एमालेको निष्कर्ष- शंकर पोखरेलमाथि छानबिन, विष्णु पौडेलको नेतृत्व सफल - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

एमालेको निष्कर्ष- शंकर पोखरेलमाथि छानबिन, विष्णु पौडेलको नेतृत्व सफल



नेकपा एमालेले मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरू (राष्ट्रिय स्वतन्त्र पार्टीसमेत) का कारण आफ्नो पार्टीले कम्तीमा २५ देखि ३० सिटसम्म गुमाउनुपरेको प्रारम्भिक निष्कर्ष निकालेको छ।

एमालेले गरेको चुनावको अनौपचारिक समीक्षामा पार्टीले जित्ने निश्चित भएका ८ निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवार हाबी भएको र पार्टीका उम्मेदवार उपविजेता भएको औंल्याउँदै प्रत्यक्षमा करिब ८ सिट र समानुपातिकमा १७ सिट गुमाउनुपरेको निष्कर्ष निकालिएको हो।

एमाले काठमाडौं २ र ५ तथा चितवन १ र २ मा चुनाव जित्नेमा ढुक्क थियो। काठमाडौं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले चुनाव जिते। काठमाडौंका अन्य क्षेत्रमा पनि एमाले राष्ट्रिय स्वतन्त्र पार्टीसँग दोस्रो भएको थियो। चितवन १ र २ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पहिलो हुँदा एमाले उम्मेदवार दोस्रो स्थानमा आए।

सत्तारुढ दलबीच गठबन्धन नभएको भए प्रत्यक्षतर्फ एक सय सिट कट्ने समीक्षा एमालेको छ। हारजित भएका स्थानमा पनि झिनो मत रहेको समीक्षा गर्दै एमालेले आफूमाथि स्वतन्त्र र स्वतन्त्र पार्टीका नाममा प्रहार भएको निष्कर्ष निकालेको छ।

‘हामीले निर्वाचनको सामान्य समीक्षा गरेका छौं, स्वतन्त्र पार्टी वा उम्मेदवार नभएको भए थप २५ देखि ३० सिट एमालेको पक्षमा आउने देखियो, गठबन्धन नभएको भए प्रत्यक्षमै एक सय सिट पुग्ने अवस्था देखियो’, एमालेका एक पदाधिकारीले भने। एमालेभित्र अझै अराजकता कायमै रहेको महसुस पनि भएको ती पदाधिकारीले बताए।

एमालेले अहिले प्रत्यक्षतर्फ ४४ सिट प्राप्त गरेको छ। समानुपातिकमा अन्य दलभन्दा एमाले अगाडि छ। प्राप्त मतमा धेरैजसो स्थानमा एमाले दोस्रो भएको छ। एमालेले आफ्ना उम्मेदवार दोस्रो भएका स्थानमा पार्टीको मत स्वतन्त्र उम्मेदवारहरूमा गएको निष्कर्ष पनि निकालेको छ।

एमालेले देशभरिको चुनावी समीक्षा भने गरेको छैन। यसपल्ट सोच्दै नसोचेको र प्राथमिकतामा पनि नराखेको सोलुखुम्बुमा भएको जितलाई उसले उपलब्धिका रूपमा लिएको छ। २०४८ सालदेखि नै एमालेले हार्दै आएको सोलुखुम्बुमा अघिल्लोपटक प्रदेशसभा एमाले जितेको थियो।

सोलुबाट यसअघि प्रदेशसभामा निर्वाचित सांसदले जनताका पक्षमा गरेका कामबाट अहिले त्यहाँबाट प्रतिनिधिसभामा जित निकाल्न सहज भएको निस्कर्ष एमालेको छ। त्यसैगरी २०४८ सालदेखि निर्वाचन जित्दै आएका विजय गच्छदारविरुद्ध पार्टी नेत्री भगवती चौधरीको जितलाई पनि एमालेले उपलब्धिका रूपमा लिएको छ। मधेश प्रदेसमा प्रभु साहले धोका दिएको भए पनि त्यहाँ भएको जितलाई पनि एमालेले राम्रै उपलब्धिका रूपमा लिएको छ।

कर्णाली प्रदेशबाट प्रतिनिधिसभामा पार्टी शून्य भएको र सुदूरपश्चिम प्रदेशमा पनि दुई सिटमा सीमित हुनुपरेको विषयमा एमालेले गम्भीर समीक्षा गर्ने भएको छ। अनौपचारिक समीक्षामा त्यहाँ पार्टी संगठन कमजोर भएर हो वा उम्मेदवार चयनमा त्रुटि भएर हार बेहोर्नुपरेको भन्ने विषयमा गम्भीर छलफल हुनुपर्ने कुरा उठेको स्रोतले बतायो।

सुदूरपश्चिम प्रदेशमा एमालेका दामोदर भण्डारीले बैतडी र तारालामा तामाङले कञ्चनपुर १ बाट निर्वाचन जितेका छन्। अघिल्लो निर्वाचनमा सुदूरपश्चिम र कर्णाली प्रदेश एमालेले राम्रो जित निकालेको थियो। एमालेले प्रदेश १ मा पार्टीको साख जोगिएको निष्कर्ष निकालेको छ।

महासचिव शंकर पोखरेलले दाङबाट हार्नु र दाङमा एक सिट पनि पार्टीले नजित्नुमा छुट्टै समीक्षा गर्नुपर्ने निष्कर्ष एमालेले निकालेको छ। एमालेले पार्टीका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिव योगेश भट्टराई, छविलला विश्वकर्मा तथा रघुवीर महासेठको जितलाई उल्लेख्य सफलता मानेको छ।

रूपन्देहीमा पार्टी उपाध्यक्ष विष्णु पौडेलेको नेतृत्वमा भएको चुनावी अभियान अत्यन्तै सफल भएको निष्कर्ष पनि एमालेले निकालेको छ ।

गुरुङले लम्जुङमा माओवादीका महासचिव देव गुरुङ, विश्वकर्माले रूपन्देही १ मा पार्टीका पूर्वनेता घनश्याम भुसाल र महासेठले धनुषा ४ मा कांग्रेस सहमहामन्त्री महेन्द्र यादवलाई हराएको टपेन्द्र कार्कीले नागरिकमा लेखेका छन् ।