घोडाघोडीको गुरुयोजना निर्माणका लागि नमुना प्रतिवेदन तयार - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

घोडाघोडीको गुरुयोजना निर्माणका लागि नमुना प्रतिवेदन तयार



विशाल पाण्डेय / घोडाघोडी ।
विश्व रामसार सुचिमा सुचिकृत कैलालीको घोडाघोडी ताल क्षेत्रको विकासको लागि वृहत् गुरुयोजना तीब्र गतिमा निर्माण भइरहेको छ । बृहत् घोडाघोडी ताल तथा पर्यटन विकास बोर्डको आयोजनामा बिहीबार सम्पन्न भएको घोडाघोडी ताल क्षेत्रको पर्यटन विकास गुरुयोजना तर्जुमा विषयक कार्यशाला गोष्ठी कार्यक्रममा घोडाघोडी ताल क्षेत्रको गुरुयोजना तीब्र गतिमा निर्माण गरिरहेको घोडाघोडी पर्यटन बोर्डले जानकारी दिएको हो ।

कार्यक्रममा घोडाघोडी नगरपालिकाका नगर प्रमुख तथा बृहत् घोडाघोडी ताल तथा पर्यटन विकास बोर्डका अध्यक्ष ममता प्रसाद चौधरीले गुरुयोजना निर्माणको लागि प्रतिवेदनको नमुना तयार गरिएको बताए । उनले गुरुयोजना निर्माणका लागि स्थानीय बासिन्दाहरुको सल्लाह सुझावको आवश्यकता रहेको हुनाले गुरुयोजनाको लागि सबैसंग छलफल कार्यक्रम गरिएको जानकारी दिए । उनले भने, ” घोडाघोडी ताल क्षेत्रमा पर्यटकिय सम्भावना ठुलो रहेकोले यहाँका सम्भावनाहरुको पहिचान गरि पर्यटन प्रवर्द्धनको लागी स्थानीय , बुद्धिजीवी ,संघ संस्था , सामुदायिक बन ,इको क्लब ,बाल क्लब , किसान लगायतका सबै व्यक्ती तथा संस्थाहरुसंग पटकपटक छलफल र सुझाव लिएर आएको सुझावलाई गुरुयोजनामा समावेश गरिने छ ।”

घोडाघोडी तालको संरक्षण तथा पर्यटनलाई असर नपर्ने गरि कम्तीमा १० बर्षसम्मको लागि काम गर्ने गुरुयोजना आउदो फागुनको अन्तिमसम्ममा निर्माण गर्ने तयारी भइरहेको बताउदै नगर प्रमुख चौधरीले नेपालको सबभन्दा ठूलो चुरे पहाड कैलालीमा पर्ने हुँदा सबैसँग छ्लफल गरि चुरे क्षेत्रबाट प्याराग्लाइडिङको सम्भाव्यता रहेकोे हुँदा विज्ञ टोलिले अध्ययन गरिरहेकोे बताए । उनले नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन सबै लाग्नुपर्ने भन्दै आग्रह समेत गरे ।

कार्यक्रममा वृहत घोडाघोडी ताल तथा पर्यटन विकास वोर्डका उपाध्यक्ष दयाराम चौधरीले घोडाघोडी ताल क्षेत्रमा भएका विभिन्न सम्भावनाहरुलाई विज्ञ टोलिले अध्ययन गरिरहेको बताए । उपाध्यक्ष चौधरीले घोडाघोडी ताल क्षेत्रको पर्यटन विकासका लागि ३ चरणमा गुरु योजना विभाजन गरिएको जानकारी दिए । उपाध्यक्ष चौधरीले गुरुयोजनाको ढाचा समेत प्रस्तुत गरेका थिए । जस अन्तरगत घोडाघोडी ताल क्षेत्रको पृष्ठभूमि तथा परिचय , दीर्घकालीन सोच ,ध्यय ,लक्ष्य , नगरपालिकाको परिचय ,सामाजिक र आर्थिक स्थिति ,राज्यश्व संकलन प्रावधान तथा नीति लगायतका ढाचाहरु गुरुयोजनामा समावेश गरिएको चौधरीले सहभागीहरुलाई जानकारी दिएका थिए ।

कार्यक्रममा सार्वजनिक गरिएको प्रतिवेदनमा घोडाघोडी ताल क्षेत्रको सिमाना , अतिक्रम गरि बसोबास गर्दै आइरहेका बस्तीको व्यवस्थापन, मन्दिर क्षेत्रको व्यवस्थापन लगायतका विषयमा ६ ओटा टोली बनाएर सहभागीहरुसंग सुझाबहरु संकलन समेत गरीएको थियो । सहभागीहरुसंग आएका नयाँ सुझावहरुलाई संकलन गरि गुरुयोजनाको प्रतिवेदनमा समावेश गरिने विज्ञ टोलिका सदस्य डाक्टर राम बहादुर चौधरीले जानकारी दिए ।