घोडाघोडीका उत्कृष्ट १२ जना कृषक सम्मानित - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

घोडाघोडीका उत्कृष्ट १२ जना कृषक सम्मानित



विशाल पाण्डेय/कैलाली –
घोडाघोडी नगरपालिकाले नगरका उत्कृष्ट १२ जना कृषकहरुलाई सम्मान गरेको छ । घोडाघोडी नगरपालिकाले प्रत्येक वडाका १/१ जना गरी १२ वटै वडाका १२ जना उत्कृष्ट कृषकहरुलाई बिहीबार एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको हो ।

उत्कृष्ट कृषकलाई पुरष्कृत गर्ने नीति बमोजिम तरकारी खेती, तोरी बाली, चैते धान, खाद्यान्न, केरा खेती , फलफुल र आलु उत्पादन खेतीमा संलग्न कृषकहरुलाई सम्मान गरिएकोे कृषि शाखा प्रमुख जनक सिंह धामीले बताए ।

नगरबाट सम्मानित हुनेमा तरकारी बालीमा टेक बहादुर मगर, लौघर डगौंरा, सत्य नारायण चौधरी, राम लाल चौधरी रहेका छन् । त्यस्तै खाद्यन्न बालीमा माहा सिंह बुढा, दुत राम चौधरी, प्रेम लाल चौधरी, तोरी बालीमा बलिराम डगौँरा, केरा बालीमा भुपेन्द्र बहादुर महत, फलफूल बालीमा भुवन जंग शाह र आलु बालीमा लाजुराम चौधरी रहेका छन् । उनीहरुलाई घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीले ६ हजार नगदसहित दोसल्ला र प्रमाणपत्रले सम्मान गरेका हुन् ।

आफुहरुको पेसाको उच्च मुल्याङ्क गर्दै किसानको प्रोत्साहनको लागी सम्मान गरिएको भन्दै वडा नं १ का उत्कृष्ट कृषक टेक बहादुर मगरले खुसी व्यक्त गरे । उनले बिचौलियाहरुले गर्दा कृषकहरु मारमा परेको हुँदा बजार ब्यवस्थापनमा ध्यान दिन नगरपालिकालाई सुझाव समेत दिएका छन् । यस्तै घोडाघोडि नगरपालिका- ४ का कृषक माहासिंह बुढाले किसानको हौसला बढाउनको लागि नगरपालिकाले गरेको सम्मान प्रती खुशी व्यक्त गरे ।

कृषि क्षेत्रमा आत्मनिर्भर गराउनको लागि किसानलाई प्रोत्साहन स्वरुप सम्मान गरिएको नगर प्रमुख ममता प्रसाद चौधरीले बताए । उनले परम्परागत कृषि पेशालाई व्यवसायिक र आधुनिकीकरणतर्फ विकास गराउनको लागि आगामी बर्षको लागि कृषिलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिए ।

चौधरीले कृषिलाई आधुनिकरण र विकास गर्नको लागि कृषिमा यान्त्रिकिकरण र सिचाइको प्रवन्ध मिलाउने जानकारी दिए ।