गौतम भन्छन: ‘जनताको जनवाद’मा मेरो असहमति छ - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

गौतम भन्छन: ‘जनताको जनवाद’मा मेरो असहमति छ



काठमाडौँ– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ का नेता बामदेव गौतमले ‘जनताको जनवाद’ आफ्नो असहमति रहेको बताएका छन्। आफ्नो पार्टीले दस्तावेजमार्फत अघि सारेको ‘जनताको जनवाद’ विरुद्ध निरन्तर आवाज उठाउने उनले बताएका हुन्।

शनिबार राजधानीमा आयोजित ‘विश्व व्यवस्था र चीन : नेपालमा समाजजवादको सम्भाव्यता’ शीर्षकको बहसमा डा. खगेन्द्र प्रसाँईले प्रस्तुत गरेको कार्यपत्रमाथि टिप्पणी गर्दै गौतमले जनताको जनवादले समाजवादलाई नोक्सान पुर्याउने बताएका छन्।

गौतमले जनताको जनवादको नाममा पूँजीवाद निर्माण गर्ने उद्देश्य आफ्नो पार्टीभित्र छिरेको र त्यसलाई आधिकारिक मान्नु दुःखद भएको भन्दै त्यसका विरुद्धमा आफूले निरन्तर संघर्ष गर्ने बताएका हुन्।

उनले भने,‘ पूँजीवादले ६० प्रतिशत र ४० प्रतिशत समाजवादतर्फ छन्। विज्ञान र प्रविधिको विकासले नेपालसँगै सबै मुलुकमा वर्ग संरचनामा परिवर्तन आएको छ। अहिले मजदुर खोज्न र उसले आन्दोलन गर्छ कि गर्दैन भन्ने खेज्न संभव छैन। अमेरिका या नेपालमा ९० प्रतिशत श्रमजीवीलाई प्रभावित पारेको छ।’

गौतमले भने,‘ जनताको जनवादलाई पुँजीवाद निर्माण गर्न पार्टीभित्र राखिएको छ र त्यो आधिकारिक विषय मानिएको छ । तर म त्यसमा फरक मत राख्छु । अहिलेको प्रतिवेदनमा पनि मेरो फरक मत छ । पार्टीको विधानमा पनि मेरो फरक मत छ । त्यसको विपक्षमा कार्यक्रम पनि अघि सारेको छु । मेरो प्रतिवेदन पनि छुट्टै छ । र पार्टी कस्तो हुनुपर्छ भन्नेमा मेरो आफ्नै मत छ । मेरो मान्यता र धारणा समयक्रममा छलफल हुनेछन् । मैले सम्पूर्ण मात्रामा दस्ताबेज अघि सारेको जानकारी गराउन चाहन्छु।’

गौतमले त्योसँगै पार्टी र सरकार नेतृत्वले उद्देश्य अनुसार काम गर्न नसकेको भन्दै असन्तुष्टि देखाएर ओलीसँग आफूले दूरी बढाएको संकेत गरेका थिए। तर पछिल्लो समय पार्टीमा आफूले उपाध्यक्षको हैसियत प्राप्त गर्ने पार्टी सचिवालय बैठकको निर्णय र राष्ट्रियसभा सदस्यको रुपमा जान पाउने ओलीको आश्वासनपछि ओलीसँग नजिकिएको चर्चा चलिरहेका बेला गौतमले आफ्नो पूर्वमान्यता र अडान अघि सारेका छन्।

गौतमले संसारभर समाजवादको उन्मुलन हुँदै गएकाे बेला नेपालमा त्यसले सफलता पाउने जिकिर गरे। नेपालमा आगामी पाँच वर्षसम्ममा आधारभूत समाजवाद निर्माण गर्न सकिने, अर्को पाँच वर्षमा चीन जहाँ पुगेको छ त्यहाँ पुग्न सक्ने र १५ देखि २० वर्ष भित्रमा समृद्धिको बाटोतर्फ नेपाल जाने उनले दाबी गरे।

उनले भने,‘ साम्यवाद रुपान्तरणको चरणसम्म समाजवाद जानेछ । त्यो समाजवाद नेपाल आफैले निर्माण गर्न लागेको छ । त्यसको ग्यारेन्टी मेरो पार्टीले लिनु पर्छ। र त्यो बाटोमा हाम्रो पार्टी जानु पर्छ । त्यसैका आधारमा भोट पाएका छौँ र मुलुककै ठूलो पार्टी निर्माण भएको छ ।’