हजार र ५०० का भारु नोट दुई करोड मात्रै - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

हजार र ५०० का भारु नोट दुई करोड मात्रै



हिमाल पोस्ट / काठमाडौँ, २४ कात्तिक ।
मुलुकका बैंक तथा वित्तीय संस्थासँग एक हजार र ५०० दरका भारतीय नोट दुई करोडको हाराहारीमा रहेको केन्द्रीय बैंकले जनाएको छ ।

हजार र ५०० दरका नोटमाथि भारतको केन्द्रीय सरकारले प्रतिबन्ध लगाएपछि ती नोटबारे सर्वसाधारण नेपालीमा अन्योल बढेपछि राससको जिज्ञासामा राष्ट्र बैंकले त्यस्तो जानकारी दिएको हो ।

राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलका अनुसार मुलुकका बैंक तथा वित्तीय संस्थामा उक्त दरका नोटका ठूलो रकम छैन तर बैंकिङ प्रणालीमा नभए पनि साधारणसँग ठूलो रकम भएको अनुमान गरिएको छ ।

राष्ट्र बैंकले आजै निर्देशन जारी गरेर बैंक, वित्तीय संस्था एवम् मुद्रा सटही केन्द्रलाई उक्त दरका नोटको कारोबार नगर्न निर्देशन दिएको थियो । त्यस्तै भारतीय केन्द्रीय बैंकलाई नेपालमा रहेको भारुको व्यवस्थापनका विषयमा पत्राचार गर्ने निर्णय गरेको थियो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार राष्ट्रका नाममा सम्बोधन गर्दै जाली नोटलाई निरुत्साहित गर्न भारु ५०० र एक हजारका नोट पूर्ण प्रतिबन्ध लगाउने घोषणा गर्नुभएको थियो ।

उहाँले सम्बोधनका क्रममा सर्वसाधारणले यही नोभेम्बर १० देखि डिसेम्बर ३० सम्ममा आफूसँग भएका उक्त दरका नोट बैंक तथा हुलाकमार्फत जम्मा गर्न आग्रह गर्नुभएको छ । रासस