समेत ओझेलमा पर्ने र मुलुक प्रतिगमनमा फर्कन सक्ने भन्दै दाहालले कुनै पनि वाहाना छुट्टाछुट्टै नबस्न र ध्रुवीकरणमा आउन उनीहरुलाई आग्रह गरे।

अध्यक्ष दाहालले भने, ‘केजरीवाल बन्न गएका भट्टराईको हैसियत स्थानीय तहको निर्वाचनले देखाइदिएको छ, क्रान्ति गर्ने चन्दको हैसियत पनि प्रष्ट भएको छ, नेपाली जनताले सबैलाई एकै पार्टीमा आऊ भन्ने सन्देश दिएका छन्, त्यसैले मिल्नुको बिकल्प छैन, बाहिर बसेर केही हुनेवाला छैन।’

नेपाली जनताले सबै माओवादी तथा क्रान्तिकारी शक्तिलाई एकीकृत रुपमा अगाडि बढ्न निर्देश गरेको भन्दै उनले पार्टीलाई एकाध वर्षमा पहिलो पार्टी बनाएरै छाडिने प्रतिवद्धता जनाए।

अध्यक्ष दाहालले पार्टी एकताको क्रम बढ्दै जाँदा नेपाली जनतामा समेत विश्वास बढ्दै गएको तथा आगामी संघ र प्रदेशको निर्वाचनमा माओवादीको स्थान असाध्यै राम्रो हुने दाबी गरे।

संविधान कार्यान्वयनको प्रक्रिया अगाडि बढेको, नेपाली जनताले स्थानीय सरकार पाएको, समावेशी र समानुपातिक प्रतिनिधित्व स्थापित भएको, स्थानीय तहमा हजारौ महिला, दलित निर्वाचित भएको भन्दै उनले माओवादीको एजेण्डा सफल भएको बताए। एजेण्डा माओवादीको भए पनि जित अरु प्रतिस्पर्धी पार्टीको हुने अवस्था धेरै लामो समयसम्म नरहने पनि अध्यक्ष दाहालको दाबी थियो।

नयाँ शक्ति पार्टीका सहसंयोजकसमेत रहेका देवेन्द्र पौडेलले ‘क्रान्तिको बाँकी कार्यभार पूरा गर्न आफूहरु एकीकृत भएको’ बताउँदै ‘बाबुराम भट्टराईसँग रहँदा विगत दुई वर्षदेखि आफूले कम्युनिस्टले सम्मानमा प्रयोग गर्ने लाल सलाम समेत प्रयोग गर्न नपाएको’ गुनासो गरे।

उनले मूल पार्टी छाडेर बाहिर गएका सबैलाई एकतामा आउन र माओवादी पार्टीलाई थप एकीकृत बनाउन आग्रह गरे।

पौडेलको नेतृत्वमा नयाँ शक्ति पार्टीका पाँच सय बढी नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन्। कार्यक्रममा नेकपाका नेता पदम खड्का पनि माओवादी केन्द्रमा प्रवेश गरेको छ। रासस