गृहको सिफारिसमा प्रचण्डपुत्र प्रकाशले किने २२ बोर बन्दुक,आखिर किन ? - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

गृहको सिफारिसमा प्रचण्डपुत्र प्रकाशले किने २२ बोर बन्दुक,आखिर किन ?



काठमाडौं, फागुन २६

रेसम फिरिरि, रेसम फिरिरि

उडेर जाऊँ कि डाँडामा भञ्ज्याङ रेसम फिरिरि …!

गायक तीर्थबहादुर गन्धर्वले गाएको यो लोकगीत नेपाली जनजिब्रोमा निकै लोकप्रिय नै छ।

एक नाले बन्दुक दुई नाले बन्दुक मृगलाई ताकेको

मृगलाई मैले ताकेको हैन मायालाई डाकेको …!

गीतले पनि एक नाले वा दुई नाले बन्दुक सिकारीका लागि हो कि अर्थ्याउन खोजेको छ। आधुनिक नेपालमा एक नाले दुई नाले बन्दुक हराउँदै पनि गएका छन्। किनभने कानुनले वन्यजन्तु सिकार गर्नेलाई कडा कारबाही गर्न थालेपछि यो बन्दुकको औचित्य हराउँदै गएको सुरक्षा अधिकारीहरू बताउँछन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल पुत्र प्रकाश कहिले कुन कहिले कुन प्रसंगमा चर्चामा आइरहने पात्र हुन्। हिजोआज हतियार खरिद प्रसंगले प्रकाश चर्चामा छन्।

मृगलाई ताक्न हो कि मायालाई डाक्न हो, प्रकाशको हतियार बोक्ने चाहना आफ्ना पिताको प्रधानमन्त्रीकालमा बिहीबार साकार भएको छ।

प्रकाशले २२ बोर हतियार हालसालै इटालीबाट खरिद गरेका छन्। ‘व्यक्तिगत सुरक्षाका लागि’ उनले यो हतियार खरिद गरेको खुलाएका छन्। काठमाडौं जिल्ला प्रशासनले बिहीबार प्रधानमन्त्री पुत्रलाई २२ बोर हतियार बोक्न इजाजत दिएको छ।

काठमाडौं प्रशासनमा प्रकाशले हतियारको लाइसेन्स लिन प्रधानमन्त्रीको सचिवालयका उप-सचिव झंक ढकाललाई पठाएका थिए। प्रकाश प्रधानमन्त्रीका स्वकीय सचिव हुन्।

प्रधानमन्त्री दाहाल सधैं सुरक्षाको बाक्लो पहरामा हिँड्छन्। डिएसपीको नेतृत्वमा रहेको प्रहरीले दाहालको सुरक्षा गर्छ। अझ प्रधानमन्त्री भएपछि उनको सुरक्षा पहरा मजबुत पारिएको छ। नेपाल र सशस्त्र प्रहरीको बलियो सुरक्षा हुँदाहुँदै प्रकाशले व्यक्तिगत नाममा हतियार बोक्न चाहेका छन्।

खासमा प्रकाश भनिए पनि उनको असली नाम भने साकार रहेछ। काठमाडौं जिल्ला प्रशासन कार्यालय स्रोतका अनुसार बिहीबार हतियारको लाइसेन्स बनेको ‘साकार दाहाल’को नाममा हो। ‘काठमाडौं महानगरपालिका वडा नम्बर ३२ बस्ने पुष्पकमल दाहालको छोरा ३२ वर्षीय साकार दाहालले व्यक्तिगत सुरक्षाका लागि हतियार माग गरेको र गृह मन्त्रालयको स्वीकृति रहेकाले इजाजत दिइएको छ,’ प्रशासन स्रोतले भन्यो।

स्रोतका अनुसार शक्तिबहादुर बस्नेत गृहमन्त्री भएको दुई महिनामै प्रकाशले हतियार माग्दै काठमाडौं प्रशासनमा आवेदन दिएका हुन्। हातहतियार खरिदमा गृहले कडाइ गरेकाले उनको हतियार बोक्ने चाहना भने सजिलै पूरा भएन। कानुनले ९ एमएमभन्दा मुनिको हतियार सरकारबाहेक अरूलाई राख्ने अनुमति दिँदैन।

स्रोतका अनुसार सुरूमा उनले पेस्तोल नै माग गरेका थिए। तर, पेस्तोल आयात गर्न कडाइ रहेकाले २२ बोर हतियारका लागि प्रकाशले निवेदन दिए। गृह मन्त्रालयले गत असार १ गते उनको निवेदन स्वीकृत गरेको थियो।

दाहालले १२ बोर बन्दुक, त्यसको टोटा एक सय वटा र २२ बोर बन्दुक, त्यसको दुई सय वटा टोटा माग्दै निवेदन दिएका थिए। त्यसमध्ये २२ बोर बन्दुक र दुई सय टोटा गृहले स्वीकृत गरेको थियो।

