ज्ञानेन्द्रको यो दौडधुप परिवर्तन उल्टाउने प्रयास : प्रचण्ड - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

ज्ञानेन्द्रको यो दौडधुप परिवर्तन उल्टाउने प्रयास : प्रचण्ड



२७ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तन उल्टाउने षड्यन्त्र भइरहेको दाबी गरेका छन् ।

पार्टीको गोप्य प्रशिक्षणमा माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले पूर्वराजाको विदेश दौडाह र संविधान संशोधनविरुद्ध भइरहेको आन्दोलनलाई यो षड्यन्त्रसँग जोडेर विश्लेषण गरे ।

राजधानीमा भएको माओवादीको ३ नम्बर प्रदेशको भेला तथा प्रशिक्षणमा प्रधानमन्त्री प्रचण्डले भने, ‘माओवादीहरु एक भएर जनतामा नजाने हो भने परिवर्तन उल्टने खतरा छ ।’

उनले अघि भने, ‘हिजो राजा महाराजाहरु सिंगापुर, दिल्ली बेइजिङ त्यसै गएका छैनन् ।’

धेरै कुरा भन्न नमिल्ने भन्दै उनले भने, ‘म यो माओवादी अध्यक्षको हैसियतमा मात्र भनिरहेको छैन, प्रधानमन्त्रीको हैसियतले जे जति सूचना प्राप्त छन्, त्यस आधारमा भन्दैछु ।’

पूर्व राजा ज्ञानेन्द्र शाहले हालैमात्र भारतका साथै चीन र सिंगापुरको भ्रमण गरेका थिए । ज्ञानेन्द्रले चिनियाँ नेतासँग भेटेको तस्वीर हालै मात्र सार्वजनिक भएको थियो ।

भेलामा सहभागी एक नेताका अनुसार ज्ञानेन्द्रको यो दौडधुप परिवर्तन उल्टाउने प्रयास भएको प्रचण्डको विश्लेषण थियो ।
‘राष्ट्रवादको खोलमा वितण्डा मच्चाउने खेल’

माओवादी अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै हिजो गणतन्त्र आउन सक्दैन भन्नेहरुले अहिले राष्ट्रवादको खोलमा वितण्डा मच्चाउने खेल त्यसै नगरेको बताए ।

उनले एमालेले थालेको आन्दोलनलाई पनि संघीयता, गणतन्त्रसहितका उपलब्धिहरु खोस्ने प्रयासका रुपमा ब्याख्या गरेका छन् । ‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी जस्ता उपलब्धी खोस्न प्रतिगामी शक्तिले टाउको उठाउन थालेको छ,’ प्रचण्डले भने, ‘हामी माओवादीहरु एक नहुने हो भने प्राप्त उपलब्धिहरु गुम्न सक्छन् । हामी समयमै सचेत हुनुपर्छ ।’

गणतन्त्र र संघीयता आफूहरुले लडेर ल्याएको भन्दै उनले त्यसलाई जोगाउन पनि माओवादी नै अग्रसर हुनुपर्ने बताए ।

प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डले आगामी वैशाखमा चुनाव हुने भन्दै तयारीमा जुट्न निर्देशन दिए । ‘चुनाव हुन्न कि भन्ने भ्रममा नबस्नुस् । वैशाख पहिलो वा दोस्रो साता चुनाव हुन्छ,’ सरकार चुनावको मिति घोषणाको तयारीमा रहेको भन्दै उनले भने ।