एमालेले चुनाव नजिते परिवर्तन उल्टिन्छ: ईश्वर पोखरेल - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

एमालेले चुनाव नजिते परिवर्तन उल्टिन्छ: ईश्वर पोखरेल



काठमाडौं- नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले १० बुँदे सहमति नयाँ तरिकाले कार्यान्वयन हुने बताएका छन् । बिहीबार प्रज्ञा प्रतिष्ठानमा कार्यकर्तालाई प्रशिक्षण दिँदै सुदृढ संगठन बनाउन १० बुँदे नयाँ तरिकाले कार्यान्वयन हुने प्रष्ट पारेका हुन् ।

‘संगठनलाई व्यवस्थित बनाउन जरुरी छ । हामीले भीड होइन शक्ति खोजेका हौं । पार्टीभित्रको सुदृढ एकतालाई ध्यान दिन जरुरी छ । पार्टीको पक्षमा दृढतापूर्वक उभिनुपर्छ । गुटबन्दीमा लागेर पार्टी कमजोर बनाउने, अनास्था फैलाउने, गुटगत गतिविधि स्वीकार्य छैन । एकता मजबुत बनाउन १० बुँदे सहमति गरिएको हो । प्रतिबद्धताबाट नेतृत्व किञ्चित पछि हट्दैन । सुझाव कार्यान्वयन गर्ने हाम्रो प्रतिबद्धता हो,’ उनले भने ।

पोखरेलले जेठ २ लाई दुई हिसाबले बुझ्न आग्रह गरे । ‘यसलाई पोलिटिकल सेन्समा बुझ्न जरुरी छ । कानुनी रुपमा पनि जरुरी छ । आजको एमाले २ जेठमात्र होइन एकीकृत, एकता प्रक्रियासहितको एमाले हो,’ उनले भने, ‘२ जेठमात्र भन्ने हो भन्ने विकसित, परिवर्तित, एकता प्रक्रियासहितको एमाले हुँदैन । त्यसैले आजको एमाले एकता प्रक्रियासहहितको एमाले हो । यो बुझ्न जरुरी छ ।’

महासचिव पोखरेलले सत्ता गठबन्धन आर्थिक विकासको अभियानलाई अवरुद्ध गर्न खोजेको आरोप लगाएका छन् ।
उनले एमाले आर्थिक समृद्धिको बाहक भएको र सत्ता गठबन्धनले समृद्धिको अभियानलाई अवरुद्ध पार्ने खोजेको आरोप लगाए ।

‘जहाँ आर्थिक विकास, समृद्धि, राष्ट्रिय स्वाधिनता, सामाजिक सद्भाव, समानता, देश बनाउने सपना बोकेको एउटा ध्रुव छ । त्यो एमाले हो । केपी ओलीले नेतृत्व गरेको छ,’ उनले भने, ‘अर्कोतिर गठबन्धन र त्यसका शक्ति पक्ष रहेका छन् । त्यो गठबन्धन र त्यसका सदस्यहरुले संविधान, कानुन, लोकतान्त्रिक मूल्य मान्यता विरुद्धका आचरणहरुलाई प्रतिनिधित्व गर्छ । आर्थिक विकासको अभियानलाई अवरुद्ध गर्न खोजेको छ । स्वाधिनता कमजोर पार्न खोजेको छ । यो गठबन्धन अवसरवादी अनैतिक एउटा शक्ति हो ।’

पोखरेलले अहिले नै समाजवाद आयो भनेर बुझिहाल्न नपर्ने बताए । ‘एमालेलाई सरकारबाट हटाउनका लागि बाहिरका भित्रका पनि भित्रकासँग कस्तो गठजोड भयो । त्यसकारण सामन्तवाद अन्त्य भयो भन्ने भ्रम पाल्नुहुँदैन । अवशेष बाँकी नै छ,’ उनले भने ।

पोखरेलले एमालेले चुनाव नजिते परिवर्तन उल्टिने पनि बताए । ‘अब हामी चुनाव जित्छौं । दुर्भाग्यवश हामीले जितेनौ भने परिवर्तन उल्टोतिर जान्छ,’ उनले भने ।

पोखरेलले पार्टी संगठनमा अध्ययन र प्रशिक्षणको कमी औल्याए । ‘दस्तावेज, निर्देशन, वक्तव्यहरु पढेको छैन । सामाजिक सञ्जालमा अल्झिएका छौं । त्यहीँ आधारमा धारणा बनाउने काम गरेका छौं । अब अध्ययन र प्रशिक्षणमा ध्यान दिनुपर्छ । स्वअध्ययनमा ध्यान दिनुपर्छ,’ उनले भने ।

पोखरेलले पार्टीमा गुटबन्दी र अराजकता मौलाएको भन्दै यो पार्टीलाई समाप्त पार्ने महारोग भएको बताए । ‘अतिथिमा तलमाथि ग¥यो भने पनि गुटबन्दी भइरहेको छ । यसलाई परास्त गर्नुपर्छ,’ उनले भने ।