कांग्रेसको डरले फेरि वामगठबन्धनको तयारी: बादलसहितका सात नेताको दौडधुप - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

कांग्रेसको डरले फेरि वामगठबन्धनको तयारी: बादलसहितका सात नेताको दौडधुप



काठमाडौं- करीब दुईतिहाइ मत ल्याएर पनि सरकार चलाउन असमर्थ रहेको पहिलाको वाम गठबन्धन र त्यसपछिको नेकपाका नेताहरू पुनः गठबन्धन गर्न कस्सिएका छन् । आगामी चुनावमा एमालेलाई हार बेहोर्नुपर्ने विषयले सताउन थालेको छ भने कांग्रेसले चुनावमा गठबन्धन गर्न अस्वीकार गरेपछि आफ्नो राजनीतिक भविष्य जोगाउनुपर्ने निष्कर्षमा माओवादी र एकीकृत समाजवादीका नेताहरू पुगेका छन् ।

सत्तारूढ पाँच दलीय गठबन्धनले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा सरकार संचालनका लागि समन्वय समिति बनाएको छ । समितिका नेताहरूले चुनावी गठबन्धनको कुनै कुरा नभएको बरू सरकार संचालनमा सहमति जुटाउने उद्देश्यले समिति बनाइएको बताएका छन् । कम्युनिस्ट नेताहरूले चुनावसम्मै गठबन्धन गरेर जाने सहमति भइसकेको दाबी गरेतापनि कांग्रेसका नेताहरूबीच मतभेद देखिएको छ । कतिपय प्रभावशाली नेताहरूले कांग्रेस एक्लै चुनाव लड्ने बताइरहँदा गठबन्धनमा रहेका माओवादी, एकीकृत समाजवादी, जसपा र राजमो तर्सिएका छन् ।

कांग्रेसले चुनावी गठबन्धन गर्न अस्वीकार गरेको स्थितिमा आगामी आमनिर्वाचन एमाले भर्सेज कांग्रेस हुने प्रष्ट देखिएको छ । नेकपा तीन टुक्रामा विभाजित भइसकेको स्थितिमा कांग्रेसका लागि सहज परिस्थिति देखिएको छ भने कम्युनिस्ट नेताहरूलाई चुनाव हार्ने त्रासले सताएको छ ।

सत्तारूढ दलमध्ये कांग्रेसइतर अर्थात माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाबीच गठबन्धन भयो भने एमालेलाई पनि सहज हुने देखिन्न । कम्युनिस्टहरू आफैं लड्ने र एकले अर्काको भोट काट्ने परिस्थिति बन्दा कांग्रेसको बहुमत पक्का देखिन्छ । सत्ताबाट पाँच वर्ष विमुख हुनुपर्ने देखेर नै कम्युनिस्ट नेताहरू पुनः वाम गठबन्धनको सम्भावनालाई सकार्ने गरेका छन् ।

गठबन्धनका लागि एमालेबाट रामबहादुर थापा बादल र घनश्याम भुसाललगायतका नेता सक्रिय देखिएका छन् भने माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ सक्रिय बनेका छन् । त्यस्तै एकीकृत समाजवादीका तर्फबाट वेदुराम भुसाल आफैं अन्य नेताहरूसँग निरन्तर छलफलमा जुट्ने गरेका छन् ।

तर नेताहरूले पुनः वामगठबन्धन बनाउने विषयमा औपचारिक छलफल भएको स्वीकार्दैनन् । ‘चुनावमा धेरै प्रकारले तालमेल र गठबन्धन हुन सक्छ,’ एमालेका एक नेताले भने, ‘यसअघि गरिएको तालमेल र पार्टी एकता परिणामउन्मुख भएन । त्यो गल्तीबाट पाठ सिकेर नयाँ ढंगबाट अघि बढ्न सकिने सम्भावना कायमै छ । हामीबीच अनौपचारिक छलफल भएको छ । सम्भावनाको खोजी गरिरहेका छौं ।’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका शीर्ष नेताहरूले भने एकले अर्कालाई निषेध गरेको अवस्था छ । प्रचण्ड र एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरूले ओलीसँग पुनः तालमेल र एकता नहुने बताउने गरेका छन् भने ओली स्वयंले सार्वजनिक कार्यक्रममा प्रचण्ड र नेपालको खोइरो खन्ने गरेका छन् ।

शीर्ष नेताहरूबीच पानी बाराबार भएपनि दोस्रो तहका नेताहरू राजनीतिक भविष्यको खोजीमा डुल्न थालेका हुन् ।

गठबन्धन र पुनः वाम एकता गर्नुपर्छ भन्नेमा वामदेव गौतम पनि अग्रपंक्तिमा छन् । उनले पनि निरन्तर नेताहरूसँग अनौपचारिक छलफल गरिरहेका छन् । गौतमनिकट एक नेताले भने, ‘वामदेव कमरेड आफ्नो नेतृत्वमा नेकपालाई एक गर्न चाहनुहुन्छ । ओली र प्रचण्ड फेल भइसकेको भन्ने उहाँको बुझाइ हो । तीन दलका तीनवटै अध्यक्षले सक्रिय राजनीतिबाट विदा लिने, सल्लाहकारको भूमिका निभाउने हो भने वामदेव कमरेडको नेतृत्वमा पार्टी एक हुन सक्ने सम्भावना देखिन्छ ।’

पुनः गठबन्धन बनाएर कांग्रेससँग चुनाव लड्ने विषयमा एमालेका उपमहासचिव विष्णु पौडेल पनि सकारात्मक देखिन्छन् । उनले पनि प्रचण्ड र नेपाललगायत अन्य नेताहरूसँग संवाद टुट्न दिएका छैनन् । एमालेको महाधिवेशनपछि पुनः गठबन्धन हुन सक्ने परिस्थिति आउने पौडेलको बुझाइ छ ।

तत्कालीन नेकपामा पौडेलको भूमिका सहजकर्ताका रूपमा देखिएको थियो । उनी प्रचण्ड र ओली दुवैको रोजाईमा पर्थे । तर समयक्रममा उनले ओलीलाई साथ दिए । यद्यपि कम्युनिस्टलाई एकताबद्ध गरेर अघि जाँदा नै आफ्नो क्रेज माथि हुने उनले बुझेका छन् ।

स्रोतका अनुसार पुनः गठबन्धन गर्न सकिने विषयमा भइरहेका अनौपचारिक छलफल बारे ओली र प्रचण्डलाई थाहा छ । उनीहरू दुवैले ‘ल सम्भावना खोज्नुस्’ भनेपछि दोस्रो तहका नेताहरू छलफलमा जुट्न थालेका हुन् ।

पुनः वाम एकता गर्नुपर्ने जोड चीनले पनि दिएको छ । चिनियाँ राजदूत होउ यान्छीले नेताहरूसँगको भेटमा कम्युनिस्ट शक्ति एक हुनुपर्ने दबाब दिइरहेकी हुन्छिन् । चीनकै दबाबमा पनि कम्युनिस्टहरू पुनः एक हुनसक्ने सम्भावना रहेको कतिपय राजनीतिक विश्लेषकहरूको समेत बुझाइ छ ।