फिचर : प्रा.डा. हर्मन माइनर र एसओएस बालग्राम « Himal Post | Online News Revolution
Logo

फिचर : प्रा.डा. हर्मन माइनर र एसओएस बालग्राम



~कुमुद अधिकारी~

हर्मन माइनरको जीवन

हर्मन माइनरको जन्म अस्ट्रियाको भोरार्लबर्ग जिल्लामा कृषकको ठूलो परिवारमा २३ जुन १९१९ मा भएको थियो।  उनी सानै छँदा उनकी आमाको मृत्यु भयो, र उनकी जेठी दिदीले कान्छो भाइको पालनपोषणको जिम्मा लिइन्। उनी प्रतिभावान बालक थिए र ग्रामर स्कुलमा पढ्नका लागि छात्रवृत्ति पाएका थिए।

युवाअवस्थामा उनी सेनामा भर्ना भएका थिए र रसियामा युद्धको त्रासदी भोगेका थिए। दोस्रो विश्वयुद्धबाट पीडित परिवारका अनाथ र गृहविहीन बच्चाहरूलाई देखेर उनको मन द्रवित भयो। आफैँलाई हुर्काउने दिदीको शैलीले प्रेरित भएर उनले १९४९ मा करिब ४० अमेरिकी डलरको सहयोगले एसओएस चिल्ड्रेन्स भिलेजेज एसोसिएसन (SOS Children’s Villages Association) सुरु गरे। त्यही वर्ष अस्ट्रियाको इम्स्टमा पहिलो बालग्रामको शिलान्यास गरियो।  हर्मन माइनर एसओएस बालग्राम सङ्गठनको काममा यति धेरै व्यस्त भए कि आफूले पढ्दै गरेको मेडिकल डिग्री पनि उनले छाड्नु पऱ्यो।

अनाथ र घरबारविहीन बालबालिकालाई हुर्काउने उनको तरिकालाई धेरैले मन पराए र त्यसका लागि अभूतपूर्व रूपमा सहयोग जुट्दै गयो। उनले इम्स्टमा बालग्राम निर्देशक भई काम गरे तथा अस्ट्रियाका साथै युरोपको अन्य भागमा एसओएस बालग्राम स्थापना गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरे।

१९६० मा एसओएस बालग्रामहरूको छाता सङ्गठन एसओएस-किन्डरडर्फ इन्टरनेसनल(SOS-Kinderdorf International) को स्थापना गरियो र हर्मन माइनर सो सङ्गठनका पहिलो अध्यक्ष बने। त्यसपछि एसओएस बालग्रामका क्रियाकलापहरू युरोपबाहिर फिँजिन थाले। संवेदनशील “ग्रेन अफ राइस(Grain of Rice)” अभियानले गैर-युरोपीय देशहरूमा बालग्राम स्थापना गर्नका लागि पर्याप्त कोष जुटायो। युरोपबाहिरको पहिलो बालग्राम १९६३ मा कोरियामा निर्माण गरियो।

१९८५ सम्ममा हर्मन माइनरले सुरु गरेको अभियानले ८५ देशहरूमा २३३ बालग्रामहरूको निर्माण गरिसकेको थियो। परित्यक्त, अनाथ र घरबारविहीन बालबालिकाहरूका लागि गरेको कामलाई पहिचान गर्दै उनलाई अनेकौँ राष्ट्रिय/अन्तर्राष्ट्रिय पुरस्कार दिइयो। उनलाई धेरै पटक नोबेल पुरस्कारका लागि पनि नामाङ्कन गरिएको थियो।

१८८६ सालमा उनको मृत्यु इन्स्ब्रुकमा भयो। उनको पार्थिव शरीरलाई इम्स्टको बालग्राममा समाधीस्थ गरियो।

विश्वमा एसओएस बालग्रामका कार्यक्रमहरूको  छोटो तथ्याङ्क

अहिले एसओएस बालग्रामका कार्यक्रमहरू विश्वभरिका १३५ देशहरूमा फैलिएका छन्। यस अन्तर्गत विश्वभरि ५७२ वटा बालग्रामहरू, ७१९ युवा कार्यक्रमहरू र ५७४ परिवार सुदृढीकरण कार्यक्रमहरू रहेका छन्। त्यस्तै १५९ सामाजिक केन्द्रहरू, ३४ आकस्मिक केन्द्रहरू, ७१ चिकित्सा केन्द्रहरू र ४७९ स्कुल तथा व्यावसायिक तालिम केन्द्रहरू रहेका छन्।

