भ्याक्सिनको ग्यारेन्टी छैन, संक्रमण सम्हाल्नै नसक्ने गरी फैलन सक्ने: डा. एन्थोनी फाउची - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

भ्याक्सिनको ग्यारेन्टी छैन, संक्रमण सम्हाल्नै नसक्ने गरी फैलन सक्ने: डा. एन्थोनी फाउची



एजेन्सी- अमेरिकाका संक्रामक रोगका शीर्ष विशेषज्ञ डा. एन्थोनी फाउचीले अमेरिकी सिनेटरलाई लकडाउन खोल्ने विषयमा चेतावनी दिएका छन् ।

उनले हतारमा लकडाउन हटाइए कोरोनाको संक्रमण तीब्र रुपमा फैलने र लकडाउन खोल्ने बेला दिशानिर्देशको पालना गरिएन भने कोरोना संक्रमणले लाखौं मानिसहरुलाई गाँज्ने चेतावनी दिएका छन् ।

उनले अमेरिकामा मृत्यु हुनेको संख्या आधिकारिक ८२ हजारभन्दा पनि बढी हुनसक्ने बताएका छन् । एन्थोनी फाउचीको भनाई अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको भन्दा भिन्न छ । ट्रम्पले अर्थव्यवस्थालाई पुनः सुचारु गर्नका लागि लकडाउन खोल्न चाहन्छन् । अमेरिकी राष्ट्रपतिले यसका लागि गाइडलाइन्स पनि जारी गरेका छन् ।

फाउची मंगलबार अमेरिकी सिनेटलाई भिडियो कन्फरेन्सिङमार्फत् सम्बोधन गरिरहेका थिए । अमेरिकाका विभिन्न प्रान्तमा लकडाउन खुकुलो पारिएको छ, उक्त प्रान्तमा संक्रमणको दर बढ्दो छ ।

एन्थोनी फाउचीले कोरोनाको संक्रमण सम्हाल्नै नसक्ने गरी फैलन सक्ने बताउँदै यस्तो स्थितीमा अर्थव्यवस्थालाई झट्का लाग्नुका साथै धेरैको ज्यान जानसक्छ ।

उनले सेप्टेम्बर महिनामा कोरोनाको संक्रमण पुनः बढ्न सक्ने बताएका छन् । उनले यसको पूरा सम्भावना भएको धारणा व्यक्त गरेका छन् । कोरोना संक्रमणको दोस्रो लहरको खतरा भएकोले आफूहरुले निकै प्रभावकारी ढङ्गले यसबाट सुरक्षित रहने उपयबारे सोच्नुपर्ने उनले बताए ।

डाक्टर फाउचीले कोरोनाका लागि भ्याक्सिन तयार गर्ने विभिन्न कोसिस चलिरहेको तर ती भ्याक्सिन प्रभावकारी हुने नहुने भन्ने विषयको कुनै ग्यारेन्टी नभएको पनि बताए ।