फिमेल ! « Himal Post | Online News Revolution
Logo

फिमेल !



-हेमन्त गिरी

फिमेल !

“स्त्री हुँ । परदेशमा छु । पुरुषको तुलनामा शरीर कमजोर नै छ । मासिक धर्म पनि खेपिरहन्छु । घाम-पानी पनि झेलिरहन्छु । तैपनि आफ्नो मेहेनत र लगनले यही देशमा रहेको कुनै नेपाली पुरुषले भन्दा कम पैसा कमाउँदिन ।

दिमागले औसत छु । रूपले राम्री छु । रहर पनि छन । ठाउँ अनुसारको पहिरन लगाउँछु । पहिरनको सीमाना बुझेकी पनि छु । सिजन र समय अनुसारको खान्की खान्छु । फुर्सद ज्यादै कम हुन्छ । कलेज,काम,मनोरन्जन अनि आराम । २४ घण्टाको दिन साह्रै छोंटो लाग्छ,ज़िन्दगी चाहिं पट्यार लाग्दो लामो । मुस्किलले सुत्छु । मुस्किलले डुल्छु । मुस्किलले खुसी पनि हुन्छ ।

मानिस खुसी ‘फ्रिली’ हुन पाउनु पर्छ । तर म मुस्किलले हुन्छु । मेरो मुस्किल म मेरो फेसबुक पोस्टहरूमा देखाउँदिन । ‘टिक-टक’का भिडियोहरूमा देखाउँदिन । इन्स्टाका फोटोहरूमा देखाउँदिन । साथीभाईका जमघटहरूमा देखाउँदिन । म मेरो मुस्किललाई बडो मुस्किल संग ‘मेनेज’ पनि गर्छु ।

यो ‘सेक्स-फ्री’ कन्ट्री हो । यहाँ महिला-पुरुष हात बाँधेर हिंड्नु सामान्य हो । रेल स्टेशनमा,पार्कमा,क्याफेहरूमा जोडीहरू किस गरिरहेका भेटिनु सामान्य हो । यी दृश्यले मनमा काउकुती अवस्य लगाउँछन । अविवाहित छु । जवान छु । रहरहरू छन, तब न काउकुतीहरू पनि छन । तर मर्यादा कहिलै नाघ्ने प्रयास गरिन र गर्दिन पनि । मलाई एउटा सुन्दर र इज्जतदार भविष्य लिएर देश फर्किनु छ । एउटा मौलिक संसार सजाउनु छ । मेरा सपनाहरूलाई यहाँको रंगले छुन्छन तर भिजाउँदैनन ।

एक हुल पुरुषहरू यही शहर भित्र मेरो चरित्रको कथा लेख्न लागी परेका हुन्छन । थुप्रै अड्कलहरू काट्छन । केहीले मलाई सुताउने सम्मको योजना सुनाउँछन रे । म उनीहरूको नशाको पात्र बन्ने गरेको पनि सुन्छु । पिउँदै जान्छन,मलाई नङग्याउँदै जान्छन । कसैको कल्पनामा नांगो हुनु, कसैको अड्कल र आशंकाहरूमा उदांगो हुनु पनि एक किसिमको हिंसा खेप्नु नै हो । ‘म स्वतन्त्र छु,फ्रिली घुमिरहेकी छु, खाइरहेकी छु, लाइरहेकी छु, आफ्नो काम गरिरहेकी छु’ जस्ती देखिन्छु तर प्रत्यक्ष-अप्रत्यक्ष हिंसा खेपिरहेकी छु । म संसारकै सुरक्षित शहरमा बसेकी छु तर आफ्नै देशका मानिस र तिनका सोंच बाट असुरक्षित छु ।