बालग्रामको सिद्धान्त

एसओएस बालग्रामको स्थापना निम्न चार आधारभूत सिद्धान्तहरूका आधारमा भएको हो र यसको कार्यप्रणाली पनि यिनै चारवटा सिद्धान्तहरूले निर्देशित हुने गरेको छ:

१. आमा(Mother) २. दाजुभाइदिदीबहिनी(Siblings) ३. घर(Home) ४. ग्राम(Village)

बालबालिकाहरू आमाको स्नेहपूर्ण वातावरणमा आफ्ना दाजुभाइदिदीबहिनीहरूसँग घरमा बस्छन् र ग्राममा हुर्किन्छन् जुन समुदायको अहम् हिस्सा हुन्छ।

बालग्राममा आवश्यकता अनुसारका घरहरू हुन्छन् जसलाई फ्यामिली हाउस(Family House) भनिन्छ। एउटा फ्यामिली हाउसमा एक जना आमा बस्छिन् र उनले अधिकतम १२ जना बच्चाहरूको हेरचाह गर्नुपर्छ। आमालाई आवश्यकता परेका बेला वा विदा लिनु परेमा आमालाई सहयोग गर्ने आन्टी हुन्छन्। एउटा घरमा बस्ने बालकहरू र बालिकाहरू दाजुभाइदिदीबहिनी हुन्छन्।  एउटा ग्राममा बस्ने बालबालिकाहरू पनि एकअर्काका दाजुभाइदिदीबहिनीहरू नै हुन्छन्। यदि बाहिरबाट बालग्राममा ल्याइँदा दाजुभाइदिदीबहिनी भए उनीहरूलाई छुट्याएर भिन्न भिन्न घरमा राखिँदैन। एउटा घर, ग्राम मात्र नभएर देशभरिका बालग्राममा हुर्कने बालबालिकाहरू एकअर्काका दाजुभाइ र दिदीबहिनीहरू हुन्छन्। नेपाल लगायत कहीँ पनि बालग्राम भित्रका युवा र युवतीबीच बिहेवारी हुँदैन। तर बाहिरी समुदायसँग भने बिहेबारी हुन्छ। विवाहको कर्म युवायुवतीको धार्मिक र सांस्कृतिक परम्परा अनुसार गरिन्छ। बाहिरका ज्वाइँहरू ससुराली आउँदा आफ्नी पत्नी हुर्केको घरमा आउँछन् र आमालाई सासूकै इज्जत दिन्छन्। त्यस्तै युवाले दुलही लिएर आउँदा आफू हुर्केको घरमै भित्र्याउँछन्। बालग्राममा आमाको पद सबैभन्दा महत्त्वपूर्ण रहेको हुन्छ। बालग्रामका समस्त घरहरू र परिवारहरूको अभिभावकत्व ग्राम निर्देशक(Village Director) माथि हुन्छ जसलाई बालबालिकाहरूले बाबा(Father) भनी सम्बोधन गर्छन्।

नेपालमा बालग्रामको स्थापना

सन् १९६८ मा डा. हर्मन माइनर नेपाल आएपछि, त्यसको अर्को वर्ष १९६९ मा तत्कालीन अधिराजकुमारी शारदा राज्यलक्ष्मीदेवी शाहको अध्यक्षतामा एसओएस बालग्राम नेपालको बोर्ड २० जुलाईका दिन गठन गरियो। यही क्रममा १९७२ मा नेपालकै पहिलो बालग्रामले सानो ठिमीमा विधिवत काम सुरु गऱ्यो। यहाँबाट सुरु भएको एसओएस बालग्राम नेपाल(SOS Children’s Villages Nepal)ले २०१५ सम्ममा आइपुग्दा नेपालभरि सेवा पुऱ्याउँदै आएका परियोजनाहरू निम्न छन्:

