सत्ता गठबन्धनमा साझा उम्मेदवार आफ्नै श्रीमती, छोरी र छोरा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

सत्ता गठबन्धनमा साझा उम्मेदवार आफ्नै श्रीमती, छोरी र छोरा



काठमाडौं : ६ महानगरपालिकाको उम्मेदवारमा गठबन्धन गरेका सत्ता साझेदार दलरुहरुले तीन महानगरका तीन पदमा भने गठबन्धनमा निर्णायक भूमिका खेल्ने नेताका परिवारभित्रैबाट उम्मेदवार चयन गरेका छन् ।

६ महानगरमा प्रमुख र उपप्रमुख गरी १२ वटा पदको भागवण्डा गरेका सत्ता साझेदार दलका तर्फबाट सोमबार उम्मेदवारी दर्ता गरेकामध्ये काठमाडौं र भरतपुर महानगरपालिकाका मेयर र विराटनगर उपमहानगरपालिकाका उपमेयर गठबन्धनमा आबद्ध शीर्ष नेताहरुका पारिवारिक सदस्य हुन् ।

सत्ता गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकामा मेयरको उम्मेदवारी दिएकी कांग्रेस नेता सिर्जना सिंह राजनीतिमा त्यति सक्रिय नाम होइन । २०४६ यता सक्रिय राजनीतिमा सक्रिय नरहेकी सिंहले काठमाडौंजस्तो महत्वपूर्ण महानगरको मेयर पाउनुमा उनको श्रीमान समेत रहेका कांग्रेस नेता प्रकाशमान सिंहको भूमिका धेरै छ ।

कांग्रेस नेताहरुका अनुसार पार्टीको १४ औं महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गरेका सिंह पराजित भएपछि दोस्रो चरणमा शेरबहादुर देउवालाई समर्थन गरेका थिए । स्थानीय तह निर्वाचनका बेला देउवाले पार्टी महाधिवेशनमा सिंहले गरेको सहयोगको गुन तिरेका छन् ।

कांग्रेसका जिल्लास्तरीय नेताहरुको विरोधका बाबजुद गठबन्धनका शीर्ष नेताको सहमतिबाट भरतपुर महानगरपलिकाको मेयरको उम्मेदवार भएकी रेनु दाहाल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी हुन् ।

नेताकै छोरी भए पनि माओवादीले सशस्त्र संघर्ष सुरु गरेदेखि नै सक्रिय राजनीतिमा छिन् । यद्यपि प्रचण्डले माओवादी केन्द्रका लागि भन्दा पनि छोरी रेनुका लागि बार्गेनिङ गरेको भन्दै उनको आलोचना हुँदै आएको छ ।

स्थानीय तहका प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिँदा दुई मध्ये एक महिला हुनैपर्ने संवैधानिक मान्यतालाई समेत बेवास्ता गर्दै गठबन्धनका तर्फबाट विराटनगरमा दुबै पदमा पुरुष उम्मेदवार भएका छन् । तीमध्ये उपमेयरमा उम्मेदवारी दिएका अमरेन्द्र यादव जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवका छोरा हुन् ।

उनले लामो समयदेखि उपेन्द्र यादवकै सचिवालयमा बसेर काम गर्दै आएका छन् । उपेन्द्र यादवले आफ्ना छोरा अमरेन्द्रलाई उम्मेदवार बनाउनकै लागि विराटनगर आफैंले पाउनुपर्ने अडान गठबन्धनमा छोडेका थिएनन् । भागवण्डामा विराटनगरको उपमेयर गठबन्धनका तर्फबाट जसपाको भागमा परेपछि अमरेन्द्रले नै पाउने निश्चितजस्तै भएको थियो ।

यही बुझेर यसअघि ०७४ को चुनावमा जसपाका तर्फबाट मेयरमा प्रतिस्पर्धा गरेका र तेस्रो लोकप्रिय मत ल्याएका उमेश यादवले तीन दिनअघिमात्रै पार्टी छोडेका थिए । यादवले ०७४ को स्थानीय चुनावमा १४ हजार ९५८ मत ल्याएका थिए । उनले आइतबार नै स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दिएका छन् ।