काठमाडौंमै भेटियो 'स्वाइन फ्लु र हङकङ फ्लु': सुरक्षित रहन आग्रह - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

काठमाडौंमै भेटियो ‘स्वाइन फ्लु र हङकङ फ्लु’: सुरक्षित रहन आग्रह



काठमाण्डाै-शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचारका लागि पुगेका १५ वर्षीय एक किशोरमा इन्फ्लुएन्जा ‘ए’ भेटिएको छ। उनलाई स्वाइन फ्लु र हङकङ फ्लुमध्ये एउटा भएको डाक्टरले बताएका छन ।

काठमाण्डाैमा स्वाइन फ्लु र हङकङ फ्लु सार्ने इन्फ्लुएन्जा ‘ए’ को सङ्क्रमण भेटिएको छ ।

डाक्टरले भने ‘स्वाइन फ्लु र हङकङ फ्लुमध्ये एउटा भएको भए पनि यीमध्ये कुन चाहिँ फ्लु भएकाे हाे भन्ने टुङ्गो लाग्न बाँकी छ । परीक्षणको थप रिपोर्ट आएपछि यो पनि थाहा हुनेछ ।’

स्वाइन फ्लु ‘एन वन एच वन’ विषाणुका कारण हुने गर्छ । स्वाइन फ्लु लागेमा ज्वरो आउने, खोकी लाग्ने, नाकबाट पानी बग्ने, श्वास फेर्न गाह्रो हुने, घाँटी, शरीर तथा टाउको दुख्ने, काँप्ने, अल्छी लाग्ने, कसैकसैलाई झाडापखाला र बान्ता हुने, अन्त्यमा रोग कडा हुँदै शरीरको प्रतिरक्षा शक्ति कमजोर भइ निमोनिया भएर बिरामीको ज्यानै जानसक्ने डाक्टर बताउँछन ।

यो रोग सुँगुरबाट मानिसमा र मानिसबाट मानिसमा सर्ने तर मासु पकाएर खाँदा भने नसर्ने उनले बताए । यो रोग मानिसमा लक्षण देखाउनुभन्दा एक दिन अगाडिबाट सात दिनसम्म सार्न सक्ने डाक्टरको भनाइ छ । स्वाइन फ्लु र हङकङ फ्लु सर्ने भएकाले बिरामीको स्याहार गर्नेले पनि सावधानी अपनाउनुपर्ने हुन्छ ।

यस्तै खोक्दा या हाच्छियुँ गर्दा नाक र मुख सफा रुमाल, कपडा वा पाखुराले छोप्ने, सही तरिकाले साबुनपानीले हातमुख धुने, हात नमिलाउने तर नमस्कर गर्ने, संक्रमित व्यक्तिसँगको दुरी कम्तीमा एक मिटर कायम राख्ने गर्नाले पनि बच्न सकिने डाक्टरले बताएका छन् ।

अहिले मौसमी रुघाखोकी र फ्लुका बिरामी बढेकाले सावधानी अपनाउन पनि डाक्टरले आग्रह गरेका छन् । मौसमी रुघाखोकी र फ्लुकाे लक्षण उस्तै भए पनि फ्लु लागेका बिरामीले डाक्टरको सल्लाहअनुसार औषधि खानैपर्ने तर मौसमी रुघाखोकी लागेका बिरामीले घरमै आराम गरेर झोलिलो खानेकुरा खाँदा निको हुने डाक्टर शेरबहादुर पुनको भनाइ छ ।

मौसम परिवर्तनको समयमा सक्रिय हुने इन्फ्लुएन्जा नामक भाइरसका कारण रुघाखोकीका बिरामी बढेको अस्पतालले बतायो । रुघाखोकी, ज्वरो लगायतका समस्यालाई फ्लु भनिन्छ । फ्लु भएका बिरामीलाई सामान्यतया एक हप्तासम्म नागबाट सिँगान बग्ने, घाँटी–टाउको दुख्ने, ज्वरो आउने भएकाले सिटामोल खाएर न्यानो भएर बस्न र तातो झोलिलो कुरा खानुपर्छ ।

फ्लुले संक्रमण गरेपछि एक हप्तासम्म नछाड्ने भएकाले रुघाखोकी लागेका व्यक्तिको नजिक नजाने, भिडभाडमा नजाने, जानै परे मास्क लगाउने, सार्वजनिक ठाउँमा गएका बेला अनावश्यक ठाउँमा नछुने, साबुनपानीले सफासँग हात धुने गर्नाले पनि रुघाखोकीबाट जोगिन सकिन्छ ।