  • दसवटा बालग्रामहरू{भरतपुर, धनगढी, गण्डकी(रामबजार, पोखरा), इटहरी, जोरपाटी, काभ्रे, लुम्बिनी, पोखरा(घारीपाटन), सानोठिमी र सुर्खेत},
  • आठवटा हर्मन माइनर स्कुलहरू{भरतपुर, गण्डकी(रामबजार, पोखरा), पोखरा(घारीपाटन) लुम्बिनी, इटहरी, सानोठिमी, काभ्रे र सुर्खेत},
  • आठवटा युवालयहरू{भरतपुर, विराटनगर, गण्डकी(रामबजार, पोखरा), जोरपाटी, काभ्रे, काठमाडौँ, नेपालगञ्ज र पोखरा(घारीपाटन)},
  • चारवटा मेडिकल/सामाजिक/तालिमकेन्द्रहरू (काभ्रे, पोखरा, सानोठिमी र बर्दिया)

एसओएस बालग्रामले स्थापनादेखि २०१५ सम्म आइपुग्दा पच्चीस हजार बालबालिकाहरूलाई प्रत्यक्ष वा परोक्ष सेवा दिइसकेको छ भने २०३० सम्म अरू पच्चीस हजार बालबालिकाहरूलाई सेवा दिने लक्ष्य राखेको छ।

एसओएस हर्मन माइनर स्कुलहरू(SOS Hermann Gmeiner Schools)

एसओएस अन्तर्राष्ट्रियले विकासोन्मुख र अल्पविकसित देशहरूमा गुणस्तरीय शिक्षा दिनका लागि भनेर बालग्रामहरूसँगै एसओएस हर्मन माइनर स्कुलहरू पनि स्थापना गरेको छ। यी स्कुलहरूमा एसओएस बालग्राममा बस्ने बालबालिकाहरू साथै वरिपरिको समुदायका बालबालिकाहरूले गुणस्तरीय शिक्षा आर्जन गर्छन्। हर्मन माइनर स्कुलहरूले समुदायमा पनि न्युन आयस्तर भई बालबालिकाहरूलाई शिक्षा प्रदान गर्न नसक्ने परिवारका बालबालिकाहरूलाई प्राथमिकता दिइन्छ। यसमा स्थानीय आदिवासी समुदाय, पिछडिएका जातिहरू र अल्पसङ्ख्यक समुदायका बालबालिकाहरू पनि पर्छन्।

नेपालमा इटहरी र लुम्बिनी बाहेकका बाँकी सबै स्कुलहरूमा कक्षा १२ सम्म अध्ययनअध्यापन हुन्छ। दुईवटा स्कुलमा विज्ञान सङ्काय(रामबजार, पोखरा तथा सानोठिमी, भक्तपुर) र बाँकी चारवटामा वाणिज्य सङ्कायको पढाइ हुन्छ।

युवालयहरू(Youth Facilities)

बालग्रामबाट हुर्किएर किशोरावस्था पूरा गरेपछि(एसएलसी, वा +२को जाँच पछि) युवायुवतीहरू युवालयमा जान्छन्। युवा र युवतीहरूका लागि भिन्न भिन्न युवालयहरू हुन्छन्। युवालयमा बसेर उनीहरूले कलेजस्तरको शिक्षा प्राप्त गर्छन्, तालिम लिन्छन् र रोजगार/स्वरोजगार पक्रिएर समाजमा एकीकृत हुन्छन्। युवालयमा बालग्रामले आत्मनिर्भर बन्नका लागि सहयोग गर्छ तर यो सहयोग सधैँका लागि भने हुँदैन। आत्मनिर्भर भैसकेपछि युवा/युवतीले बालग्रामबाट विदा लिनुपर्छ र समुदायमा सामान्य जीवन यापन गर्नु पर्छ।

परिवार सुदृढीकरण कार्यक्रम(Family Strengthening Programme)

एसओएस नेपाल अन्तर्गत परिवार सुदृढीकरण कार्यक्रमहरू सञ्चालित छन्। यस कार्यक्रम अन्तर्गत इटहरी, भरतपुर, काभ्रे, सानोठिमी, गण्डकी, पोखरा, सुर्खेत, लुम्बिनी र बर्दियामा विभिन्न कार्यक्रमहरू सञ्चालित छन्। परिवार सुदृढीकरण कार्यक्रममा दिवा-स्याहार केन्द्र, सीप-विकास केन्द्र, शैक्षिक सहयोग कार्यक्रमहरू सञ्चालित हुन्छन्।

