घनश्यामलाई कारबाही गर्ने एमालेको अन्तिम तयारी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

घनश्यामलाई कारबाही गर्ने एमालेको अन्तिम तयारी



काठमाडौँ– नेकपा एमालेले नेता घनश्याम भुसाललाई कारबाही गर्ने अन्तिम तयारी गरेको छ । भुसाललाई कारबाही गर्ने एजेण्डासहित एमालेले सचिवालय बैठक जेठ ३० गते बोलाएको छ ।

दिउँसो १ बजे बैठक पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बस्ने पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । बैठकमा मुख्यगरी स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई कारबाहीको विषयमा केन्द्रित हुनेछ । यसबाहेक बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, आउँदै गरेको संघीय निर्वाचन र पार्टीको आगामी कार्ययोजनालगायतका विषयमा पनि छलफल हुनेछ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध भुसालले आलोचनात्मक अभिव्यक्ति दिएको भन्दै गत बुधबार अनुशासन आयोगका अध्यक्ष केशव बडालको अध्यक्षतामा बैठक बसेको थियो ।

अनुशासन आयोगले सोझै कारबाही गर्न नमिल्ने भएपछि कारबाही सिफारिस पत्र एमाले सचिवालयमा पुगेको छ । भुसाललाई कारबाही गर्ने वा नगर्ने भन्ने निर्णय सोमबार बस्ने सचिवालय बैठकले गर्नेछ । भुसालले अध्यक्ष ओलीको कार्यशैलीकै कारण स्थानीय निर्वाचनमा पार्टीले पराजय बेहोरेको बताउँदै आएका छन् ।

उनले केही तीन साताअघि एक टेलिभिजन अन्तर्वार्तामा पनि ओलीको कार्यशैलीको कडा आलोचना गरेका थिए । उक्त अन्तर्वार्तापछि ओलीले भुसाललाई कारबाही गर्न निर्देशन दिएको बताइन्छ ।