म संग राम्रो संग बोल्ने पुरुष साथी पनि ‘हम-बिस्तर’ हुने सम्भावना देखेन भने बिस्तारै टाढिन्छ । मलाई दिलो ज्यानले सहयोग गरे जस्तो गर्ने दाईहरू पनि मैले ‘छोएको मन पर्दैन है’ भनें भने टाढिएर छुँदैनन तर चरित्र भित्र हात पसालेर आन्द्रा भूँडी निकाल्न कुनै कसर बाँकि राख्दैनन । कहिलेकाहिं आफ्नो स्वादले तान्छ र गयो, नेपाली रेस्टूरेन्टहरूमा पल्लो टेबलबाट छड्के सुनाउने ‘सोल्टी’हरूले पनि मलाई एक किसिमको हिंसा नै गरिरहेका हुन्छन । कलेजका साथीदेखि रेस्टूरेन्टका साहूजी सम्मले, कामका सहकर्मी देखि नजिकै बस्ने छिमेकी मित्र सम्मले मात्र एउटा ‘चान्स’ खोजिरहेका हुन्छन । यी सबबाट बँच्न पनि म एउटा ‘ब्वाएफ्रेन्ड’ बनाउन चाहन्छु । हजुरको नजरमा कोही छ दादा मेरो जोडी मिल्ने ?!”

म अचम्म परें । उसको अनौठो आत्मविस्वास बिचमा कस्तो नमज्जा संग लाचारी प्रवेश गरेको ! आफू हिंसामा छु भन्ने ज्ञात उसलाई छ तर हिंसा बाट बँच्न भनी हिंसकलाई नै आफ्नो जीवनमा प्रवेश गराउन ऊ चाहिरहेकी छे । मैले सुस्तरी प्रतिप्रश्न गरें, “बैनी यो ब्वाएफ्रेन्ड बनाउने काम त आफै माथि प्रतिहिंसा भएन र ? शारीरिक,मानसिक,आर्थिक अनि सामाजिक रूपमा तिमी सन्तुष्ट हुन्छौ त यसरी ?”

ऊ रसिली भई आँखाबाट । रोई भने म के गरूँला ? म नाताको मानिस पनि हैन उसको ! ब्वाएफ्रेन्ड त झनै हैन । लेखक संग पात्र रोयो भने कथा कस्तो बन्ला ? म धेरै बेर मौन रहें । सन्नाटाले पात्रको आँशु परेला भित्रै दबाइदियो । ऊ फेरि बोल्न सुरु गरी-

“ब्वाए फ्रेन्डको कुरा त मजाक मजाकमा भनेको हुँ दा । पीर त मलाई परिवारले शंका गर्दा लाग्छ । हुन त त्यो शंका नभएर माया हो भन्छन उनीहरू । तर म शंका नै बुझ्छु । भाईले ‘फेसबुकमा यो राख र त्यो नराख’ भनेर आदेश दिन्छ । दिदीले लगाएको कपडामा कमेण्ट गर्छिन । खै किन हो बाबा त्यती राम्रो संग बोल्नुहुन्न । अरु त अरु संसारमा सबै भन्दा माया गरेकी मेरी आमाले पनि जहाँ गए पनि ‘भिडियो खोल’ भन्छिन ।

के लाग्छ उनीहरूलाई? म जहिलै कपडा खोलेर कसैसंग बसिरहेकी हुन्छु र भिडियो खोलेर देखाउनु पर्ने सधै ? ट्रेनमा हुन्छु,क्लासमा हुन्छु,कहिलेकाहिं कार्यक्रममा पनि हुन्छु,साथीभाईको जमघटमा हुन्छु । हरेक पल्ट मैले मेरो परीक्षा दिइरहनु जरुरी हुन्छ ? म मेरो शरीर,मेरा अंग अनि मेरो आत्मसम्मानको रक्षा गर्न आफ़ै सक्दिन होला त ? मेरो ठाउँमा भाई आएको भए मेरो ममीले पनि त्यस्तै भन्नुहुन्थ्यो होला त ? आफ्नो सुरक्षा गर्न सक्दिन भनेर शंका गर्छन कि चरित्रहीन हुने भनेकै महिला मात्रै हो भन्ने मानसिकता बोकेर शंका गर्छन मानिसहरू फिमेललाई दा ?!”