इटालीबाट खरिद गरेको २२ बोर बन्दुक र दुई सय टोटा बन्दुक राख्न बिहीबार प्रशासनले प्रकाशलाई इजाजत दिएको हो। प्रशासनका अनुसार यस्तो हतियार हात-हतियार खरखजना ऐनले इजाजत लिएर राख्न पाउने अधिकार सर्वसाधारणलाई पनि दिएको छ।

१२ र २२ बोर बन्दुकको टोटा नेपाली सेनासँग मात्रै रहेको बुझिन्छ। सेनाले इजाजतप्राप्त व्यक्तिलाई टोटा बिक्री गर्छ। १२ वा २२ बोर बन्दुक नेपालमा सुरक्षाकर्मीले प्रयोग गर्दैनन्। यो बन्दुकमा गोली लाग्दैन। टोटामा छर्रा हुन्छ, छर्राले वन्यजन्तु सिकार गर्न सजिलो हुन्छ। ‘नेपालमा अहिले वन्यजन्तुको सिकार गर्न नपाइने भएकाले यो हतियारको काम छैन, व्यक्तिगत सुरक्षामा यत्रो हतियारको महत्व पनि रहँदैन,’ प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो।

यो हतियारको क्षति भने अन्य हतियारको भन्दा बढी छ। ‘यो बन्दुकको टोटाको छर्रा व्यापक फैलिन्छ। त्यसैले पनि सुरक्षाकर्मीलाई यो हतियार प्रयोग गर्न दिइँदैन,’ प्रधान कार्यालय स्रोतले भन्यो, ‘व्यक्तिगत सुरक्षामा यत्रो बन्दुक काम लाग्दैन।’

गृह प्रवक्ता बालकृष्ण पन्थीका अनुसार अन्य हतियार खरिद गर्न कानुनले कडाइ गरेकाले अहिले १२ र २२ बोर बन्दुकलाई इजाजत दिइएको छ। ‘व्यक्तिगत सुरक्षाका लागि कसैले हतियार मागे आवश्यकता बुझेर १२ र २२ बोर हतियारको अनुमति दिइन्छ,’ पन्थीले शुभदिनलाई भने।

शक्तिबहादुर बस्नेत गृहमन्त्री हुँदा काठमाडौंमा रामकृष्ण सुवेदी सिडिओ थिए। उनीमार्फत प्रकाशले हतियार खरिदमा अनुकूलता खोजेका थिए। तर, कसको पालामा प्रकाशलाई हतियार दिलाउने सिफारिस दिइयो खुलेको छैन।

हतियार राख्न पाउने इजाजत दिने निर्णय जिल्ला प्रशासन कार्यालय र गृह मन्त्रालयले गर्छ। हतियार राख्न चाहने व्यक्तिले कारणसहित निवेदन दिनुपर्ने नियम छ। निवेदनमा नागरिकताको प्रतिलिपि, प्रहरीले असल प्रमाणित गरेको चालचलन प्रतिवेदन, मेडिकल डाक्टरबाट प्रमाणित गरिएको निरोगिताको प्रमाणपत्र र जिल्ला प्रशासन कार्यालयले तयार पारेको ढाँचामा विवरण भरी पेस गर्नुपर्छ। यसपछि जिल्ला सुरक्षा समितिले हतियारको इजाजत लिन चाहने पात्रको पृष्ठभूमि, सुरक्षा चुनौती विषयमा अध्ययन गरेर आवेदन स्वीकृत गर्ने नगर्ने निर्णय गर्छ।’

जिल्ला सुरक्षा समितिको अध्यक्ष प्रमुख जिल्ला अधिकारी हुन्छन्। नेपाली सेनाको स्थानीय प्रमुख, जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरीको स्थानीय प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका जिल्लास्थित कार्यालयका प्रमुख सदस्य हुन्छन्। सहायक प्रमुख जिल्ला अधिकारी सदस्यसचिव हुन्छन्। यी सबै रहेको जिल्ला सुरक्षा समितिले उपयुक्त देखेमा इजाजतका निम्ति गृह मन्त्रालयमा स्वीकृतिका लागि निर्णय पठाउँछ।

काठमाडौं सिडिओ निकट स्रोतका अनुसार कानुनी रुपमा आएको सिफारिस अनुसार सर्वसाधारणले हतियारको लाइसेन्स प्राप्त गर्न सकिने प्रावधान छ। ‘हतियारको इजाजत हामीले दिएका हौं, यो पहिले नै निर्णय भई स्वीकृत भइसकेको विषय रहेकाले हामीले इजाजत रोक्नुपर्ने कारण देखेनौं,’ प्रजिअ निकट स्रोतले भन्यो।

शुभदिनबाट साभार