बालेन र रामकुमारीको प्रशंशा गर्दै गगनले भने: अब यी छ वटा काम गरौँ - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

बालेन र रामकुमारीको प्रशंशा गर्दै गगनले भने: अब यी छ वटा काम गरौँ



काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मेयर बालेन शाह र मन्त्री रामकुमारी झाक्री प्रशंशा गर्दै काठमाडौंको फोहोर व्यवस्थापन गर्न छ वटा काम तत्कालै गर्नुपर्ने बताएका छन्। काठमाडौंमा फोहोर उठ्न थालेकोमा मेयर शाह र सहरी विकास मन्त्री झाक्रीको निरन्तर पहलकदमी प्रशंसनीय भएको बताए।

अहिले फोहोर उठ्न थालेकोमा खुसी व्यक्त गर्दै महामन्त्री थापाले फोहोर संकट फेरि आउन नदिन सम्झौताअनुसार काम गर्न सुरू गर्नुपर्ने बताएका हुन्। करिब दुई साता काठमाडौंको फोहोर उठेको थिएन। स्थानीय बासिन्दासँग सम्झौता गरेपछि फोहोर उठ्न थालेको छ।

फेरि फोहोरको संकट आउन नदिन केही काम तत्काल र तदारूकताका साथ गर्नुपर्ने थापाले बताए। उनले बन्चरेडाँडाका स्थानीय बासिन्दासँग गरिएको सम्झौता कार्यान्वयन गर्नुपर्ने बताएका छन्।

‘शहरी विकास मन्त्रालयले बोलाएको छलफलमा सहभागी सिसडोल-बन्चरेडाँडा क्षेत्रका बासिन्दाहरूले भन्दै हुनुन्थ्यो, मन्त्रालयले गरेको पछिल्लो सम्झौता १७५औं सम्झौता हो। हरेक पटक संकट परे पछि यस्तो सम्झौता हुन्छ तर कार्यान्वयन हुँदैन। त्यसैले सम्झौता कार्यान्वयन नहुनेमा गहिरो आशंका व्याप्त छ। यो स्वभाविक संशयलाई यो पटक सम्झौता अक्षरस र भनेकै समय सीमा भित्र कार्यान्वयन गरेर चिर्नुपर्ने छ,’ उनले भने। सम्झौता गरिएअनुसार काम समयभित्रै गर्नुपर्ने उनले बताए।

‘यसको लागि संघीय सरकारले गर्ने भनि निर्दिष्ट गरिएको काम यसपटक एक ठाँउमा पनि नचुकी भनिएकै समय भित्र गर्न सहरी विकास मन्त्रालय को निरन्तर तदारुकता जरुरी छ,’ उनले भने, ‘सम्झौतामा लेखिएका केहि काम सहरी विकास मन्त्रालय भन्दा अन्य मन्त्रालयको क्षेत्राधिकार भित्र पर्छ। ती मन्त्रालयले समयमा काम सम्पन्न गराउन कतिपय अवस्थामा प्रधानमन्त्री कार्यालयकै पहलकदमी चाहिन्छ।’ उनले जग्गा अधिग्रहणजस्ता कामका लागि भने प्रधानमन्त्री कार्यालयकै पहलकदमी चाहिने बताएका छन्।

‘जग्गा अधिग्रहणको विषय यही आर्थिक वर्षमा टुङ्गाउन पर्छ। कानुन बमोजिम तोकिए पछि मानसिव क्षतिपूर्ति दिन, यही आर्थिक वर्षको बजेटमा पुग्दो रकम विनियोजनको व्यवस्था प्रधानमन्त्रीले गर्न लगाउनै पर्छ,’ उनले भने। उनले गर्ने भनिएका काम भए वा नभएकोबारे अनुगमन गर्ने समिति पनि बनाइनुपर्ने बताए।

‘संघीय सरकारको निश्चित समयभित्र गर्ने भनिएको कामको अनुगमन गर्न र आवश्यक पर्दा सहजिकरण समेत गर्न काठमाडौं, धादिङ र नुवाकोटका सांसदहरूको अनुगमन, सहजिकरण समिति प्रस्तावित गरेका छौं। यो समितिले हरेक हप्ता बैठक बसी सहमतिमा भएको प्रत्येक बुँदाको कार्यन्वयन भए नभएको अनुगमन गर्ने छौँ, कहिँ अप्ठ्यारो परेमा सहजीकरण गर्ने छौँ, काम नगर्ने निकायलाई झक्झकाएर काम गर्न बाध्य बनाउने छौँ। समस्या आएपछि तात्नेभन्दा समस्या नै आउन नदिने गरी काम गर्नु पर्ने छ,’ उनले भने। उनले फोहोर प्रभावित क्षेत्रका लागि काठमाडौं महानगरले गर्ने भनेको कामका लागि सबैले साथ दिनुपर्ने बताएका छन्।

‘काठमाडौं महानगरले फोहोर प्रभावित क्षेत्रको लागि गर्ने भनि निर्दिष्ट गरिएको काम समयभित्र सम्पन्न गर्ने नै छ। कतिपय विषय महानगरपालिकाको एकल क्षेत्राधिकार भन्दा बाहिरको विषय भएकाले अन्य सम्बन्धित निकायले महानगरलाई सम्पूर्ण साथ दिनुपर्छ,’ थापाले भने।

फोहोर पठाउने अरू पालिकाले पनि निरन्तर समन्वय गरी काम गर्नुपर्ने बताएका छन्। ‘फोहोर पठाउने अन्य सम्पूर्ण स्थानीय तहले पनि काठमाडौं महानगरसँग निरन्तर समन्वय गरेर काम गर्न आवश्यक छ,’ उनले भने। कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने पनि उनले बताए।

‘साउन १ गतेबाट स्रोतमै छुट्याइएको फोहोर मात्र महानगरले संकलन गर्ने भनेको छ। सम्पूर्ण महानगरवासीले साथ दिएर यो अभियानलाई सार्थक बनाउनु पर्छ,’ उनले भने, ‘सबै वडाहरूले किन्तुपरन्तु केही नभनी यो अभियानलाई सफल बनाउन असार महिना भरी आफ्नो वडाभित्र नगरवासीलाई सु-सुचित गर्नेलगायतको सम्पूर्ण तयारी गर्नुपर्छ।’

उनले आफ्नो जिम्मेवारीअनुसार सबैले काम गर्ने हो भने फेरि समस्या नआउने बताएका छन्। ‘यसरी हामी प्रत्येकले आजैबाट, अहिल्यैबाट आ-आफ्नो जिम्मामा परेका काम गर्दै गयौं भने फेरि १७६ औं पटक सम्झौता गर्नुपर्ने अवस्था आउँदैन, काठमाडौ फोहोरको संकटबाट मुक्त हुन्छ,’ उनले भने।