“तिमीलाई चिनेको धेरै त भाको छैन ! तर तिमीलाई तिम्रो काल्पनिक चरित्रको आधारमा नभई तिम्रो वास्तविक संघर्षको आधारमा मूल्याँकन गरिनु पर्छ भन्छु म चाहिं ! र जापानमा विद्यार्थी त्यसमा पनि महिलाको संघर्ष मैले प्रत्यक्ष आँखाले देखी पनि सकें । अझ म त भन्छु तिम्रो मूल्याँकन नै गरिनु हुँदैन । कोही कसैको लाइफको ‘जज’ हुनै सक्दैन संसारमा । कसैलाई हानी नपुर्याई तिमी तिम्रो तारिकाले खुसी हुन पाउनुपर्छ । र त्यसमा सामान्य चासो आफ्ना मान्छेको हुनुलाई स्वभाविक रूपमा तिमीले पनि लिनु पर्छ । जुन दिन तिमीलाई तिम्रो जीवनमा कसैले चासोको नाममा हिंसा गरिरहेको अनुभूत हुन्छ तिमीले विद्रोह पनि गर्नुपर्छ ।

विद्रोह मानिसले कसैलाई हराउन गर्दैन,आफैलाई जित्न गर्छ । आफ्ना डरहरूलाई जित्नको लागि गर्छ । आफ्ना रहरहरूलाई बाँच्नको लागि गर्छ । तिमीलाई सही वा गलत भन्ने दोश्रोको हैसियत हुँदैन । तिमी आफूले आफूलाई सही बनाउने हो र त्यसमा प्रतिवद्ध तिमी हुनु पर्छ । बा-आमा र परिवारलाई सामान्य चासो लागे पनि मानिसहरूलाई तिम्रो जीवनको बढी खसखस लाग्नु भनेको आरिस मात्र हो । जे उनीहरूले गर्न सकेनन त्यो तिमीले गर्यौ भन्ने उनीहरूको मनको कुन्ठा मात्र हो । संघर्षले खारिएकाहरू कसैका कुन्ठा संग डराउँदैनन । तिमी बाँच, आफ्नो जीवन आफ्नो खुसीले बाँच । तिम्रो खुसी देखेर दुःखी हुनेहरूको ठेक्का भगवानले लिन्छन !”

म यत्ति बोलें ।

“वाउ दा ! यू आर सो इन्सपाइरिङ ! मलाई मिल्ने ब्वाएफ्रेन्ड खोजिदिनुहुन्छ त त्यसो भए ?!”

“हे हे,,घुमाइफिराइ फेरि ब्वाएफ्रेन्डकै कुरा ? सबैलाई सप्पै कुरा मिलेको पार्टनर त संसारमा कसैले पनि पाउँदैन । तर कम्तिमा रहर र सपनाहरू बुझिदिने साथी चाहिं हुनु पर्छ । मायाको नाउँमा शंकै शंका गर्ने आफ्नाहरू भए भने पनि मानिसले कहिलै प्रगति गर्न सक्दैन । तिमीलाई मिल्ने, तिम्रो सोंच र उड़ानलाई छुन सक्ने ब्वाए फ्रेन्ड सायद हाम्रो ‘सोसाइटी’ले जन्माएको छैन होला बैनी । छ भने पनि धेरै कम जन्माएको होला र त्यो सजिलै भेटिंदैन । कुनै दिन भेटिएछ भने भाग्य, त्यो मानिसको प्रतीक्षा गर ! भेटिएन भने एक्लै बाँच ! म त तिम्रो एक्लो जीवन झन शानदार देख्छु त !”

नबोली बस्न नसक्ने ऊ त्यसपछि बोलिन । ऊ कहिले सम्म चुप लाग्ली…?!

✍️हेमन्त गिरी

facebook: https://www.facebook.com/shunyamanxe

Email: [email protected]