डा.महाबिर पुनले गरे आफैलाई बेच्ने घोषणा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

डा.महाबिर पुनले गरे आफैलाई बेच्ने घोषणा



हिमालपोष्ट/ काठमाडौँ

डा महाबिर पुनले राष्ट्रिय आविष्कार केन्द्र निर्माणको लागि आफैलाई बेच्ने घोषणा गरेका छन् । पुनले यस अघि आफ्ना मेडलहरु पनि बेचेका थिए भने केही समय अघि चाउचाउको विज्ञापनमा देखिएका थिए ।

लामो समय देखि राष्ट्रिय आविष्कार केन्द्र स्थापनार्थ सहयोग जुटाउँदै हिडेका महाबिर पुनले एक्कासि यस्तो घोषणा गरेका हुन । उनले आफ्नो फेसबुक मार्फत आफुलाइनै बेच्ने घोषणा गरेका छन् । फेसबुकमा लामो र निकै मार्मिक स्टाटस लेख्दै

उनले लेखेका छन् “मर्न नै परे पछि खुट्टा खुम्च्याएर होइन खुट्टा तानेर नै मर्ने निर्णय गरिनेछ. कोही छ त मलाई वास्तविक रूपमा नै किन्ने राष्ट्रिय आविष्कार केन्द्र स्थापनाको सहयोगार्थ?”
पुनले अगाडि लेखेका छन् ”
मलाई विज्ञापनको लागी मात्र होइन कि वास्तविक रूपमा नै किनेर जे काममा पनि लगाउन चाहानु हुन्छ भने फोन गर्नु होस ९८४१५९२३६१ मा. कतिमा किन्ने र किनिने भनेर मोल मोलाई गरौंला. तपाईँले दिएको मूल्य राष्ट्रिय आविष्कार केन्द्रको खातामा जाने छ र म तपाईँको काममा पूर्ण रूपमा जोतिने छ”

उनको स्टाटस जस्ताको तस्तै

मर्न नै परे पछि खुट्टा खुम्च्याएर होइन खुट्टा तानेर नै मर्ने निर्णय गरिनेछ । कोही छ त मलाई वास्तविक रूपमा नै किन्ने राष्ट्रिय आविष्कार केन्द्र स्थापनाको सहयोगार्थ?

हिजो देखि प्रीति चाउचाउले मिडियामा म पनि खेलेको विज्ञापन दिन सुरु गरेको छ । म जस्तो मान्छे सो जंक फुड (नराम्रो खाना) को विज्ञापनमा खेलेको राम्रो भएन भनेर केही साथीहरूको चित्त निकै नै बुझेको छैन जुन स्वभाबिक पनि हो । पैसाको लागी विज्ञापनमा समेत खेल्नु पर्‍यो भनेर मेरो पनि चित्त त बुझेको छैन नि. के गर्ने, कुराको मर्म गहिरो छ ।

एक जना भाइले त यस्तो पनि कमेन्ट गर्नु भएछ – “भो दाइ चाहिएन तपाईँको आविष्कार केन्द्र जुन मेरा छोराछोरीलाई जंक फूड खुलाएर स्थापित हुन्छ |” यो भनाई सुन्दा यस्तो लाग्छ कि मैले जंक फुड खुवाएर सम्पूर्ण नेपालीका छोरा छोरीहरुलाई नै मार्न गई रहेको छु. कस्तो दुख लाग्दो लान्छना हो यो? तर उपरोक्त भनाइले प्रस्ट रूपमा के भन्छ भने उहाँलाई राष्ट्रिय आविष्कार केन्द्र नै चाहिएको छैन । सो भनाइको अर्को ठोस अर्थ “नेपाललाई समृद्धिशाली देश बनाउनु आवश्यक छैन र यथास्थितिमा नै राख्नु ठिक छ” भन्ने पनि हुन्छ. तर त्यसो हुनेवाला छैन ।

नेपाललाई यथास्थितिमा राख्न चाहनेहरुको साना साना झुण्डहरु नेपालमा पक्कै छन । तर उनीहरूको प्रयास कुनै पनि हालतमा सफल हुने छैन । त्यसैले मलाई विज्ञापनको लागी मात्र होइन कि वास्तविक रूपमा नै किनेर जे काममा पनि लगाउन चाहानु हुन्छ भने फोन गर्नु होस ९८४१५९२३६१ मा कतिमा किन्ने र किनिने भनेर मोल मोलाई गरौंला । तपाईँले दिएको मूल्य राष्ट्रिय आविष्कार केन्द्रको खातामा जाने छ र म तपाईँको काममा पूर्ण रूपमा जोतिने छु । राष्ट्रिय आविष्कार केन्द्रमा हाललाई म अध्यक्ष भए ता पनि सो पद मा म नभए पनि केन्द्र सुचारु रूपमा चल्न सक्छ भन्ने कुरामा मलाई पूर्ण विश्वास छ।  म भन्दा प्रतिभाशाली भाइ बहिनीहरू प्रशस्त छन् आविष्कार केन्द्र चलाउने । धन्यवाद