दिवास्याहार अन्तर्गत गरिबीको रेखा मुनि भएका वरिपरिका वासिन्दाहरूका बालबालिकाहरूलाई हेरचाह गरिन्छ। बनीबुतो वा शारीरिक श्रम गरी पेट पाल्नुपर्ने बाध्यता भएका बाबुआमाका बालबालिकाहरूलाई दिनभरि केन्द्रमा राखी, बाबुआमाहरूलाई काममा जाने अवसर प्रदान गरिन्छ। दिवास्याहारमा राखिएका बालबालिकाहरूलाई तालिमप्राप्त आयाहरूले स्याहारसुसार गर्छन्। यी बालबालिकाहरूलाई रमाइलो वातावरणमा मोन्टेश्वरी पद्धतिद्वारा स्कुल शिक्षाका लागि तयार गरिन्छ। ५ वर्ष पुगेपछि ती बालबालिकाहरू एसओएस हर्मन माइनर स्कुलहरूमा शिक्षा आर्जन गर्न जान्छन्।

त्यस्तै सीप विकास केन्द्र अन्तर्गत गरिब परिवारहरूका युवायुवतीहरूलाई विभिन्न सीपहरूको तालिम दिइन्छ। यसमा सिलाइ-कटाइ, इम्ब्रोइडरी, चित्रकला, सेरामिक्स, मेकानिक्स आदि विषयमा ६ महिने तालिम दिइन्छ। यहाँबाट तालिमप्राप्त धेरै युवायुवतीहरूले आफ्नो व्यवसाय सुरु गरेका छन् वा विभिन्न उद्योगहरूमा रोजगार प्राप्त  गरेका छन्। कतिपय वैदेशिक रोजगारमा समेत गएका छन्।

शैक्षिक कार्यक्रम अन्तर्गत विभिन्न ग्रामीण तथा आयस्रोत कम भएका विद्यालयहरूलाई प्राविधिक शिक्षा लगायत विभिन्न किसिमको सहयोग प्रदान गरिन्छ।

यी बाहेक एसओएस बालग्रामका अन्य दुईवटा महत्त्वपूर्ण कार्यक्रम निम्न रहेका छन्:

विपत्ति व्यवस्थापन

भूकम्प वा बाढीपहिरोजस्ता प्राकृतिक विपत्तिमा एसओएस बालग्रामले तुरुन्त राहतको कार्यक्रम सञ्चालन गर्ने गरेको छ। यति मात्र नभएर ती प्राकृतिक विपत्तिबाट पीडित बालबालिकाहरूलाई बालग्राममा भर्ना गर्ने, वा पारिवारिक सहयोग गर्ने आदिजस्ता काम पनि बालग्रामले गर्दछ। कतिपय स्थानहरूमा घर तथा विद्यालय भवनका पुनर्निर्माणका कामहरू पनि बालग्रामले गरेको छ। यसैगरि विभिन्न द्वन्द्व(जनयुद्ध, तराई आन्दोलन आदि)बाट पीडित बालबालिकाहरूलाई विभिन्न किसिमका सहयोग पनि प्रदान गरेको छ।

बालअधिकारको वकालत

“केयर फर मि”(मेरो हेरविचार गर्नुहोस्) अभियान एसओएस अन्तर्राष्ट्रियको विश्वव्यापी कार्यक्रम हो। यस कार्यक्रम अन्तर्गत हरेक सहभागी देशले आफ्नो देशमा भएका वैकल्पिक स्याहार प्रणालीमा बालबालिकाको स्याहारमा संयुक्त राष्ट्र सङ्घका मार्गदर्शनहरू पालना गरिन्छन् वा गरिँदैनन् भन्ने कुराको मूल्याङ्कन गर्नुपर्छ। यस अभियान अन्तर्गत एसओएस नेपालले वैकल्पिक स्याहार अन्तर्गत’बाल अधिकार’ र ‘बाल सुरक्षा’का मुद्दाहरूलाई समुचित रूपमा सम्बोधन गरिएको कुरा सुनिश्चित गर्दछ।

-0-

प्रा.डा. हर्मन माइनरको १००औँ जन्मजयन्ती(२३ जुन २०१९)को अवसरमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली।