गुजरात र हिमाचलमा बढारियो आम आदमी पार्टी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

गुजरात र हिमाचलमा बढारियो आम आदमी पार्टी



भारतको गुजरातमा भारतीय जनता पार्टी (भाजपा) र हिमाचल राज्यमा कांग्रेसले बहुमत प्राप्त गरेका छन्।

भारतीय सञ्चार माध्यमका अनुसार, बिहीबार अपराह्न सम्पन्न मतगणनामा प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातमा भाजपाले अत्यधिक बहुमत प्राप्त गरेको छ। गुजरातको १८२ सदस्यीय विधान सभामा भाजपाले १५६ सीट जितेको छ। यसअघि सन् २०१७ भएको चुनावभन्दा अहिले ५७ सीट बढी जितेको हो। सरकार बनाउन ९२ सीट चाहिन्छ।

आम आदमी पार्टी (आप) पनि प्रतिस्पर्धामा रहेको गुजरातमा कांग्रेसले नराम्रो हार बेहोर्नुपरेको छ। कांग्रेसले १७ सीट मात्रै जितेको छ। जबकि, गत निर्वाचनमा ७७ सीट जितेको थियो।

त्यस्तै, जोडतोडले चुनावी प्रचार गरेको अरविन्द केजरीवाल नेतृत्वको आपले पनि राम्रो नतीजा ल्याउन सकेन। आपले पाँच सीट मात्रै जितेको छ। अन्य दलले चार सीट जितेका छन्। गुजरातमा लामो समयदेखि भाजपाले शासन गर्दै आएको छ।

त्यस्तै, हिमाचलमा भने भाजपाले हार बेहोर्नुपरेको छ। कांग्रेसले सरकार गठन गर्न बहुमत प्राप्त गरेको छ।

हिमाचलको ६८ सदस्यीय विधानसभामा ४० सीट जितेको छ। सरकार गठनका लागि ३५ सीट आवश्यक पर्छ। कांग्रेसले गत निर्वाचनभन्दा १९ सीट बढी जितेको हो।

सरकारमा रहेको भाजपाले २५ सीट मात्रै जितेको छ। गत निर्वाचनमा जितेको १९ सीट गुमाएको छ। अन्य पार्टीले तीन सीट मात्रै जितेका छन्।